Comments Add Comment

अब काठमाडौंका चार सरकारी अस्पतालमा १५५ वटा आइसोलेसन बेड राखिने

२ चैत, काठमाडौं । सरकारले काठमाडौंका चारवटा सरकारी अस्पतालमा कोरोनाका शंकास्पद बिरामीहरुका लागि आइसोलेसन बेडहरु राख्ने नीति लिएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौंका निजी अस्पतालहरुले समेत आइसोलेसन बेड छुट्याउनुपर्ने निर्णय गरेको थियो ।

त्यस्ता आइसोलेसन बेडहरु ग्राण्डी, ह्याम्स, मेडिसिटी जस्ता नाम चलेका निजी अस्पतालहरुले पनि छुट्याउनुपर्ने सरकारको निर्देशन थियो । तर, अब सरकारले काठमाडौंका चारवटा सरकारी अस्पतालहरुमा त्यस्ता आइसोलेसन बेडहरु राख्ने नयाँ नीति लिएको हो ।

अब काठमाडौंमा रहने आइसोलेसन बेडहरु टेकु अस्पताल, पाटन अस्पताल, कीर्तिपुर आयुर्वेदिक अस्पताल र वीर अस्पतालमा मात्र राख्ने निर्णय गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘काठमाडौंमा सुरुमा हामीले सबै अस्पतालमा १५५ वटा बेडहरु भनेका थियौं, अब हामीले त्यो रणनीति परिवर्तन गरेका छौं’ महानिर्देशक श्रेष्ठ भन्छन्, ‘अब हामी चारवटा अस्पतालहरुलाई तोक्छौं । एक नम्बरमा टेकुलाई तोक्यौं । दुई नम्बरमा हामीले सम्भवतः पाटनलाई तोक्छौं होला । तीन नम्बरमा कीर्तिपुर आयुर्वेदिक अस्पताललाई तोक्छौं । चार नम्बरमा आएर वीर अस्पतालको नयाँ भवनलाई तोक्दैछौं ।’

ह्याम्स, ग्राण्डी लगायतका अस्पतालहरुमा आइसोलेसन बेडहरु नराख्ने निर्णय सरकारले गरिसकेको महानिर्देशक श्रेष्ठ बताउँछन् । ‘एउटा बिरामी ह्याम्समा, एउटा बिरामी ग्राण्डीमा र एउटा बिरामी टिचिङ अस्पतालमा छ भन्नासाथ मान्छेलाई त्रास हुँदोरहेछ । अर्को कुरा, त्यहाँ सार्ने पनि सम्भावना हुन्छ । त्यहाँ राम्रो केयरिङ नहुने भो’ महानिर्देशक श्रेष्ठ भन्छन्, ‘संसारभरि यही छ भनेर हाम्रा डब्ल्युएचओका सल्लाहकारहरुले पनि भनेको हुँदा हामीले चार स्थानमा तोक्दैछौं र यसबारे नेपाल सरकारले निर्णय गरिसक्या छ ।’

यो पनि पढ्नुहोस कोरोनामा स्वास्थ्य मन्त्रालयको काम : ‘थ्यौरी’मा ठीकै छ

हरेक प्रदेशमा कम्तिमा एक–एकवटा र कसैले पाँचवटासम्म आइसोलेसन बेडहरुको व्यवस्था गरेको तर त्यसलाई अझ व्यवस्थित गर्न बाँकी रहेको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘तीचाहिँ सुविधा सम्पन्न छन् म भन्दिनँ । यसलाई व्यवस्थित गर्नुपर्ने छ । तर, बेड उनीहरुले (प्रदेशले) छुट्याएका छन् ।’

हाल वीर अस्पतालको पछाडि जापानले बनाइदिएको नयाँ बिल्डिङमा डाइलाइसिस चलिराखेको र दुईवटा फ्ल्याटहरु खाली रहेको भन्दै महानिर्देशक श्रेष्ठले भोलि कोरोना बिरामीहरु धेरै भएमा डाइलाइसिसलाई पुरानो बिल्डिङमा सारेर नयाँ भवनलाई कोरोना हस्पिटल बनाइदिने सरकारको योजना रहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment