
नायक अनमोल केसी र नायिका सुहाना थापा यतिबेला चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त छन् । चलचित्रको छायांकन काठमाण्डौ बाहिर धमाधम चलिरहेको छ । निर्माता संघले कोरोनाको कारण छायांकन रोक्न गरेको आग्रहलाई यो चलचित्रको टिमले वेवास्ता गरेको छ ।
चलचित्रको छायांकन सेटमा यसका कलाकार तथा प्राविधिकले होली खेलेका छन् । होलीको रंगमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा रंगिएको देख्न सकिन्छ ।
तराइका विभिन्न स्थानमा आज होली पर्व मनाइदैछ । निर्देशक झरना थापाले सामाजिक संजालमा स्टाटस लेख्दै होलीको सबैलाई शुभकामना दिएकी छिन् ।
आउँदो बर्षको दशैंलाई रिलिज मिति तय गरिएको यो चलचित्रले प्रेमकथालाई नै उठान गरेको छ । चलचित्र ‘ए मेरो हजुर ३’मा रुचाइएका अनमोल र सुहाना चौथो सिरिजलाई लिएर पनि उत्साहित छन् । सुनिलकुमार थापाको लगानीमा बनिरहेको चलचित्रमा दिर्घ खड्काको सम्पादन, संजय लामाको छायांकन, बसन्त सापकोटाको संगीत छ ।
प्रतिक्रिया 4