 
																			२८ फागुन, काठमाडौं । सोमबार दुबईमा २ जना नेपाली कामदारमा कोरोनाको संक्रमण पुष्टि भयो । मंगलबार नै कतारले नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा प्रवेशमा स्थायी प्रतिबन्ध घोषणा गर्यो ।
फागुन २५ गते दुबईलाई ट्रान्जिट बनाएर साउदी जान लागेका १२० यात्रुको उडान रोकियो । म्यानपावर व्यवसायीहरुका अनुसार साउदीले दुबई भएर जाने यात्रुलाई कडाइ गरेपछि त्यसको मार नेपाली कामदारलाई पनि परेको छ ।
फागुन १८ गते दुबईलाई ट्रान्जिट बनाएर गएका ३० नेपाली कामदारलाई बहराइनले एयरपोर्टबाटै फर्काइदियो । इरानबाट दुबई हुँदै आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कामदार दुबई, बहराइन र साउदी जान पाएका छैनन् ।
कोरियामा तत्काललाई कामदार नपठाउने निर्णय भने नेपाल सरकार आफैंले गर्यो । कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालले कामदार पठाउने तालिका मार्च महिनाभरिका लागि स्थगित गर्यो । त्यसमा कोरियाले पत्र पठाएर असन्तुष्टि जनाए पनि नेपालले निर्णय परिवर्तन गरेको छैन ।
कोरोनाको कारण श्रम गन्तब्यहरुमा विकसित यस्ता घटनाक्रमबाट वैदेशिक रोजगारीको क्षेत्र धरमराउन थालेको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे नेपाली कामदारहरु कोरोना संक्रमितसमेत हुन थाल्नुले निकै अप्ठेरो अवस्था आउने संकेत दिएको बताउँछन् ।
उनका अनुसार, कतिपय रोजगारदाता मुलुकले त नेपालको कमजोर मेडिकल स्क्रिनिङ अवस्था हेरेर नेपाली कामदार रोक्न थालेका छन् । यसबाट वैदेशिक रोजगारको क्षेत्रमा संकटको आभास भएको गैरे बताउँछन् ।
उकासिँदै गर्दा संकट
करिब १५ महिना बन्द भएको मलेसिया गत असोजमा खुलेपछि त्यहाँबाट कामदारको माग बढ्न थालेको थियो । अरु देशबाट पनि पछिल्ला दिनमा नेपाली कामदारको माग दर राम्रो बन्दै आएको थियो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नयाँ कामका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १७.७ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो वर्षको यही अवधिमा यो संख्या ३७.३ प्रतिशतले घटेको थियो । यो अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा यो संख्या ४.५ प्रतिशतले बढेको थियो ।
तर, यो वर्ष फागुन लागेसँगै वैदेशिक रोजगारीमा जानेको संख्या घट्न थाल्यो । अहिले अधिकांश रोजगारदाता देशहरुले आप्रवासी कामदार आपूर्तिमा कडाइ गर्न थालेका छन् ।
कतार बन्द हुँदाको असर
मंगलबारबाट श्रम स्वीकृति बन्द भएको कतारमा मासिक औसत १० हजार नेपाली कामदार पुगिरहेका थिए । कतारले प्रवेशमा रोक लगाउनुको सीधा अर्थ तत्काललाई प्रतिमहिना १० हजार नेपाली युवा स्वदेशमै निस्कृय रहनु हो ।
फागुन १६ देखि २६ गतेसम्म कतार जान तीन हजार ६०५ जनाले श्रम विभागबाट अन्तिम श्रम स्वीकृति लिएका थिए । तीमध्ये करिब तीन हजार जना कतार जान रोकिएको अनुमान छ ।
विभागले यो आर्थिक वर्षमा ३४ हजार १५० जना कामदारलाई कतार जान पूर्वश्रम स्वीकृति दिएको छ । यो विल्कुलै नयाँ कामको कोटा हो । पहिले कतार बसेर पुनः त्यही काममा फर्किनेसहित माघमा मात्रै १० हजार ७६४ जना कामदारलाई अन्तिम श्रम स्वीकति दिइएको थियो ।
महत्वपूर्ण श्रम गन्तब्य बन्द भएपछि नेपाली कामदारहरु स्वदेशमा बेरोजगार बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
विदेशमा बस्ने नै चिन्तामा
नेपाली कामदारको बर्चस्व रहेको मध्यपूर्वी एसियालाई विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उच्च जोखिम रहेको क्षेत्रमा सूचीकृत गरेको छ । त्यहाँ कार्यरत कामदारहरुले पनि असुरक्षित महसुस गर्दै काम गर्नु परेको छ ।
 वैैदेशिक रोजगार विज्ञ मधुविलास पण्डितका अनुसार विदेशमा समूहमा काम गर्नु, हिँड्डुल गर्नु र समूहमै सुत्नु कामदारहरुको बाध्यता हो । यस्तोमा कुनै एक जनालाई संक्रमण भए एकैपटक धेरै जना प्रभावित हुने अवस्था आउँछ ।
वैैदेशिक रोजगार विज्ञ मधुविलास पण्डितका अनुसार विदेशमा समूहमा काम गर्नु, हिँड्डुल गर्नु र समूहमै सुत्नु कामदारहरुको बाध्यता हो । यस्तोमा कुनै एक जनालाई संक्रमण भए एकैपटक धेरै जना प्रभावित हुने अवस्था आउँछ ।
अझ वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली युवा साक्षर मात्रै हुने भएकाले सचेतनाको अभावले समस्या बढाउने पण्डित बताउँछन् । ‘त्यसैले उनीहरुलाई सुरक्षित रहने उपायहरु सिकाउनु जरुरी छ’, उनी भन्छन्, ‘रोजगारदाताहरुलाई जिम्मेवार बनाउन सम्बन्धित सरकारलाई भन्न पनि अत्यावश्यक छ ।’
संघका अध्यक्ष गैरे जस्तो अवस्था आए पनि कामदारलाई तयार पार्नु जरुरी भएको बताउँछन् । ‘विश्व नै प्रभावित हुँदा हामी अछुतो रहने कुरा भएन, अब हामीले अरुमा चिन्ता गर्ने भन्दा पनि मलेसिया र खाडी देशमा कार्यरत नेपाली कामदारको स्वास्थ्य सुरक्षाको पक्ष सुधार्ने गरी काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘दूतावासहरु सक्रिय भएर नेपाली कामदारहरुलाई आफ्नो सरकार साथमा रहेको आभास दिलाउनुपर्छ ।’
दूतावासमा लापरबाही
दूतावासहरु सक्रिय हुनुपर्ने यो समयमा उनीहरुको शिथिलता प्रष्ट देखिन्छ । विज्ञहरु यो समयमा दूतावास बन्द गरेर बस्न नहुने बताउँछन् । यो साता शनिबार, आइतबार र सोमबार तीन दिन सार्वजनिक विदा भन्दै नेपालका सबै दूतावास बन्द थिए ।
नेपाली कामदारलाई आपतकालीन परामर्श गर्नुपर्ने समयमा विदा भन्दै दूतावासहरु बन्द गर्नुलाई विज्ञहरु जागिरे मानसिकता भन्छन् । मलेसिया र खाडीसहितका देशका नेपाली दूतावासहरुले कोरोना भाइरस संक्रमणबारे समान्य सूचना जारी गर्नेबाहेक कामदार र उनीहरुको परिवारलाई आश्वस्त पार्ने पहल गर्न सकेका छैनन् ।
दुबईमा कोरोना संक्रमित दुई नेपाली को हुन्, कहाँ उपचार भइरहेको छ भन्ने जानकारी नभएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल बताउँछन् । उता दुबई समेत हेर्ने यूएईस्थित नेपाली दूतावासले मंगलबार साँझसम्म एउटा विज्ञप्तिसम्म जारी गरेको छैन ।
श्रम गन्तव्य देशका नेपाली दूतावासहरुले कोरोनाबारे सचेत रहन भन्दै केही हप्ता अघि वेबसाइटमा सामान्य सूचना जारी गरेेका थिए । त्योबाहेक सावधानीका लागि अरु प्रभावकारी पहल गरेका छैनन् । ‘नेपाली दूतावासको फोन नै नउठ्ने गुनासो अहिले पनि उत्तिकै छ, अब यो पाराले हुँदैन,’ वैदेशिक रोजगारविज्ञ पण्डित भन्छन्, ‘स्थिति विश्लेषण गर्ने, कामदारलाई परामर्श दिने काम गर्नु पर्यो ।’
दूतावासहरुबाट सरकारलाई त्यहाँको अवस्थाबारे नियमित रिपोर्ट आउनुपर्ने र त्यसका आधारमा सरकारले यहाँ योजना बनाउने गरी प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
 संकटको लागि तयारी शून्य
संकटको लागि तयारी शून्य
भविष्यमा खाडी देशमा चीनमाजस्तै संकट आइलागे नेपाली कामदारको जीवन रक्षाका लागि त्यहाँको सरकारसँग तत्काल सहकार्य गर्नुपर्ने हुन्छ । त्यसका लागि अहिल्यैबाट कूटनीतिक पहल र वार्ता आवश्यक पर्छ ।
कोरियाले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर नेपाली कामदारको जीवनरक्षाका लागि आफू प्रतिवद्ध भएको बताएको छ । त्यसबाहेकका श्रम गन्तव्य मुलुकले यसरी आश्वस्त पारेका छैनन् ।
खाडी मुलुकहरु स्वास्थ्य सतर्कताका लागि स्रोत, दक्षता र प्रविधिका हिसाबले चीन, कोरिया र जापानजति बलिया छैनन् । त्यहाँ कार्यरत नेपालीमा कोरोना संक्रमण देखिए नेपाल जतिसुकै बेला गम्भीर समस्यामा पर्न सक्ने जोखिम रहेको विज्ञहरुको चिन्ता छ ।
चीनबाट १७५ जना विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राख्न सकस भोगेको नेपाल सरकारलाई खाडी मुलुकबाट कामदार ल्याउन र प्रक्रिया पूरा गर्न फलामको चिउरा चपाउनु सरह हुनेछ ।
अर्का वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ नेपाली कामदारको जीवनरक्षामा त्यहाँको सरकारभन्दा नेपाल सरकार बढी जिम्मेवार बन्नुपर्ने बताउँछन् । तर, सरकारसँग खाडी मुलुकमा कति नेपाली कार्यरत छन् भन्ने एकिन तथ्यांकसमेत छैन ।
‘सम्भावित भयावह अवस्थाका लागि सरकारले के-के गर्ने भनेर प्लान ए, बी, सी बनाउनुपर्छ,’ डा. गुरुङ भन्छन्, ‘त्यहाँका सरकारहरुले विदेशी नागरिकको स्वास्थ्य सुरक्षामा लापरबाही गरे भने नेपाल चुप लागेर बस्ने अवस्था आउनु हुँदैन ।’
सरकारले संकटको बेला आफ्ना नागरिकहरुको उद्धार गर्न नसके नेपालमा राजनीतिक संकट नै निम्तिन सक्ने जोखिम देख्छन् अर्का वैदेशिक रोजगार विज्ञ डा. जीवन बानियाँ । सिरिया संकटको बेला त्यहाँ रहेका १५ जना नेपाली ल्याउन समस्या परेको स्मरण गर्दै उनले भने, ‘वैदेशिक रोजगारले नेपालका हरेकजसो परिवारलाई छोएको छ, आफ्ना परिवारका सदस्य विदेशमा संकटमा फसेका बेला राज्यको भूमिका कमजोर देखियो भने नेपालमा नसोचिएको आन्दोलन उठ्न सक्छ ।’
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल उद्धारको विषय अहिलेसम्म भगवान भरोसामा सीमित रहेको स्वीकार्छन् । ‘त्यस्तो अवस्था नआओस् भनेर कामना गरौं’, उनी भन्छन्, ‘आइहाले उच्च सरकारी तहले निर्णय गर्ला, यसमा मेरो तहले केही कदम उठाउन सक्ने अवस्था छैन ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4