Comments Add Comment

प्रधानमन्त्री ओलीका तीन अप्ठ्यारा

मेडिकल साइन्सलाई पोलिटिकल साइन्सले चुनौती दिन सक्दैन

३० फागुन, काठमाडौं । प्रकृतिको विधान र मानिसले बनाउने विधान उस्तै हुँदैनन् । चिकित्साशास्त्र र राजनीतिशास्त्र भिन्नै विधा हुन् । नेताको आदेश डाक्टरले नमान्दा पनि जीवन-चक्र चल्छ, तर डाक्टरको आदेश नेताले मान्दिनँ भन्न सक्दैन । दुईतिहाई जनविश्वासप्राप्त शक्तिशाली प्रधानमन्त्री, राजा वा सम्राट नै किन नहुन्, डाक्टरले उठ् भन्दा उठ्नैपर्छ, सुत् भन्दा सुत्नैपर्छ । ‘मेडिकल साइन्स’ र ‘पोलिटिकल साइन्स’का वीचमा कुनै सेतु छैन, चिनियाँ पर्खाल छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले दुई दिनअघि अनलाइनखबरसँगको अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उधृत गर्दै यसो भनेका थिए, ‘हाम्रो प्रधानमन्त्रीज्यूले पार्टीको भेलामै भाषण गरेर भन्नुभयो- म अपरेशन गरेको ५ दिन अस्पताल बस्छु, ६ दिनदेखि काममा फर्किन्छु । अहिले उहाँको स्वास्थ्य अवस्था सन्तोषजनक छ र चाँडै काममा फर्किनुहुन्छ ।’

एक जना बिरामी कति दिन अस्पताल बस्ने, कहिले डिस्चार्ज हुने र उसले कहिलेदेखि सक्रियतापूर्वक काम गर्न थाल्ने भन्ने कुरो प्रधानमन्त्री वा स्वास्थ्यमन्त्रीले निक्र्यौल गर्ने राजनीतिक विषय होइन ।

राजनीतिज्ञले भनेजस्तै हुन्थ्यो भने १९ गते भर्ना भएका प्रधानमन्त्रीले २४ गते नै डिस्चार्ज भएर २५ गतेदेखि काम गर्न थालिसक्नुपर्ने हो । तर, प्रधानमन्त्रीले तोकेको समयसीमाले काम गरेन, गर्ने कुरा पनि होइन ।

शिक्षण अस्पतालमा भर्ना भएको ११ दिनपछि शुक्रबार साँझ डिस्चार्ज भएर बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीको तस्वीर हेर्दा अझै केही समय ‘पोलिटिकल साइन्स’माथि ‘मेडिकल साइन्स’ हाबी हुने देखिन्छ ।

दोस्रोचोटि मिर्गौला प्रत्यारोपण गरेर राम्रोसँग नतङ्ग्रिँदै बालुवाटार फिर्ता भएका प्रधानमन्त्री ओलीका सामु मुख्यतः ३ वटा अप्ठ्यारा देखिन्छन् :

१. ज्यान र जिम्मेवारीवीचको अन्तरविरोध

प्रधानमन्त्री ओलीका लागि अबको सबैभन्दा ठूलो चुनौती वा अप्ठ्यारो आफ्नै शरीर हो । एकातिर दुर्बल शारीरिक अवस्था, अर्कातिर देशकै कार्यकारी प्रमुखको जिम्मेवारीवीचको द्वन्द्व नै प्रधानमन्त्रीका लागि अबको सबैभन्दा ठूलो सकस हो ।

राजनीतिक जिम्मेवारीले प्रधानमन्त्रीलाई आजै रातिदेखि सक्रिय हुन भनिरहेको छ । तर, मेडिकल साइन्सले ठीक विपरीत भूमिकाको अपेक्षा गरेको छ ।

चिकित्सकहरुले अझै केही महिनासम्म ताउर-माउर गर्नु जोखिमपूर्ण हुने शर्तका साथ डिस्चार्ज दिएको देखिन्छ । तर, प्रधानमन्त्री ताउर-माउर गर्नैपर्ने ‘हट सिट’ मा छन् ।

बेडमा बस्नुपर्ने ज्यान, तातो कुर्सीमा बस्नुपर्ने जिम्मेवारी । अर्थात, ‘मेडिकल साइन्स’ भर्सेस ‘पोलिटिकल साइन्स’ । यो चरम अन्तरविरोधको अवस्था हो ।

निकटस्थहरुका अनुसार बालुवाटार आएपछि प्रधानमन्त्री ओलीले मेडिकल साइन्सबाट तोकिएका शर्तहरु उल्लंघन गर्ने खतरा बढ्ता छ । देशको प्रधानमन्त्रीका लागि यो टार्नै नसकिने बाध्यता पनि हो । प्रधानमन्त्री अस्पतालमा पर्याप्त समय नबसी चाँडै बालुवाटार फर्कनुको कारण पनि यही हुन सक्छ । चिकित्सकहरुलाई अहिले शंकाको सुविधा मात्रै दिन सकिन्छ ।

२. सरकारको अप्ठ्यारो

प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पार्ने अर्को जिम्मेवारी हो- सरकार । सरकारका काम धेरै दिनदेखि थाती छन् । ओछ्यानमा आराम गर्नुपर्ने बिरामीले सरकार चलाइरहनु देशमाथिको सफर त हो नै, बिरामीकै लागि पनि जोखिमपूर्ण विषय हो । अब कम्तिमा ३ महिना, बढीमा ६ महिना आराम गर्नुपर्ने बिरामीले सरकार चलाउनुपर्ने छ ।

प्रधानमन्त्रीले गर्ने हरेक निर्णयहरुमा अब मनमौजी भएमा विरोध गर्न सक्ने स्थिति पनि छैन । त्यसो गर्नेहरुमाथि बिरामीलाई गाली गरेर मानवीयतालाई ख्याल नगरेको आरोप लाग्न सक्छ । ओछ्यानमा रहेका प्रधानमन्त्रीबाट हस्ताक्षर गराइएका हर निर्णयहरु राष्ट्रको हितमै हुन्छन् भन्न पनि सकिँदैन ।

जस्तो- अस्पताल जाने बेलामै प्रधानमन्त्री ओलीले चीनबाट राजदूत लीलामणि पौडेललाई अकारण फिर्ता बोलाउने निर्णय गरे । अब बालुवाटारको बेडबाट यस्तै निर्णयहरु नआउलान् भन्न सकिँदैन, त्यो वामदेव गौतमको हकमा होस् या अरु कुनै ।

ओछ्यानबाट प्रधानमन्त्रीले ड्याङ-ड्याङ निर्णयहरु गर्दै जाने र अरुले सहानुभूति देखाइरहनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । यस्तो भयो भने घाटा देशलाई मात्र हुँदैन, स्वयं नेकपालाई हुन सक्छ । किनभने, नेकपा सरकारको तेस्रो वर्षको ‘इनिङ नै झूर’ देखिइसकेको छ ।

सरकारले दुई वर्ष पार गरेर तेस्रो वर्षमा प्रवेश गर्नासाथ गोकुल बास्कोटाको राजीनामा प्रकरण आयो । यहीबेला वामदेव काण्ड आयो । यहीबेला प्रधानमन्त्री अस्पताल भर्ना हुनुपर्ने अवस्था आयो । अनि यहीबेला कोरोनाको त्रासका कारण देशको अर्थतन्त्र चौपट हुने बाटोतर्फ हुत्तियो ।

तर, कम्तिमा अबको ६ महिना देशले कमजोर कार्यकारी प्रमुखमाथि भर गर्नुपर्ने अवस्था मुलुकमाथि आइलागेको छ । र, अब कार्यकारी प्रमुख प्रधानमन्त्री ओलीले यो अप्ठ्यारोबाट देशलाई कसरी त्राण देलान् ? गम्भीर प्रतिक्षाको विषय छ ।

३. पार्टीको अप्ठ्यारो

अबका दिनमा प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पार्ने अर्को पक्ष हो- आफ्नै पार्टी । ओली नेकपाका अध्यक्ष पनि हुन् । अब बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्ने र शुभकामना दिनेहरु नेकपा कार्यकर्ताहरुको भीड लाग्न सक्छ । अस्पताल भर्ना हुँदा निस्किएको जुलुसले नै त्यो देखाइसकेकै छ । उता, मेडिकल साइन्स भन्छ- ओलीलाई केही महिना आराम र एकप्रकारको ‘आइसोलेसन’ चाहिन्छ ।

भीडभाडको हिसाबले मात्र होइन, पार्टी एकताको मैझारो टार्नुपर्ने, सचिवालयको विवाद टुंगो लगाउनुपर्ने, वामदेव प्रकरण समन गर्नुपर्ने लगायतका राजनीतिक कामहरु गर्नुपर्ने बडेमानको जाँतो प्रधानमन्त्रीको ओछ्यानमाथि झुण्डिएको छ ।

सरकार र पार्टीको सघन जिम्मेवारी नभइदिएको भए, वा यी जिम्मेवारी अन्यत्रै निश्रित गरिएको भए पहिलो र दोस्रो नम्बरका चुनौतीहरुको सामना गर्न ओलीलाई सहज हुने थियो । तर, त्यस्तो अवस्था रहेन ।

के हो त अप्ठ्यारो फुकाउने उपाय ?

‘मेडिकल साइन्स’ र ‘पोलिटिकल साइन्स’जस्तै मिडियाका पनि आफ्नै सीमा छन् ।

प्रधानमन्त्रीले चिकित्सकको निगरानीमा रहेर ‘मेडिकल साइन्स’को माग अनुसार चल्नुपर्छसम्म भन्न सकिन्छ । तर, सरकार र पार्टीको कामबारे मिडियाले प्रधानमन्त्रीलाई यसै गर्नुहोस् भन्न मिल्दैन ।

जनादेशप्राप्त प्रधानमन्त्रीले राजीनामा दिनोस् र पूर्वएमाले समूहकै माधवकुमार नेपाल वा अरु कोही विश्वासिलो पात्रलाई प्रधानमन्त्री बनाएर सक्रियतापूर्वक सरकार चलाउन लगाउनोस्, अनि फुर्सदमा आराम गर्नुस् भनेर विपक्षी दलका नेताहरूले जस्तो पत्रकारले भन्दैन । त्यस्तै, पार्टीको जिम्मेवारी पनि केही महिनाका लागि कार्यकारी वा अरु कसैलाई सुम्पिई ज्यान र जिम्मेवारीवीचको अन्तरविरोध हल गर्नोस् भनेर पत्रकारले सत्तारुढ दलका अध्यक्षलाई अह्रन-खटन गर्न मिल्दैन ।

जे गर्ने हो, जे गर्नुपर्ने हो, राजनीतिशास्त्रले गर्ला । पार्टीले गर्ला ।

तर, एउटा पत्रकारले यतिचाहिँ ढुक्कसँग भन्न सक्छ/मिल्छ- ‘मेडिकल साइन्स’लाई ‘पोलिटिकल साइन्स’ले चुनौती दिन सक्दैन । सत्ता-शक्तिमा रहेको मान्छेले संविधान मिच्न सक्छ, तर प्रकृतिको विधानलाई हेप्न सक्दैन ।

अन्त्यमा, प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्यलाभको कामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment