Comments Add Comment

जनकपुरमा खकार लिन काठमाडौंबाट डाक्टर !

सिंहदरबारकै 'फोकल पर्सन' अल्मलिएपछि....

१ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिडारी ‘नोभल कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समिति’का फोकल पर्सन हुन् ।

सचिव बिडारी शनिबार बिहान स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई फोन गर्दा निकै आत्तिएका थिए । उच्चस्तरीय समितिको फोकल पर्सनको महत्वपूर्ण जिम्मेवारीमा रहेका सचिव बिडारीले महानिर्देशक श्रेष्ठलाई आत्तिँदै सोधे, ‘जनकपुरको अस्पतालबाट एकजना कोरोना संक्रमित भारतीय नागरिक भेटिएका र उनी इण्डियातिर भागेका हुन् ?’

प्रधानमन्त्री कार्यालयका सचिव मात्र होइन, बहालवाला मन्त्रीलाई पनि त्यस्तै खबर प्रवाह भएछ । तराईका जिल्लाको भ्रमणमा रहेका शिक्षामन्त्री गिरीराजमणि पोखरेलले पनि सचिव बिडारीले जस्तै महानिर्देशक श्रेष्ठलाई आत्तिँदै मधेसबाटै फोन गरेर सोधे, ‘डीजी सा’ब, जनकपुरमा कोरोना संक्रमित बिरामी भेटिएको र उनी इण्डियातिर भागेको हो ?’

मन्त्री पोखरेल र सचिव बिडारीका यस्ता जिज्ञासाले सरकारी अधिकारीहरु नै कसरी आत्तिइरहेको छ भन्ने स्पष्ट हुन्छ । कोरोनाबारे जनतालाई सूचना दिनुपर्ने प्रधानमन्त्री कार्यालयका फोकल पर्सन नै यसरी अल्मलिएपछि देशमा के भइरहेको छ भन्ने सूचना कसले जनतामा सम्प्रेषण गर्ने ?

यो प्रश्नतिर घोत्लिनुभन्दा पनि जनकपुरधाममा के भएको हो, त्यसको चाहिँ चर्चा गरौं ।

मधेस झरेका शिक्षामन्त्री पोखरेल र सिंहदरबारमै रहेका सचिव बिडारीले सुनेको ‘जनकपुरमा दुईजनामा कोरोनाको पोजेटिभ रिपोर्ट आएको छ’ भन्ने खबर सत्य नभएको स्रोतहरुबाट पुष्टि भएको छ ।

तर, अर्को खबर के प्राप्त भएको छ भने ज्वरो आएर अस्पतालमा लगिएका बिरामीको खकार जाँच्ने तालिमप्राप्त कर्मचारी नै बेपत्ता भएपछि काठमाडौंबाट स्वास्थ्य सेवा विभागका भाइरोलोजिस्ट डा. श्रवण मिश्रलाई शुक्रबार विमान चढाएर खकार लिन जनकपुर पठाइएको छ ।

घटनाबारे जानकारी दिँदै स्रोतले भन्यो, ‘जनकपुरमा भएको के हो भने इण्डियाबाट दुईजना ज्वरो आएका बिरामी (नेपाली नागरिक) लाई त्यहाँको हेल्थ डेस्कले समात्यो र उनीहरुलाई अस्पतालमा राखिएको छ । तर, उनीहरुको खकार लिनका लागि त्यहाँ मान्छे भएनन् । तालिम प्राप्त मान्छे कतै गएको रहेछ ।’

स्रोत अगाडि भन्छ, ‘दिल्लीबाट आएका शंकास्पद मान्छेलाई अस्पतालमा राखिएको छ । काठमाडौंबाट डा. श्रवण मिश्रलाई सामाग्रीहरुसहित पठाइएको छ । शनिबार उनले खकार ल्याउँदैछन् ।’

उता जनकपुरधामस्थित स्वास्थ्यकर्मीहरु चाहिँ ‘खकार वा स्वाब संकलन गर्ने तालिमप्राप्त कर्मचारी कतै गएको’ भन्दा पनि कीटको अभाव भएकाले काठमाडौंबाट कीट मगाउँदा ढीलो भएको बताउँछन् ।

आखिर जे होस्, हेल्थ डेस्कले समातेर अस्पतालमा पठाएका बिरामीको स्वाब संकलन बेलैमा गर्न नसकिएको र काठमाडौंबाटै  खकार लिन प्राविधिक पठाइएको चाहिँ सत्य भएको स्वास्थ्य सेवा विभागका अधिकारीहरुले पनि पुष्टि गरेका छन् ।

दुई नेपालीबारे भारतमा अफवाह

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यस्थित मधुवनी जिल्लामा कोरोनाका संक्रमित भएको आशंकमा केही दिनअघि दुईजना नेपाली युवकलाई अस्पताल पुर्‍याइयो । उनीहरुमा कोरोनाको पोजेटिभ लक्षण देखिएको भन्दै भारतीय सञ्चार माध्यममले लेखे ।

भारतको अहमदावादबाट नेपालतर्फ आउँदै गरेका दुबै युवकको जयनगरमा स्वास्थ्य जाँच गर्दा कोरोना भाइरसको जस्तै लक्षण देखापरेको भारतीय सञ्चार माध्यमले लेखेका थिए ।

हेर्नुहोस् पत्र

दुबैको स्वास्थ्य जाँच गर्दा कोरोनाको लक्षण देखिएको भन्दै दुबैलाई सदर अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएका दुबैको रगत जाँचका लागि पठाएर निगरानीमा राखिएको थियो ।

तर, उनीहरुमा कोरोना संक्रमण नदेखिएको भन्दै सिभिल सर्जन कार्यालय मधुवनीले अफवाह नफैलाउन आग्रह गरेको छ ।

यता, नेपालका सरकारी अधिकारीहरुले चाहिँ यसो भनेका छन्, ‘जनकपुरमा इण्डियाबाट दुईजना ज्वरो आएका बिरामीलाई जनकपुरको हेल्थ डेस्कले समात्यो । उनीहरुलाई अस्पतालमा राखिएको छ । र, उनीहरुको खकार लिनका लागि त्यहाँ मान्छे भएनन् ।’

सिडिओ भन्छन्- मलेसियाबाट आएका युवकलाई समात्यौं

जनकपुरमा भएको वास्तविकता के हो भनेर यथार्थ बुझ्न हामीले शनिबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई सोध्दा उनले अर्को ताजा घटना विवरण सुनाए ।

प्रजिअ कँडेलका अनुसार मलेसियामा कार्यरत एकजना नेपाली युवक जनकपुरधाम पुगेका थिए । उनी आफैं जानकी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गए । तर, त्यहाँबाट उनी एकाएक सम्पर्कविहीन भएपछि कोरोना संक्रमित व्यक्ति भागेको हल्ला फैलियो ।

स्थानीयमा त्रास बढ्दै गएपछि प्रहरी परिचालन गरेर ती युवकलाई पक्राउ गरी पुनः अस्पतालमा राखिएको प्रजिअ कँडेलले अनलाइनखबरलाई जानकारी दिए ।

सरकारले लडाइँ घोषणा गर्‍यो, तर कमाण्डर तोकेन

विश्वव्यापी चुनौती बनेको कोरोनासविरुद्ध लड्नका लागि नेपाल सरकारले मैदानमा उत्रिएको बताउँदै आएको छ । तर, सरकारले घोषणा गरेको कोरोनाविरुद्धको लडाइँमा कमाण्डर तोकिएको छैन ।

देशभरि भइरहेका घटना र सरकारले गरिरहेको कामबारे दैनिक सूचना कसले दिने ? यसबारे ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति मौन छ । समितले औपचारिक प्रवक्ता पनि अहिलेसम्म तोकेको छैन । र, दैनिक बुलेटिन पनि प्रकाशित गर्ने गरेको छैन ।

सदस्य सचिवको भूमिकामा रहेका मुख्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिवहरु मौन छन् । स्वास्थ्य सेवा विभाग वा मन्त्रालयका कर्मचारीहरु मिडियामा बोल्न वा सूचना दिन डराउँछन् ।

कोरोनाबारे भइरहेका कामको नियमित सूचना कसले दिने ? स्वास्थ्यमन्त्री ? सञ्चारमन्त्री ? मन्त्रालयका प्रवक्ता ? वा प्रधानमन्त्री कार्यालयका सचिवले ? सरकारले कसैलाई पनि कोरोना-युद्धको कमाण्डर तोकेको छैन ।

तीन दिनअघि उच्चस्तरीय समितिले डाकेको सर्वदलीय बैठकमा एकद्वारा प्रणालीबाट सूचना जानुपर्छ भन्दै नेताहरुले कर्मचारीलाई मिडियामा नबोल्न निर्देशन दिएको सूत्र बताउँछ ।

(भुलसुधार- यसअघिको समाचारमा डा. मिश्र हवाइजहाज चढेर जनकपुर गएकाे उल्लेख थियाे । तर, मिश्रले आफू विमानमा नभई गाडी चढेर जनकपुर गएको बताएकाले तदनुरुप सच्याइएको छ । डा.मिश्रले आफू टेक्निसियन नभएर भाइरोलोजिस्ट डाक्टर रहेको बताए । बिरामीको खकार संकलनमा प्रयोग गरिने भाइरल ट्रान्सपोर्ट मिडियम जनकपुरको हेल्थ डेक्समा नभएकाले काठमाडौंबाट आफू सो सामग्री लिएर खकार संकलनका लागि जनकपुर गएको मिश्रले स्पष्ट पारे-सं ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment