Comments Add Comment

गण्डकीका मन्त्रीको सम्पत्ति विवरण : धनी मुख्यमन्त्री, ऋणमा पर्यटनमन्त्री

५ चैत,पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले पदवहाली गरेको २ वर्षपछि बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सुरुमा पदबहाली भएको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष सकिएको ६० दिनमा सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउने तथा सार्वजनिक गुर्नपर्ने कानूनी व्यवस्था छ । तर गण्डकीका मन्त्रीले पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले जारी गरेको आचारसंहितामा पनि स्पष्टसँग ६० दिनभित्र सम्पत्ति वितरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

आफैंले बनाएको आचारसंहिता उल्लंघन गरेको भन्दै आलोचना भएपछि र गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिलेसमेत निर्देशन गरेपछि बुधबार बल्ल सम्पति विवरण सार्वजनिक भएको हो ।

सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले ६ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सामाजिक विकास मन्त्री नरदेवी पुनको प्राप्त नभएको प्रवक्ता बस्नेतले बताए ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार सबैभन्दा धनी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ देखिएका छन् । अर्थमन्त्री किरण गुरुङको नाममा एक टुक्रा जग्गा र एउटा गाडी देखिएको छ भने श्रीमती कृष्णकुमारीका नाममा धेरै ठाउँमा सेयर छन् । सबैजसो मन्त्री संयुक्त परिवारमै रहेको देखिएको छ । उनीहरुके सम्पत्ति व्यक्तिगत भन्दा पैतृक नै छ ।

धनी मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग सुन, जग्गा, बैंकमा रहेको नगद र ८ भेंडा र ७ बाख्रासम्मको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री गुरुङसँग ५१ तोला सुन र ९० तोला चाँदी भएको विवरणमा उल्लेख छ । दाइजो, खरिद, पेवा र उपहारबाट सुनचाँदी प्राप्त भएको मुख्यमन्त्रीले स्रोत खुलाएका छन् ।

मुख्यमन्त्री गुरुङको गिलुङमा २०४५ सालमा किनेको घर र जग्गाको विवरण बुझाएका छन् । पृथ्वीसुब्बा गुरुङको जन्मगाउँ गिलुङ ८ मा १० रोपनी ३ आना २ दाम जग्गा छ । यो जग्गा उनलाई अंशबण्डाबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

आशकुमारी गुरुङको नाममा खिलुङमा एकतले २ वटा घर रहेको मुख्यमन्त्रीले खुलाएका छन् । यस्तै, आशकुमारीकै नाममा खिलुङ ८ र ९ मा २९ रोपनी १४ आना ३ पैसा ३ दाम जग्गा अंशबण्डाबाट प्राप्त भएको मुख्यमन्त्रीले विवरणमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीको व्यक्तिगत खातामा १६ लाख ५० हजार रुपैयाँ नगद छ । एभरेष्ट बैंकको पोखरा शाखामा १५ लाख ५० हजार रुपैयाँ र सिभिल बैंकमा १ लाख रुपैयाँ मुख्यमन्त्रीको नाममा रहेको विवरणमा उल्लेख छ ।

मुख्यमन्त्री पत्नी मुनिकुमारी गुरुङको नाममा सिभिल बैंकमा ३ लाख ५० हजार, जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा ५ लाख, राष्ट्रिय वाणिज्य बैंक जावलाखेलमा २ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

आवकाश प्राप्त शिक्षक रहेकी मुख्यमन्त्रीपत्नी मुनिकुमारी अहिले क्होँलासोथर गाउँपालिका लमजुङकी उपाध्यक्ष हुन् । मुनिकुमारी पेन्सन तथा पारिश्रमिकबाट उक्त रकम जम्मा भएको स्रोतमा उल्लेख छ ।

मुख्यमन्त्री गुरुङले छोरा, छोरीका नाममा पनि नगद र सेयर रहेको विवरण बुझाएका छन् । छोरा विज्ञान गुरुङको नाममा लक्ष्मी बैंकमा १० लाख, नबिल बेंकमा ६० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । मुख्यमन्त्रीका छोरा पाइलट हुन् र उनले तलबमार्फत उक्त रकम जम्मा गरेको विवरणमा उल्लेख छ ।

विज्ञानका नाममा पिपुल्स हाइड्रो कम्पनीमा १५ हजार कित्ता शेयर रहेको छ । जग्गा बेचेर सेयर हालेर स्रोतमा उल्लेख छ । मुख्यमन्त्रीकी छोरी ईश्वरी गुरुङको नाममा १ लाख २० हजार रुपैयाँको स्कुटर, ५ लाख रुपैयाँकोमोटरसाइकल छोरा विज्ञानको नाममा रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

सापटीमा गाडी र जग्गा लिने अर्थमन्त्री

अर्थमन्त्री किरण गुरुङको स्वर्गीय बुबा तोलाराम गुरुङको नाममा तनहुँको भीमाद नगरपालिका–९ मा ८८ रोपनी २१ आना जग्गा छ । ४ दाजुभाइ र एक बहिनीको सगोलमा रहेको यो पैतृक सम्पतिका रुपमा विवरणमा उल्लेख छ ।

अर्थमन्त्री गुरुङको नाममा कास्की पोखरा–१२ मा २ सय २५ वर्गमिटरको निजी जग्गा छ । सापटी लिएर यो जग्गा खरिद गरेको अर्थमन्त्रीले स्रोतमा उल्लेख गरेका छन् ।

यस्तै अर्थमन्त्री गुरुङको नाममा ४ तोला सुन, नयाँ कृषि अभियान सहकारीमा १० हजार, तनहुँ सूचना समाज सहकारीमा २५ हजार रुपैयाँ सेयर रहेको उल्लेख गरेका छन् । अर्थमन्त्री गुरुङको गाडी रहेको र त्यसको किस्ता तिरिरहेको उल्लेख छ ।

अर्थमन्त्री गुरुङको नाममाभन्दा धेरैजसो सम्पति श्रीमती कृष्णकुमारी श्रेष्ठको नाममा छ । कृष्णकुमारीको नाममा १५ तोला सुन छ । पैतृक तथा खरिद गरिएको स्रोतमा उल्लेख छ । ललितपुर धापाखेलमा ५ आना, पर्वत फलेवास नगरपालिकामा माइतीबाट प्राप्त ६ आना जग्गा श्रीमतीको नाममा रहेको विवरणमा उल्लेख छ ।

सेल्फी इन्भेस्टमा कृष्णकुमारीको नाममा ५ हजार सेयर कित्ता छ । गण्डकी प्रोपटी प्रालिमा १ लाख कित्ता सेयर रहेको उल्लेख छ । पोखरा रोयल सहकारीमा १ हजार सेयर कित्ता, रोयल दिदीबहिनी किचनमा २ लाख ७५ हजार नगद, क्लिन कन्सर्न पोखरामा २ लाख रुपैयाँ सेयर रहेको विवरणमा उल्लेख छ ।

अर्थमन्त्रीका छोरा केविन आकाश र रवीन आकाशका नाममा पनि सेयर छ । सेल्फी इन्भेस्टमै दुबैको नाममा ५÷५ हजार सेयर कित्ता रहेको अर्थमन्त्रीले खुलाएका छन् । सम्पतिको स्रोतमा निजी आर्जन भनिएको छ । अर्थमन्त्री गुरुङपत्नी कृष्णकुमारी लामो समय बेल्जियम बसेकी हुन् ।

कानुनमन्त्रीको जग्गादेखि सुनसम्म पैतृक

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान आँबुखैरनी गाउँपालिका वडा नम्बर २ ढकालटारका स्थायीवासी हुन् । चुमान पत्नी धनकुमारीको नाममा २ रोपनी १ आना जग्गामा घर छ । स्रोतमा पैतृक सम्पत्ति उल्लेख गरेका छन् ।

श्रीमती धनकुमारीकै नाममा आँबुखैरेनीमै ४ रोपनी ६ आना एक ठाउँमा, अर्को ठाउँमा ८ जग्गा र आफ्नो नाममा ५ रोपनी १३ आना जग्गा रहेको चुमानले खुलाएका छन् ।

पैतृक सम्पतिकै रुपमा चुमानसँग सुन १० तोला छ । एभरेस्ट बैंकमा १ लाख ५० हजार, माछापुच्छ«े बैंक आँबुखैरेनीमा २५ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् । यो तलबभत्ताबाट प्राप्त भएको चुमानले बताएका छन् । कृषि विकास बैंकमा ३२ सय कित्ता सेयर रहेको विवरणमा उल्लेख छ ।

बस ब्यवसायी यातायातमन्त्री

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको गोरखा नगरपालिकामा पैत्रिक सम्पत्ति ५० रोपनी जग्गा रहेको उल्लेख गरेका छन् । जग्गा गोरखा नपा ३ मा दाजुभाइ सगोलमै रहेको र यो पैतृक सम्पति भएको बस्नेतले उल्लेख गरेका छन् ।

विभिन्न बैंकमा साढे ५ लाख रुपैयाँ रहेको सरकारका प्रवक्तासमेत रहेका बस्नेतले देखाएका छन् । कृषि विकास वैंकमा २२३ शेयर, ६५ रोपनी जग्गामा फैलिएको २ लाख २५ हजार रुपैयाँको नमुना कृषि तथा पशुपक्षी फार्म छ ।

प्रदेशका यातायातमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार मन्त्री बस्नेतसँग २०७४ साउन २ मा ४० लाख ५० हजार मूल्यमा खरिद गरेको ना ५ ख ५०३३ नम्बरको बस छ ।

२०६० मा २० लाख नगदमा किनेको गोरखा बुक्स एण्ड स्टेशनरी प्रवक्ता बस्नेतको नाममा रहेको विवरणमा उल्लेख छ ।

पर्यटनमन्त्रीको १५ लाख ऋण

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको पर्वतको फलेवास नगरपालिका ५ मा घरसहितको २ रोपनी ५ आनाको जग्गा छ । फलेवासमै अर्को ३ रोपनीको छुटै जग्गा रहेको विवरणमा उल्लेख छ । यो जग्गालाई लम्सालले पैतृक सम्पत्तिका रुपमा स्रोत खुलाएका छन् ।

लम्सालसँग १० तोला सुन र ५० तोला चाँदी छ भने विभिन्न बैंकमा १५ लाख ४९ हजार नगद छ । अंशबण्डा, पैतृक, तलबभत्ताबाट यो जुगाड भएको लम्सालले स्रोत उल्लेख गरेका छन् ।

लम्सालले नियमित आम्दानी तथा तलबबाट कृषि विकास बैंकमा साधारण शेयर धितोपत्र ३०० कित्ता, छोराका निम्ति ३ लाखको मोटरसाइकल र छोरीका निम्ति २ लाख १० हजारको स्कुटर जोडेका छन् ।

पर्यटनमन्त्री लम्सालले कृषि विकास बैंकमा १५ लाख रुपैयाँ ऋण रहेको देखाएका छन् । ३५ लाख ऋण लिएको र २० लाख रुपैयाँ तिरिसकेको उनको विवरणमा उल्लेख छ । केका लागि ऋण लिएको भन्ने चाहिँ लम्सालले खुलाएका छैनन् ।

कृषिमन्त्रीको १ हल गोरु

गोरखा नगरपालिका वडा नम्बर २ स्थायी घर भएका गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाको संयुक्त परिवारकै नाममा धेरै सम्पत्ति छ । थापाको ४ दाजुभाइले ४ करोड रुपैयाँ बराबरको जग्गा खरिद गरेको देखाएका छन् । यसको स्रोतमा उनले वैदेशिक आय तथा पैतृक उल्लेख गरेका छन् ।

मन्त्री थापाकै नाममा १ रोपनी ४ आना जग्गा छ । उनको परिवारको सगोलमा ४३ रोपनी जग्गा र ३५ तोला सुन रहेको विवरणमा उल्लेख छ । बैंक खातामा भूकम्प पुनर्निर्माणबाट आएको १ लाख रुपैयाँ र ३ लाख ७ हजार रुपैयाँ पारिश्रमिक गरी नगद देखाएका छन् ।

उनले स्थानीय एक सहकारीमा १०० कित्ताको शेयर खरिद गरेका छन् । यसैगरी एकहल गोरु र ७ वटा बाख्रा पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment