+
+
Shares

जो आए पनि सेयर बजार प्रभावित हुनुपर्दैन : अर्थमन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १४:४८

२९ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्तिविशेषका कारण सेयर बजार प्रभावित हुन नहुने बताएका छन् ।

कम्पनीको वित्तीय अवस्था र सरकारको आर्थिक नीतिका आधारमा सेयर कारोबार हुनुपर्ने भन्दै उनले त्यसमा कोही व्यक्ति आउनु र जानुले सरोकार राख्न नहुने बताएका हुन् ।

प्रतिनिधिसभामा नेपाल धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने ‘कम्पनीको वित्तीय अवस्था र भावी वित्तीय अवस्था कस्तो हुन्छ भनेर सेयर खरिद गर्ने हो,सरकारले कस्तो नीति नियम बनाउँछ र तिनको कार्यान्वयन कस्तो हुन्छ भनेर कारोबार गर्ने हो, व्यक्तिविशेष जो आए पनि गए पनि सेयर बजार प्रभावित हुनुपर्दैन ।’

बिहीबार उक्त छलफलमा सांसदहरुले अर्थमन्त्रीको छायासँग पनि सेयर बजार डराइरहेको बताएका थिए । अर्थमन्त्री खतिवडाले भने सेयर बजारमा देखिएको पछिल्लो उथलपुथल कोरोना भाइरसका कारण भएको जिकिर गरे ।

‘विश्वव्यापी रुपमा कोरोना भाइरस आएका कारणले सेयर बजारमा उथलपुथल देखिएको छ । यो अल्पकालीन आधारलाई हेरेर हामीले दीर्घकालीन सोच बनाउनु हुँदैन’ उनले भने ।

सेयर बजार पुँजीपतिका लागि मात्र होइन

अर्थमन्त्री खतिवडाले सेयर कारोबार पुँजीपतिका लागि नभई सर्वसाधारणका लागि पनि भएको बताए । अर्थतन्त्रमा ठूलो जोखिम लिन नसक्नेहरुले सेयरमार्फत पुँजीनिर्माणमा सहभागी भइरहेको उनको भनाइ छ ।

‘जोखिम लिन नसक्ने ठूला उद्योग खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागी हुने माध्यम सेयर नै हो’ उनले भने ‘नेपालीहरु थोरै पुँजी भए पनि कुनै न कुनै सम्पत्तिको मालिक बनुन् ।’

सर्वसाधारणलाई पनि सेयर बजारमा सहभागी गर्न लघुवित्तको ऋण लिएर पनि सेयर किन्न सक्ने व्यवस्था गरेको खतिवडाले बताए ।

‘सामान्य भन्दा सामान्य व्यक्तिलाई पनि सेयर बजारमा सहभागीता होस् भनेर यो विधेयक ल्याएका हौं, लघुवित्तबाट ऋण लिएर पनि सेयर किन्न सक्ने व्यवस्था गरिएको छ’ उनले भने ‘सीमित वर्ग, पुँजीपतिहरुको मात्र पुँजी कारोबार गर्ने अवस्था हो भन्नुपर्छ जस्तो मलाइ लाग्दैन ।’

मन्त्री खतिवडाले धितोपत्र बजारलाई प्रतिस्पर्धी र पारदर्शी बनाउँदै लैजान धितोपत्रसम्बन्धी संशोधन विधेयक ल्याएको संसदमा जानकारी गराए ।

‘यो पुँजीपतिहरुको मात्र बजार होइन, सेयर किनबेच गर्ने नेपाली दाजुभाइ दिदी बहिनी १५/१६ लाख हुनुभएको छ । सानो सानो पुँजी पनि बैंकमा निक्षेप राख्ने कि सेयर किन्ने वा ब्यवसाय गर्ने कि भन्ने छनोटको आधार पाउनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?