
५ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को ७ महिनामा मल्यवृद्धि करिब ७ प्रतिशत पुगेको छ । बुधबार नेपाल राष्ट्र बैंकले ०७६ साउनदेखि माघ मशान्तसम्मको नयाँ रिपोर्ट सार्वजनिक गर्दै मूल्यवृद्धि सरकारले अनुमान गरेभन्दा बढी भएको बताएको हो ।
गत आर्थिक वर्षको माघ महिनासम्म मूल्यवृद्धि ४.३५ प्रतिशतमात्रै थियो । सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ६ प्रतिशतमा सीमित गर्ने घोषणा गरेको थियो । तर आर्थिक वर्षको सुरुवाती ७ महिनामा मूल्यवृद्धि सरकाररले अनुमान गरेको भन्दा १ प्रतिशतले बढी भएको हो ।
माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।
यस अवधिमा क्षेत्रअनुसार सबैभन्दा धेरै महंगी काठमाडौं उपत्यकामा देखिएको छ । काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । गत महिनासम्म तराईमा मूल्यवृद्धि धेरै थियो ।
यसैगरी अहिले तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको माघमा काठमाडौं उपत्यकामा ५.१९ प्रतिशत, तराईमा ३.४४ प्रतिशत, पहाडमा ४.९१ प्रतिशत र हिमालमा ५.२७ प्रतिशत मुद्रास्फीति रहेको थियो । सबै क्षेत्रमा अहिले मूल्य वृद्धि बढेको देखिएको छ ।
प्रतिक्रिया 4