Comments Add Comment

सहारालाई हराउँदै पुलिस सेमिफाइनलमा

पोखरा । नेपाल पुलिस क्लब १८औं संस्करणको आहा ! रारा गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा पराजित गर्दै पुलिसले सेमिफाइनलमा स्थान बनाएको हो ।

पोखरा रङ्गशालामा भएको खेलमा पुलिसले अग्रता जोगाउन नसक्दा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा पुलिसका लागि भरत शाह, सौजन्यका राई, होम तामाङ र सुमिन सुवेदीले गोल गरे भने अनुप लिम्बुको प्रहार सहाराका किपर अर्पण कार्कीले जोगाए ।

सहाराका आशिस गुरुङ, अजय श्रेष्ठले गोल गर्दा सिमि उल्रिचको प्रहार पुलिसका किपर रोशन खड्काले बचाए । त्रिदेव गुरुङले पेनाल्टी मिस गरे, उनको सट बाहिरिएको थियो ।

यसअघि निर्धारित समयको खेलमा पुलिसका भरत शाहले ७४ औँ मिनेटमा गोल गरेका थिए । उनले डि बक्स भित्रबाट उत्कृष्ट लेफ्ट फुटेड भली गोल गरे । तर इन्जुरी टाइममा अजय श्रेष्ठले गोल गर्दै सहारालाई खेलमा फर्काए । कप्तान मानबहादुर तामाङले अन्जन राईको गल्तीको फाइदा उठाउँदै अजयलाई पास दिए, जुन गोलमा परिणत भयो ।

निर्धारित समयमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसमा सहाराले राम्रा मौका पाएपनि गोलमा परिणत गर्न सकेन ।सहाराका भारतीय खेलाडी स्टिभन समिरले तीन उत्कृष्ट मौका चुकाएका थिए ।

यस्तै पुलिसका कप्तान भोला सिलवाल दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

अब सेमिफाइनलमा पुलिसले थ्रीस्टार र गान्टोक सिटी एफसी, भारतबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment