Comments Add Comment

बेपत्ता २५०६ को सूची सार्वजनिक, रुकुम–रोल्पाभन्दा बर्दियामा धेरै

सूचना दिएर सघाउन बेपत्ता आयोगको आग्रह

४ चैत, काठमाडौं । द्वन्द्वकालीन मुद्दा निमटारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ । बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि आयोगले सबैमा अनुरोध गरेको छ ।

सशस्त्र संघर्षमा बिराम लागेको १३ वर्षपछि सरकारद्वारा गठित आयोगले पहिलोपटक बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक गरेको हो ।

बेपत्ताको उजुरी कति ?

बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएका उजुरीका आधारमा नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ । आयोगको अघिल्लो नेतृत्वले नै बेपत्ता पारिएका व्यक्तिबारे उजुरी आह्वान गरेको थियो ।

आयोगका अनुसार, राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको छ । यीमध्ये बर्दियाबाट सबैभन्दा धेरै २ सय ५४ जनाले आफन्तको खोजखबर गरिदिन माग गर्दै आयोगमा निवेदन दिएका छन् । सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रोल्पा र रुकुमपछिको प्रभावित जिल्ला बर्दियालाई मानिन्छ ।

रोल्पाबाट बेपत्ता पारिएका ९७ जनाबारे खोजी गरिदिन निवेदन परेको आयोगले जनाएको । द्वन्द्वको उद्गमस्थल रुकुमबाट भने ४५ जना मात्रै बेपत्ता भएको भन्दै उजुरी परेको छ ।

बर्दियापछि दाङबाट सबैभन्दा धेरै उजुरी परेको छ । आयोगका अनुसार, दाङबाट १ सय २८ बेपत्ताको सूचीमा छन् । त्यस्तै, कञ्चनपुरबाट ७७, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट समान ४०/४० जना बेपत्ता भएको उजुरी परेको छ । काठमाडौंबाट ३२ र कालीकोटबाट २४ जना बेपत्ताको सूचीमा छन् ।

बेपत्ता भएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने उसले गोप्य राखेको जनाएको छ । बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन आग्रह गरिएको आयोगका सूचना अधिकारी निरञ्जन घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।  त्यसका लागि आयोगको टोल फ्री नम्बर १६६०–०१–२२१११ मा सम्पर्क गरेर या सीधैं पुल्चोकस्थित कर्मचारी सञ्चयकोषको भवनमा रहेको कार्यालयमा गएर सूचना दिने व्यवस्था आयोगले मिलाएको छ । आयोगका सूचना अधिकारी घिमिरेका अनुसार, प्रमाण उपलब्ध गराउने समय तोकिएको छैन । आफ्नो अनुकूल समयमा त्यस्ता प्रमाणहरू पठाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment