Comments Add Comment

घरेलु मदिराले तोडियो पाँच दशक पुरानो प्रेम !

७२ वर्षीय वृद्ध हिरासतमा

२ चैत, विराटनगर । विराटनगर महानगरपालिका – १२ का ७२ वर्षीय परण ऋषिदेवलाई मदिरा सेवन गर्नु दैनिकी जस्तै थियो ।

जीवनको उतरार्धमा मजदुरी गरेर गुजारा चले कै थियो । तर फागुन २६ गतेयता उनी श्रीमती हत्या आरोपमा प्रहरी हिरासतमा छन् । मदिरा कै कारण भएको विवादमा ७० वर्षीया श्रीमती सगुत्रीको कुटपिटपछि हत्या गरेको आरोप परणमाथि छ ।

करिब पाँच दशकअघि विवाह गरेका परण र सगुत्रीबीच परिवारमा सामान्य झगडा चलिरहन्थ्यो । मुसहरी टोलको अति बिपन्न परिवारका परण र सगुत्रीबीच झगडा हुनु सामान्य जस्तै थियो । सगुत्री अशक्त थिइन् । विवाद भइरहने भएपनि उनको हेरचाह मजदुरी गरेर परणले गरे कै थिए ।

पाँच सन्तान मध्ये  दुई छोरीले विवाह गरिसकेका छन् । विवाहपछि छुट्टिएका तीन छोराहरुको घरपनि सँगै छ ।

प्यारालाइसिसका कारण तीन वर्षयता घरमै थलिएकी सगुत्रीपनि मापसेकर्ता हुन् । तर होलीमा उनले मदिरा सेवन गर्न पाइनन् । तर, परण मदिराले लट्ठ थिए । चाड पर्वमा सगुत्रीले मदिरा मागेपनि उनले ल्याएनन् । मदिरा नपाएपछि दुई जनाबीच सामान्य भनाभन भयो ।  आगनमा रहेको दाउराले परणले सगुत्रीमाथि प्रहार गरे ।

दाउराले प्रहार गर्दा सगुत्री आगनमा लडिन् । श्रीमती लडेपछि परण बाहिर निस्किए । घरका सदस्य काममा गएका थिए । श्रीमानले दाउरा प्रहार गर्दा लडेकी सगुत्री उठिनन् । बेलुका मात्र उनको मृत्यु भएको खबर प्रहरीमा पुग्यो । बेलुका पुगेको प्रहरीले परणलाई मदिराको नसामै रहेको अवस्थामा पक्रउ गरेको थियो ।

आमाको हत्या आरोपमा बुबा पक्राउ परेपछि ४८ वर्षीय जेठो छोरा शुक्रले आमाको काम गरिरहेका छन् । उनी ठेला कुदाएर गुजारा चलाउँछन् । उनका भाइ कृष्ण र लखन मानसिक रोगी छन् ।

आमाको काम गरिरहेका उनी बुबा पनि हिरासतमा बसेपछि गाह्रो भएको बताउँछन् । ठेला कुदाएर गुजारा गरिरहेका उनले काममा जान नपाएका कारण गुजारा गर्न गाह्रो भएको बताए ।

‘पहिले पनि बुबा आमाले मदिरा खानुहुन्थो,’ उनले भने, ‘ आज यस्तो भयो ।’

आमाको मृत्युबारे जेठी छोरी सुकुनीले दुई दिनपछि मात्र जानकारी पाएकी थिइन् ।

सुनसरीको बर्जु गाउँपालिका–१ घरबाट माइत आएकी उनले हिरासतमा रहेका बुबालाई भेटिन् । बुबाले आफूले मदिराका कारण होस गुमाएको भन्दै छोरीसँग माफी मागे । घर झगडा सामान्य थियो । तर आफ्नो उदेश्य गलत नभएको बताउँदै बुबा रोएको सकुनीले बताइन् ।

अति विपन्न समुदायको ऋषिदेव परिवारले मदिराले निम्त्याको विपतीको सामना गरिरहेको छ । आमाको मृत्यु संस्कारमा बसेका शुक्रलाई खर्चको पनि अभाव छ ।

प्रहरी हिरासतमा रहेका परणमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङमा डीएसपी मानबहादुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment