Comments Add Comment

च्याम्पियन्स लिग र युरोपा लिगको खेल पनि स्थगित

३० फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगका खेल पनि स्थगित भएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफले शुक्रबार अर्को साता हुने च्याम्पियन्स लिगका खेल र युरोपा लिगका खेलहरु स्थगित गरेको हो ।

यसको अर्थ मार्च १७ र १८ मा तय भएको कुनै पनि खेल त्यस मितिमा हुने छैन । यस्तै च्याम्पियन्स लिग क्वार्टरफाइनलको ड्र पनि स्थगित भएको छ । यसअघि मार्च २० मा ड्र गर्ने कार्यक्रम थियो ।

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा म्यानचेष्टर सिटी र रियल मड्रिड, युभेन्ट्स र लियोन, बार्सिलोना र नापोली अनी वायर्न म्युनिख र चेल्सीबीच खेल स्थगित भएको हो ।

सिटी र रियल तथा युभेन्ट्स र लियोनबीचको खेल यसअघि नै स्थगित भइसकेको थियो ।

यसैगरी युरोपा लिग अन्तर्गत म्यानचेष्टर युनाइटेड र एलएएसके, वल्भ्स र ओलम्पियाकोस अनी रेन्जर्स र वायर लेभरकुजनबीचको खेल पनि स्थगित भएको छ ।

यस्तै मार्च १७ र १८ मा तय भएको युईएफए युथ लिगको सबै क्वार्टरफाइनल खेल पनि स्थगित गरिएको छ ।

युईएफले स्थगित गरिएको खेलको नयाँ मितिबारे पछि जानकारी गराउने जनाएको छ ।

फ्रेन्च लिग वान र लिग टु पनि स्थगित

यस्तै फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग वान र लिग टु पनि कोरोनाकै कारण स्थगित भएको छ । फ्रान्स फुटबल लिग एलएफपीको बोर्ड अफ डिरेक्टर्सको बैठकले सर्वसम्मत रुपमा लिग स्थगित गर्ने निर्णय गरेको हो । अर्को निर्णय नहुँदासम्म लिग रोकिने भएको हो ।

कोरोना भाइरसको संक्रमण रोक्न फ्रान्समा यसअघि नै बन्द रंगशालमा खेल खेलाउन थालिएको थियो । सरकारले सार्वजनिक स्थलमा एक हजार जना भन्दा उपस्थित नहुने भनेपछि फुटबल खेल बन्द रंगशालमा खेलाइएको थियो ।

युरोपका अन्य देशमा यसअघि नै लिगहरु स्थगित भइसकेका छन् । इटलीमा अप्रिल ३ सम्मको लागि सिरी ए स्थगित गरिएको छ भने स्पेनमा आगामी दुई साताको लागि लिग स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment