Comments Add Comment

रामेछापको खाँडादेवीमा स्वास्थ्यकर्मीको अभाव

२५ फागुन, रामेछाप । खाँडादेवी गाउँपालिका–७ को स्वास्थ्य चौकी खाँडादेवीमा अहिले १ जना अहेव र २ जना करारका अनमीहरुले स्वास्थ्य सेवा प्रवाह गरी रहेका छन् ।

स्वास्थ्य चौकीमा एक जना हेल्थ असिस्टेन्ट, एक जना अहेव र दुई जना अनमीको दरवन्दी रिक्त रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश श्रेष्ठले बताए । आधा भन्दाबढी स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको स्थानीयले गुनासो गरेका छन् ।

गाउँपालिकाले स्वास्थ्य संस्थाहरुको भौतिक संरचनामा उल्लेख्य सुधार गरेको छ । सबै वडामा सुविधा सम्पन्न स्वास्थ्य संस्थाका भवनहरु बन्दै गएका छन् । तर स्वास्थ्यकर्मीको अभावले स्वास्थ्य सेवा प्रवाहमा भने समस्या देखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा कुल ८ वटा स्वास्थ्य चौकी, ४ वटा सामुदायिक स्वास्थ्य इकाई र एक आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् । गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभवाकारी बनाउन भौतिक पूर्वाधारमा सुधार, स्वास्थ्य संस्थाको व्यवस्थापन तथा उपकरण र औषधीमा लगानी गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ बताउँछन् ।

गाउँपालिका तथा वडा कार्यालयहरुले स्वास्थ्य चौकी खाँडादेवी, स्वास्थ्य चौकी राकाथुम लगायतका स्वास्थ्य संस्थालाई व्यवस्थपनको हिसावले नमूना बनाएका छन् । तर स्वास्थ्यकर्मी नहुँदा भने नागरिकले राम्रो स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

राकाथुमको अवस्था पनि त्यस्तै छ । सो स्वास्थ्य संस्थामा पनि हेल्थ एसिस्टेन्टको  दरवन्दी रिक्त छ । एक जना अहेव र दुई जना अनमीले स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गरिरहेका छन् । दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा निक्कै समस्या भएको तामाङले बताए ।

भौतिक पूर्वाधारका हिसाबले स्वास्थ्य संस्था सुविधा सम्पन्न बनाइए पनि कर्मचारी नहुँदा भने समस्या भएको खाँडादेवी–१ का वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठ बताउँछन् ।

स्वास्थ्य शाखाका प्रमुख श्रेष्ठका अनुसार १३ वटा स्वास्थ्य संस्थामा ४१ जना स्वास्थ्यकर्मीहरुको दरवन्दी रहेपनि हाल २४ जनाले सेवा प्रदान गरिरहेका छन् ।

श्रेष्ठका अनुसार ८ जना हेल्थ असिस्टेन्ट हुनु पनुपर्नेमा ५ जनाको दरवन्दी रिक्त छ । त्यस्तै १६ जना अहेवमा ३ जनाको दरवन्दी रिक्त रहेकाे उनले बताए । यस्तै १७ जना अनमीको दरवन्दीमा ९ वटा दरवन्दी रिक्त रहेको श्रेष्ठको भनाइ छ । अझै ३ जना अनमीहरु समायोजन भई अन्यत्र जान लागेको उनले बताए । समायोजन भएर कर्मचारी बाहिर जाँदा सेवा सञ्चालनमा कठिनाइ भएको श्रेष्ठको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment