Comments Add Comment

वैदेशिक रोजगारीमा कोरोनाको असर, विदेश जाने ७५ प्रतिशतले घटे

२४ फागुन, काठमाडौं । कोरोना भाइरसले देशका विभिन्न क्षेत्रमा पारेको प्रभावमाथि अधिकांश दैनिक अखबारहरू केन्द्रित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे पनि पत्रपत्रिकाहरूले समाचार बनाएका छन् । साथमा शनिबारीय सामग्री त छँदैछन् ।

कोरोना त्रासले वैदेशिक रोजगारीमा परेको असरबारे नागरिकले सोधीखोजी गरेको छ । नागरिकका अनुसार, विदेश जानेको संख्या ७५ प्रतिशतले घटेको छ । कोरोना प्रकोपपूर्व दैनिक १ हजारको हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका थिए । तर अहिले यो संख्या ३ सयमा झरिसकेको नागरिक समाचारमा उल्लेख छ ।

नागरिक लेख्छ– नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो । ०७२ मा आएको भूकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन ।

गाँजाखेतीबारेको अर्को सामग्री पनि नागरिकमा पढ्न सकिन्छ । नागरिकका अनुसार, नेपालमा गाँजा फुकुवा गर्न लागूऔषन (नियन्त्रण) ऐन, २०३३ परिमार्जन गरेरमात्र पुग्दैन, नाकोर्टिक महासन्धिमा पनि आवेदन दिनुपर्छ ।

नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनामा जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ अस्वीकार गरेको खबर अन्नपूर्णले छापेको छ ।

सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई सहमति नदिने अडान राखेपछि हाजमाले बुधबार सडक विभागलाई पत्र पठाइ यस्तो जानकारी दिएको समाचारमा उल्लेख छ ।

कोरोनाले आन्तरिक उडानमा परेको प्रभावसँगै सामान नथुपार्न मन्त्रीले गरेको आग्रहसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा छापिएका छन् ।

‘संसदमा कोरोना बहस’ शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । पूर्वतयारीका लागि संसद्मा विशेष सार्वजनिक महत्त्वको प्रस्ताव पेस भएको नयाँ पत्रिका समाचारमा लेखिएको छ । सरकारले पनि विशेष तयारी गर्दैछ ।

कोइलाखानीका नेपाली मजदुरबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार दाङको घोराहीस्थित उत्तरी पहाडमा रहेका कोइलाखानीमा सयौं कामदार जोखिमपूर्ण काम गर्न विवश छन् ।

‘खानीको सुरुङभित्र बाटो हुँदैन । आफैं खन्दै हिँड्नुपर्छ । कतै भत्कन थाल्छ । काठ लिएर टेकासो लगाउनुपर्छ । ढुंगा र चट्टान काट्दै अघि बढ्नुपर्छ । भित्र अन्धकार भइरहने हुनाले रात परेको पनि थाहा हुँदैन । बिहान बाँचे फर्कुंला भन्दै भित्र पस्छौं । बेलुकी बाहिर निस्केपछि ठूलो युद्ध जितेजस्तो हुन्छ,’ कोइलाखानीमा जोखिमपूर्ण काम गर्न विवश एक मजदुरले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment