+
+
Shares

मिस वर्ल्डमा नेपाल तम्सिएकै हो कि गफ मात्रै ?

पर्यटनमा कोरोनाले पुर्‍याएको क्षती न्यूनीकरण गर्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २३ गते २०:१०

२३ फागुन, काठमाडौं । विश्वको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड नेपालमा आयोजना गर्ने चर्चा चल्न थालेको छ । नेपालमा मिस वर्ल्ड आयोजना गर्ने सम्भाव्यता बुझ्न आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ली नेपाल आएकी छन् । उनीसँगै छिन् सन् २०१९ कि मिस वर्ल्ड टोनी एन सिंह ।

मोर्लीको टिमले पर्यटन मन्त्री योगेश भट्टराईसित बिहीबार भेटघाट गरेको थियो । सो भेटघाटमा प्रारम्भिक छलफल भएको मन्त्रालयले जनाएको छ । तीन दिनको तालिकामा आएको मिस वर्ल्डको टोली शुक्रबार हेलम्बु र मकवानपुर पुगेको छ ।

हेलम्बुमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठको प्रोजेक्ट र मकवानपुरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडाको प्रोजेक्ट अवलोकनका लागि सो टोली पुगेको हो । यिनै प्रोजेक्टले श्रृंखला र अनुष्कालाई ब्यूटी विथ दि प्रपोजको अवार्ड दिलाएको थियो ।

विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रुपमा मिस वर्ल्डलाई लिने गरिन्छ । यसको पछिल्लो ६९ औं संस्करण बेलायतमा भएको थियो, जसमा नेपालकी अनुष्काले दुईवटा उपाधि जितेकी थिइन् । यसअघिको संस्करणमा नेपालकी श्रृंखला खतिवडाले निकै चर्चा पाएकी थिइन् र ब्यूटी विथ प्रपोज सहित उनले पनि दुई उपाधि जितेकी थिइन् । ब्यूटी विथ प्रपोजलाई मिस वर्ल्डपछिको सबैभन्दा महत्वपूर्ण टाइटल मानिन्छ ।

नेपालका दुई सुन्दरीहरुले लगातार दुई–दुई उपाधि जितेपछि मिस वर्ल्डका आयोजकको ध्यान नेपालतर्फ तानिएको हो । आगामी मिस वर्ल्ड नेपालमा आयोजना गर्न आयोजकले देखाएको चासोलाई पनि यसैको प्रतिफलका रुपमा बुझ्न सकिन्छ । तर, यो समारोह नेपालमा आयोजना गर्ने कुरा सहज भने छैन ।

स्मरणीय के छ भने मोर्लेले यसअघि ७० औं मिस वर्ल्ड थाइल्यान्डमा हुने भनेर गत वर्ष नै घोषणा गरिसकेकी छन् । यसअघि ६९ औं मिस वर्ल्ड थाइल्यान्डमा गर्ने भनिएको थियो । पछि लन्डन सारियो र ७० औं संस्करण थाइल्यान्डमा गर्ने भनियो । यद्यपि, मिस वर्ल्डको आधिकारिक वेवसाइटमा यसबारे कुनै जानकारी छैन ।

अर्को तथ्य के हो भने मिस वर्ल्डको टोली नेपालमा आउनुको मुख्य उद्देश्य यहाँ आयोजनाको सम्भाव्यता अध्ययन गर्नु होइन । मिस वर्ल्डमा ब्यूटी विथ पर्पस टाइटल जितेका दुई मिस नेपाल श्रृंखला खतिवडा र अनुष्का श्रेष्ठको प्रोजेक्टको अवलोकन र सहयाताको लागि सो टोली आएको मिस वर्ल्डको वेवसाइटमा उल्लेख छ । उनीहरुलाई नेपाल ल्याउने तारतम्य मिस नेपालको आयोजक हिडन ट्रेजरले मिलाएको हो ।

सोही संस्थाको पहलमा मिस वर्ल्डको टोलीसँग पर्यटनमन्त्रीको भेटघाटको मिलाइएको थियो । भेटघाटमा मिस वर्ल्डकी अध्यक्ष मोर्लेले नेपालमा प्रतियोगिता आयोजना गर्ने मौखिक इच्छा व्यक्त गरेकी थिइन् । तर, कुनै ठोस प्रस्ताव पेश गरेकी होइनन् ।

नेपालका तर्फबाट पर्यटन मन्त्री योगेश भट्टराईले पनि प्रतियोगिता आयोजना गर्न नेपालले सक्दो सहयोग गर्ने भनेर मौखिक आश्वासन दिएका हुन्, कुनै ठोस प्रस्ताव गरेका छैनन् । त्यसैले यो विषय अहिलेसम्म एकदमै काँचो छ ।

मिस वर्ल्डको ७० औं संस्करण यदि नेपालमा गर्ने हो भने चाँडोभन्दा चाँडो सरकारले आयोजकसँग सहमतिमा पुग्नु जरुरी हुन्छ । यसपाली नभ्याए सन् २०२१ को मिस वर्ल्ड नेपालमा आयोजना गर्ने गरी छलफल अगाडि बढाउन सकिन्छ ।

तर, सरकारलाई गत वर्ष आइफा अवार्ड आयोजना गर्न खोज्दाको नमिठो अनुभवले झस्काइरहेको छ । अगुल्टाले हानेको कुकुर विजुली चम्किँदा तर्सिन्छ भनेजस्तो आइफामा ठूलो आलोचना खेपेकाले सरकार मिस वर्ल्ड आयोजनामा अघि बढ्न हिच्किचाइरहेको छ । जब कि यी दुई प्रतियोगितामा आकाश–जमीन अन्तर छ ।

मिस वर्ल्ड भनेको एउटा विश्वव्यापी प्रतियोगिता हो भने आइफा बलिउडको फिल्मी अवार्ड । मिस वर्ल्डमा विश्वभरका सुन्दरीहरुले भाग लिने भएकाले यो प्रतियोगिताको चर्चा पनि विश्वव्यापी हुन्छ ।

के के छन् चुनौति ?

मिस वर्ल्डमा संसारभरका एक सयभन्दा बढी देशहरुको सहभागिता रहन्छ । अघिल्लो सस्करणमा १ सय ११ देशले भाग लिएका थिए । त्यसैले यो एउटा विशाल समारोह हो । यसलाई ‘सौन्दर्यको विश्वकप’ भन्दा पनि हुन्छ ।

प्रतियोगिताको फाइनल राउन्ड भन्दा अगाडिदेखि विभिन्न कार्यक्रम हुन्छ जसबाट अन्तिम चरणमा पुग्ने प्रतियोगीको छनोट गरिन्छ । त्यसैले करिब एक महिनासम्म विश्वभर आएको प्रतिनिधिमण्डललाई आयोजक देशले आतिथ्य दिनुपर्ने हुन्छ । यसका लागि उचित लजिस्टिक तथा सुरक्षा प्रबन्ध मिलाउनु आयोजकको जिम्मेवारी हो ।

सबैभन्दा पहिले त यति ठूलो प्रतियोगिता आयोजना गर्नका लागि ‘भेन्यु’ को अभाव छ । लन्डनमा १ लाख वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको भेन्यूमा प्रतियोगिता आयोजना भएको थियो । नेपालमा यस्तो भेन्यू नभएकाले अस्थायी संरचना बनाउनुपर्ने हुन्छ, जसका लागि समय र खर्च पर्याप्त लाग्छ ।

सहभागी सुन्दरीहरुलाई एक महिनासम्म नेपालमा राख्दा एउटै भवनभित्र कोचेर राख्ने पनि होइन । उनीहरुलाई विभिन्न स्थानमा पुर्‍याउनुपर्ने हुन्छ । उनीहरुलाई नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरुमा पुर्‍याउन सके मात्र नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउँछिन् पूर्व मिस नेपाल मलिना जोशी ।

‘जहाँ पनि मिस वर्ल्ड आयोजना हुँदा सहभागीहरुलाई ती देशका राम्रा कुराहरुको अवलोकन गराइन्छ । हामीले पनि आफ्नो देशमा भएका राम्रा चिजहरु देखाउनैपर्छ । त्यसका लागि राम्रो सडक र यातायातको सुविधा आवश्यक छ,’ उनले भनिन् ।

‘मिस वर्ल्ड आयोजना गर्नु धेरै राम्रो अवसर हो । तर नेपालका लागि निकै चुनौतिपूर्ण पनि छ । हामीसँग त अहिले विदेशी पर्यटकहरुलाई लागि न्यूनतम पूर्वाधारहरु पनि छैनन् । शौचालयकै अभाव छ । यति धेरै संख्यामा विदेशबाट भीआईपीहरु ल्याउने हो भने यस्तो विजोक तरिकाले त पक्कै हुँदैन ।’

यदि नेपालमा मिस वर्ल्ड आयोजना हुने भयो भने त्यो निकै खुशीको कुरा हुने उनी बताउँछिन् । त्यसले नेपाललाई विश्वसामु चिनाउन मद्दत गर्ने र पर्यटन क्षेत्र फस्टाउने उनको तर्क छ ।

मिस वर्ल्ड आफैंमा अत्यन्त महंगो समारोह हो । नेपालमा आयोजना गर्ने हो भने नेपालको सरकारले पनि यसको कुन–कुन खर्च व्यहोर्ने भन्ने कुरा आउँछ । यसका लागि आयोजकसँग नेगोसियसन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ । यो कार्यक्रमबाट नेपालले भविश्यमा कति लाभ लिन सक्छ भन्ने आँकलन गरेर त्यसको अनुपातमा सरकारले आफ्नो मुठ्ठी खोल्ने हो ।

सरकारले यो कार्यक्रम आयोजना गर्न चासो दिनुको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन नै हो । अहिले भिजिट नेपाल २०२० चलिरहेको छ । तर, कोरोना आतंकले गर्दा पर्यटन क्षेत्र धराशयी अवस्थामा छ । यसलाई पुनः जगाउने हो भने नेपाललाई विश्वकै ध्यान आकृष्ट हुने यस्तै ग्रान्ड कार्यक्रमको आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?