Comments Add Comment

कोरोनाले आईपीएल पनि अन्योलमा, अप्रिल १५ सम्म विदेशीलाई छैन भारतको भिसा

काठमाडौं । विश्वकै ग्लामरस, चर्चित र स्टार खेलाडीहरुले खेल्ने खेलकुद प्रतियोगिता हो इन्डियन प्रिमियर लिग,आईपीएल । सबै खेलाडीको चाहना कम्तीमा एक पटक भए पनि आईपीएल खेल्ने हुन्छ ।

यस पटक मार्च २९ बाट भारतमा आइपीएलको १३औं संस्करण हुने तय भएको छ । तर अहिले विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड १९) को मारमा आईपीएल पनि पर्ने देखिएको छ ।

यही कोरोनाकै कारण आईपीएल तोकिएको समयमा नहुने सम्भावना बढेको छ ।

त्यसमा पनि भारतीय सरकारले अप्रिल १५ सम्म विदेशीलाई भारत प्रवेशका लागि रोक लगाएपछि विदेशी खेलाडीहरु समेत उपलब्ध नहुने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई स्रोतका अनुसार सरकारको उक्त कदमपछि कुनै पनि विदेशी खेलाडी नआउने जनाएको छ । भारत सरकारले विशेष व्यक्तिहरु बाहेक अन्यलाई अप्रिल १५ सम्म भिसा नदिने जनाएको हो ।

यस्तै महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले पनि आईपीएल स्थगित गर्ने त्यसो नभएमा दर्शकलाई टिभीमा मात्रै सिमित गर्नुपर्ने बताउँदै आएका छन् ।

यस्तै महाराष्ट्र क्याबिनेट बैठकले दर्शकको उपस्थितिलाई रोक्न भन्दै मुम्बईको वाङखडे स्टेडियममा हुने खेलको टिकट नबेच्न निर्देशन दिएको छ ।

बुधबार मात्रै विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनालाई महामारिको रुपमा घोषणा गरेपछि यसको त्रास अझै बढेको छ । त्यसैले पनि यसपटकको आईपीएल पछि सर्ने लगभग निश्चित भएको हो ।

आईपीएलको भविष्य के हुने भन्ने निर्णय शनिबार बस्ने आईपीएल गोभर्निङ काउन्सिलको बैठकले तय गर्नेछ । यस सिजनको आईपीएल मार्च २९ बाट सुरु हुने भएको छ ।

बीसीसीआईले आईपीएल सार्ने वा क्लो डोर खेलाउने भन्नेबारे निर्णय गर्न बाँकी छ र सरकारको निर्देशन कुरेर बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment