Comments Add Comment

सुदूरपश्चिममा ठूला अपराध अनुसन्धानमा प्रहरी निरन्तर असफल

प्रहरीको प्रश्न : वीरेन्द्र शाहको हत्यारा पत्ता लागेको थाहा पाउनुभो ?

२६ फागुन, कैलाली ।

  • फागुन १४ गते मध्यरात कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ५२ वर्षीय जयराज भण्डारी र २२ बर्षीया धना विष्ट भण्डारीको विभत्स हत्याभयो । ७ महिनाकी छोरी ममता घाइते अवस्थामा फेला परिन् । यो घटना कसले र किन गरायो भन्नेबारे अहिलेसम्म प्रहरीले सुराकसमेत पाउन सकेको छैन ।
  • – माघ २१ गते अछामको पञ्चदेवलविनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या भयो । घटनाको एक महिना भइसक्दा पनि प्रहरी अपराधिसम्म पुग्न असफल बनिरहेको छ ।
  • – माघ १८ गते गोदावरी नगरपालिका, अत्तरियास्थित खाने पानी ट्याङ्की नजिकै २३ वर्षीया उर्मिला विष्ट अवस्थामा फेला परिन् । उनको मृत्यू पनि अहिलेसम्म रहस्यमै छ ।

यी तीन दृष्टान्त हुन् जसले पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा प्रहरीको कमजोर अनुसन्धान र कार्यसम्पादनलाई प्रतिबिम्बित गर्छन् । यीबाहेक वर्षौं पुराना घटना पनि छन्, जो अहिलेसम्म सुल्झन सकेका छैनन् । प्रहरीले हामी घटनाको अनुसन्धान गरिरहेका छौं भन्ने बनावटी जवाफमा नै पीडितले चित्त बुझाउनु परेको छ ।

निर्मला हत्याकाण्ड त सिंगो प्रहरी संगठनका लागि नै टाउको दुखाईको घटना बनिरहेको छ डेढ वर्षदेखि । गत वर्षको साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो । १३ बर्षिया बालिकाको हत्या र बलात्कार भएको १८ महिना बितिसक्दा पनि प्रहरीले अपराधि समात्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामै भएका ठुला आपराधिक घटनाको अनुसन्धानमा प्रहरी चुकेको छ । नयाँ आउने प्रहरी अधिकारीले घटनाबारे चासो नलिँदा मुद्दाको टुङ्गो लाग्नेमै आशङ्का छ स्थानीय जनतामा ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेल भने ठुला–साना सबै घटनाका दोषी पक्राउ पर्ने दाबी गर्छन् ।

‘पत्रकार वीरेन्द्र शाहका हत्यारा १२ वर्षपछि पक्राउ परे, तपाईंले थाहा पाउनु भयो होला,’ उनले सुनाए, ‘कञ्चनपुरमा भएका आपराधिक घटनामा संलग्नहरू पनि ढिलो–चाँडो सबै पक्राउ पर्छन् ।’

फागुन १४ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा भएको बिभत्स हत्याको अनुसन्धान उनले बताए । निर्मला हत्याको विषयमा पनि प्रहरीले अझै गहन अनुसन्धान जारी राखेको उनको भनाइ छ ।

‘निर्मलाको हत्यारा पत्ता लाग्ने थियो । सुरुमै केही समस्या भयो,’ उनले भने ‘प्रहरीलाई अनुसन्धानमा दबाबमा पारिन्छ । त्यसले पनि समस्या सृजना गर्छ ।’

२०७० साल मङ्सिर २६ गते कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैङ्कको शाखाबाट नेपाल राष्ट्र बैङ्क धनगढीमा जम्मा गर्न लगिएको २ करोड ३० लाख ६० हजार नेपाली रुपैयाँ र २ सय अमेरिकी डलर पूर्व–पश्चिम राजमार्गस्थित मालाखेती जङ्गलमा दिउँसै लुटियो । ६ वर्षमा दोषी पक्राउ गर्न प्रहरीले सकेको छैन । कञ्चनपुरका प्रहरी उपरीक्षक पौडेल भने त्यो घटनाको पनि सत्यतथ्य बाहिर आउने दाबी गर्छन् ।

‘विगतमा राम्रोसँग अनुसन्धान भएन भने घटना पत्ता लगाउन समस्या हुन्छ,’ उनले भने, ‘अहिले हामी पुराना र नयाँ सबै घटनाका दोषीलाई पक्राउ गर्ने अभियानमा छौँ ।’

कञ्चनपुरमा मात्रै होइन, कैलालीमा पनि वर्षांै पहिलेका घटनाहरू अझै रहस्यमा छन् । दोषी पक्राउ परेका छैनन् । २०७४ जेठ ७ गते राति धनगढी उपमहानगरपालिका–७, छात्रावास टोलका ७२ वर्षीय बद्रीप्रसाद जोशी र उनकी ६५ बर्षीया श्रीमती कुन्तादेवी जोशीको रहस्यमय हत्या भयो । घटनाकोे दुई वर्ष पुग्दा पनि रहस्य सुल्झिएको छैन । पक्राउ परेका ७ जनामध्ये ५ जना छुटे भने दुई जना ससुरा–बुहारी पुर्पक्षका लागि थुनामा छन् ।

धनगढीमै आठ वर्षअघि २०६९ साल मङ्सिर २५ गते हत्या गरिएका ओमप्रकाश पन्तका परिवारले पनि अझैसम्म न्याय पाउन सकेका छैनन् । हत्याको बारेमा प्रहरी प्रशासनले प्रभावकारी रूपमा अनुसन्धान प्रक्रिया अघि नबढाएको उनीहरूको पनि गुनासो छ ।

कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दक्ष बस्नेत पनि ढिलो–चाँडो अपराधी पक्राउ पर्ने बताउँछन् । उनी भन्छन्, ‘ढुक्क हुनुहोस् हामी अपराधी पक्राउ गर्नेछौं ।’

केही वर्षअघि अत्तरियास्थित खानेपानी ट्याङ्कीनजिक बझाङबाट आएका शिक्षक धर्म जोशीको हत्या, अत्तरिया गोदावरी पुलनजिक अज्ञात महिलाको बलात्कारपछि भएको बिभत्स हत्या लगायतका घटनामा पनि प्रहरीले अपराधीलाई कानुनको दायरामा ल्याउन सकेको छैन । लोक सेवा आयोगका तत्कालीन क्षेत्रीय प्रमुख नवराज चौलागाई बेपत्ता भएको वर्षौ‌ंसम्म उनको अवस्था अज्ञात छ ।

गत वर्ष फागुन २८ गते राति घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भयो । चौधरीको शरिरमा अझै गोली छ, तर आक्रमणकारीबारे प्रहरी बेखबर जस्तै छ । धनगढीस्थित क्याम्पस रोडमा डेरी व्यवसाय गर्ने दिपक खड्का परिवारसहित बेपत्ता भएको लामो समय बित्यो । खड्काको परिवारको अवस्था हालसम्म प्रहरीले थाहा पाउन सकेको छैन ।

प्रहरीले भावनामा बगेर अनुसन्धान नगर्ने प्रहरी प्रवक्ताबस्नेत बताउँछन् ।

‘घटना भएलगत्तै प्रहरीले दोषी पक्राउ गरेन भन्ने गरिन्छ, तर प्रहरीले भावनामा आएर होइन, तथ्य र प्रमाणमा टेकेर दोषी पक्राउ गर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment