Comments Add Comment

कोरोना भाइरसबारे सामाजिक सञ्जालमा गलत सूचना धेरै

२३ फागुन, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिलेसम्म ९० मुलुकमा फैलिइसकेको छ । यसबाट संक्रमित हुनेको संख्या ९४ हजार कटिसकेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि स्वास्थ्य आपतकालको घोषणा गरेको सतर्कता अपनाउन जरुरी छ ।

तर भाइरसलाई लिएर इन्टरनेटको माध्यमबाट प्रशस्तै गलत सूचनाहरु पनि फैलिइरहेका छन् । जस्तोः–

भिटामिन डीले यो भाइरस रोक्न सकिन्छ ।

लसुन पानी उमालेर खानाले यो भाइरस निको हुन्छ ।

यो भाइरस क्यानडामा बनेको थियो, चिनियाँ गुप्तचरले यसलाई चोरेका थिए आदि ।

यसरी फैलिएको गलत सूचनामा प्रमाणित नभएको सुरक्षा विधि र पत्ता नलागेका सिद्धान्तहरु छन् ।

तर मानिसहरु धेरै भावनात्मक भएको अवस्थामा तथ्यलाई भन्दा यस्तै सूचनालाई आधार मान्ने गरेको सन् २०१८ मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले गरेको अध्ययनले देखाएको थियो । गलत समाचारले डर, भ्रम र अचम्ममा पार्ने र सही समाचारले केही आशा, दुःखी, खुसी र विश्वास दिलाउने काम गर्ने अध्ययनमा देखिएको थियो ।

गत महिना डब्ल्यूएचओले फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालसँग कोरानो भाइरसबारे फैलिएको गलत समाचार रोक्ने विषयमा छलफल गरेको थियो । यस विषयमा डब्लुएचओले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट सूचना प्रदान गर्दै आएको छ । पछिल्लो समय उसले यसलाई भिडियो बनाएर टिकटकमा पनि राखिएको छ ।

नोत्रे दाम युनिभर्सिटीका चिनियाँ साहित्य तथा संस्कृति पढाइरहेका प्राध्यापक मिचेल हक्स सामाजिक सञ्जाल एक छुट्टै संसार रहेको बताउँछन् । यहाँबाट जो कोहीले पनि हल्ला फैलाउन सक्ने भएकाले गलत सूचना छिटो प्रशारण हुने उनको भनाइ छ ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनयता पश्चिमा मुलुकहरुले सामाजिक सञ्जालमा फैलिने गलत समाचारलाई आफ्नो मुद्दा बनाउन थालेका छन् । र, सबैभन्दा बढी फेसबुकमाथि गलत समाचार प्रसारण गर्ने र राजनीतिक रुपमा पूर्वाग्रही सामग्रीलाई पनि स्थान दिने दिशामा अघि बढेको आरोप लाग्ने गरेको छ ।

अहिले कोराना भाइरसबारे धेरै भ्रामक प्रचार भयो । त्यसैले गलत दाबी र सिद्धान्तमा आधारित कन्टेन्ट हटाउने काम शुरु गरिसकेको फेसबुकले जनाएको छ । त्यसका लागि उसले विभिन्न ४६ भाषामा ५६ तथ्य परीक्षण गर्ने कम्पनीसँग काम गरिरहेको छ ।

फेसबुकले कोरोना भाइरसबारे सूचना प्रसारण गर्न डब्लुएचओ र अन्य स्वास्थ्य निकायलाई निःशुल्क विज्ञापनका दिने निर्णय पनि गरेको छ ।

फेसबुकले गलत समाचार रोक्न धेरै किसिमको योजना ल्याएको भएपनि ट्वीटर भने यो मामिलामा केही पछाडि देखिएको छ । ट्वीटरले आफ्नो प्लेटफर्ममा प्रयोगकर्ताले खोजी गर्दा मात्र विश्वसनीय विषयवस्तु देखाउने गरेको बताएको छ । र, आफ्ना प्रयोगकर्तालाई सही र गलत समाचार यकिन गरेर मात्र प्रसारण गर्न आग्रह गरेको छ ।

गत महिना चिनियाँ सामाजिक सञ्जाल टिकटकले पनि तथ्य परीक्षणको लागि अर्को संगठनसँग काम गरिरहेको बताएको थियो । चीनमा डब्लुएचओले पनि टेन्ससेन्ट र वेईपो जस्ता इन्टरनेट कम्पनीसँग काम गरिरहेको छ । तर चीनमा आफैं पनि सामाजिक सञ्जालका विषयवस्तु सरकारको साइबर नियामकको नियन्त्रणमा हुन्छन् ।

गत महिना मात्र चीनमा साइबर नियामकको कारबाहीमा धेरै सामाजिक सञ्जाल परेका थिए ।

साथै गत मंगलबार मात्र कोरोना भाइरससँग सम्बन्धित ८२७७ गलत सूचना रोकेको थियो ।

चीनमा सामाजिक सञ्जालहरुले पनि यस्ता हल्लाहरुको जाँचका लागि सरकारी स्रोतको प्रयोग गर्ने गरेका छन् ।

तै पनि सामाजिक सञ्जालमा गलत सूचना प्रवाह रोकिएको छैन । त्यसको एक उदाहरण हो, वुहान क्षेत्रको स्याटेलाइटको फोटो भन्दै प्रचार गरिएको पछिल्लो तस्वीर । उक्त तस्वीरमा अत्याधिक मात्रामा सल्फरडाइअक्साइड देखिएको छ यसबाट हजारौं भाइरस संक्रमित मानिस मारिएको अफवाह फैलिएको थियो ।

तर, उक्त फाटो स्याटेलाइटको फोटो थिएन । यो इतिहासको तथ्यांक र मौसमको आधारमा तयार पाइएको वायु गुणस्तरको अनुमान भएको खुलेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment