Comments Add Comment

८७ वर्षे डाक्टरको अनुभव : पहिलो अप्रेसन सफल भएन

३ चैत, काठमाडौं । आधाभन्दा धेरै कपाल झरेर चिल्लो बनेको टाउकोले धेरै संघर्षको कथा बोलिरहेको छ । शरीरका सबै अंगले बुढ्यौलीको संकेत दिइरहेका छन् । कहिले राजनीतिको घृणित भुंग्रोमा जबर्जस्ती जल्दै त कहिले प्राणघातक रोगहरुसँग लड्दै बितेको साढे आठ दशकको जीवन चलचित्रको कथाजस्तो छ ।
आफैंले सिकाएका धेरै विद्यार्थीले कामबाट अवकास लिइसके । खुट्टाले पनि पहिलेजस्तो भर दिन छाडेको छ । र पनि एउटा संघर्षको यात्रा रोकिएको छैन । विश्रामको प्रसंग निकाल्नेबित्तिकै दृढ स्वरमा उनी भन्छन्, ‘उमेरको कुरालाई तपसीलमा राख्दिनुस्, पाँचवटै इन्द्रियले काम गर्न नछाडुञ्जेल म रोकिनेवाला छैन ।’
पहिलोपटक अस्पतालको भ्रमण बाल बिरामीको रूपमा भएको थियो, वरिष्ठ चिकित्सक डा. दिनेशनाथ गोंगलको । बिरामी बनेर वीर अस्पताल पुगेकै बेला उनको बाल मस्तिष्कमा चिकित्सक बन्ने रहर अंकुराएको थियो । त्यसको २० वर्षपछि उनी चिकित्सक बनेरै छाडे । त्यसपछिको जीवनमा उनले अनगिन्ती चिरफार गरे, कतिपटक आफ्नै चिरफार गराए ।

कहिले राजनीतिको घृणित भुंग्रोमा जबर्जस्ती जल्दै त कहिले प्राणघातक रोगहरुसँग लड्दै बितेका उनका साढे आठ दशकको जीवन चलचित्रको कथाजस्तो छ

पाँच वर्षको उमेरमा टेकेका थिए । एक्कासि घाँटी दुखेर सास फेर्न गाह्रो भयो । हत्तनपत्त उनलाई वीर अस्पताल पुर्याइयो । चिकित्सकले डिफ्टेरिया भएको सुनाए अनि कम्पाउण्डरले सुई लगाएर निको पारिदिए ।

त्यसपछि कहिले को, कहिले को बिरामी भएर गोगल वीर अस्पताल पुगिरहे । पछि उनको जीवनको सबैभन्दा धेरै समय त्यही संस्थामा काम गरेर बित्यो ।

राणा शासनदेखि गणतन्त्रसम्मको अनुभव सँगालेका डा. गोगल धेरैपटक राजनीतिक चेपुवामा परे । प्रतिकूलतालाई पनि यथासम्भव अनुकूलतामा बदल्दै बिरामीको सेवा गरिरहेका उनलाई ०५५ को दशैंताका रोगले पनि आक्रमण गर्‍यो ।

उनी साँझको नियमित व्यायामको क्रममा आफ्नै कम्पाउण्डमा हिँडिरहेका थिए, अचानक गर्धन थिचिएजस्तो अनुभव भयो । पूरा शरीर दुख्यो, भाउन्न भएर आयो । फ्लूको मौसम भएकाले केहीबेर आराम गर्ने विचार गरे ।

तर, धेरैबेरमा पनि दुखाइ नरोकिएपछि उही सिटिस्क्यान गरेर हेर्दा दिमागमा रक्तश्राव भइरहेको रहेछ । ‘त्यतिबेला वीरमा उपेन्द्र देवकोटाले न्युरोको अप्रेसन गर्न त सक्नुहुन्थ्यो, तर प्रविधि (उपकरण) थिएन,’ डा. गोंगल सम्झन्छन्, ‘अनि म उपचारको लागि बेलायत गएँ ।’

त्यसपछि ०५९ मा उनलाई पेटको क्यान्सर भयो । त्यसको १४ वर्षपछि ०७३ मा दोस्रोपटक हृदयघात भयो । ‘अहिले ती सबै समस्या निर्मूल भइसकेका छन्, कुनै रोगको औषधि खानु परेको छैन,’ डा. गोंगल भन्छन् ‘बिरामीहरूको सेवा गर्न पूर्ण रूपमा सक्षम छु ।’

वीरबाट निष्कासन

करिब ४० वर्ष बिताएको वीर अस्पतालप्रति आफूमा गहिरो मोह रहेको सुनाउँछन्, डा. गोंगल । तर अब सम्भवतः कहिल्यै पनि उनका पाइलाहरू वीर अस्पतालतिर लाग्ने छैनन् । १३ वर्षअगाडिको एउटा घट्नाले यो मायालु संस्थाबाट टाढा रहन उनलाई बाध्य बनाइदिएको छ ।

उनी फोहोरी राजनीतिको शिकार बने । ०६३ मा उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निर्देशक थिए । दलनिकट कर्मचारीहरू विभिन्न माग राखेर आन्दोलन गरिरहेका थिए । संस्थाको हितविरुद्ध कुनै माग पूरा गर्ने पक्षमा थिएनन्, उनी । आन्दोलनकारीले साउनको सुरुमै निर्देशकलाई कार्यालय पस्न नदिने निर्णय गरे । कर्मचारीहरू ढोकामा ताला लगाएर धर्नामा बसेको सूचना पाएपछि डा. गोंगल कार्यालय गएनन् ।

भोलिपल्ट स्वास्थ्य मन्त्रालयबाट फोन आयो, राजीनामा दिनुभए अस्पताको समस्या सल्टिन्छ । उनलाई लाग्यो– दिनरात नभनी जीवन अर्पण गरेको संस्थामै निषेधित भएँ । ‘मलाई साह्रै चित्त दुख्यो,’ उनी भन्छन्, ‘अनि अब कहिल्यै वीर अस्पताल नजाने निर्णय गरेँ ।’

पहिलो गाँसमै ढुंगा

न्युरो सर्जन गोंगलसँग टाउको, आँखा, छाती, मुटु, पेटलगायत अंग अप्रेसन गरेको अनुभव छ । उनले पहिलो अप्रेसन सन् १९६१ मा गरेका थिए ।

मुम्बईमा तीन वर्ष सर्जरी पढेर फर्केका उनले सडक दुर्घटनामा घाइते भएकी महिलाको पहिलो अप्रेसन गरेको सुनाए । त्यतिबेला अहिलेजस्तो प्रविधि थिएन, अवस्था हेरेर काम गर्नुपथ्र्यो । ‘मैले ती महिलालाई बचाउन सकिनँ,’ डा. गोंगल भन्छन्, ‘त्यसपछिका अप्रेसनहरूले भने मलाई पहिलो असफलतामा चित्त बुझाउन सक्ने बनायो ।’

उनी आफूलाई डाँडाको घामसँग तुलना गर्छन् । त्यो घाम डाँडापारि अस्ताउँदो छ, तर उनले सपना देख्न छाडेका छैनन्

उनले मुटुको अप्रेसनमा पनि पहिलो बिरामी बचाउन सकेनन् । उनलाई ती बिरामीको नाम अझै याद छ– गोमा । सन् १९६५ को कुनै महिना परिवारले वीर अस्पताल ल्याएका गोमा निकै सिकिस्त थिइन् । अप्रेसनबाहेक चिकित्सकसँग अरू उपाय थिएन । ‘बिरामीको परिवारले धेरै आस गरेका थिएनन्,’ डा. गोंगल भन्छन्, ‘मैले पनि उनलाई बचाउन सकिनँ । अहिलेजस्तो प्रविधि भएको भए मलाई त्यो पश्चाताप हुने थिएन ।’

अहिले बेलैमा अस्पताल आउने कुनै पनि बिरामी अप्रेसन गर्दा नमर्ने उनी बताउँछन् । पहिले त हाइड्रोसिल भएका बिरामीलाई समेत बचाउन मुस्किल पर्ने गरेको उनको अनुभव छ ।

डा. गोंगलले एउटा घट्ना सुनाए– ३५ वर्षका एक युवक परिवारका एक्ला छोरा थिए । उनको हाइड्रोसिलको अप्रेसन सफल भयो । अप्रेसन थिएटरबाट निस्किएर डाक्टरले बधाई दिँदा बिरामीको आमा खुसीले पुलकित भइन् । ‘तर बिडम्बना संक्रमणबाट पछि ती युवक बिते,’ डा. गोंगल भन्छन्, ‘उपयुक्त प्रविधिको अभावमा त्यस्तो दुःखदायी अवस्था आइलाग्थ्यो ।’

समृद्विको सपना
हिन्दू वर्णाश्रममा पढाउने बाहुन, युद्ध गर्ने क्षेत्री, व्यवसाय गर्ने वैश्य र सेवा गर्ने शूद्र हुन्छ । डा. गोंगल एकै दिनमा यी चारै वर्णको काम गर्छन् । उनी मेडिकल शिक्षाका विद्यार्थीलाई पढाउँदा ब्राह्मण, बिरामी वार्डमा जाँदा रोगविरुद्ध लड्ने क्षेत्री, यसरी जीविकोपार्जन गर्ने वैश्य र अरूको सेवा गर्ने शूद्र बन्छन् ।

‘सधैं यी चार वर्ण हुन पाइने भएकाले यो पेसालाई सर्वाेत्कृष्ट मान्ने गरेको छु,’ युवाझैं सक्रिय वयोवृद्व डा. गोंगल भन्छन्, ‘यसमा म पूर्ण सन्तुष्ट छु, यही मेरो जीवनको ठूलो कमाइ हो ।’

उनी आफूलाई डाँडाको घामसँग तुलना गर्छन् । त्यो घाम डाँडापारि अस्ताउँदो छ, तर उनले सपना देख्न छाडेका छैनन् । ‘मेरो व्यक्तिगत सपनाको कुरा होइन,’ डा. गोंगल भन्छन्, ‘यो जीवनकालमै नेपाल समृद्ध भएको देख्न पाए हुन्थ्यो भन्ने हो ।’

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment