Comments Add Comment

खानेकुरा किन नष्ट गर्ने ? 

जुठो वा बासी खानेकुराको सही व्यवस्थापन

अहिले कोरोना भाइरसको कारण सर्वत्र संकट छाएको छ । कतिपय मुलुकले अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन निषेध गरेको छ । व्यपार व्यवसाय, उद्यम, खेतीबालीको काम प्रभावित भएको छ । यसले गर्दा खाद्यन्नको माग जुन अनुपातमा छ, त्यस अनुरुप उत्पादनशिल क्षेत्र शिथिल छ ।

यसैपनि विश्वमा खाद्य संकट बढ्दै गएको छ । उत्पादनशिल क्षेत्रको उर्वराशक्ति घटिरहेको छ । यस्तो अवस्थामा हाम्रो भान्सामा भने खानेकुरा त्यतीकै नष्ट भइरहेका छन् । आफुलाई आवश्यक भन्दा बढी खानेकुरा खरिद गर्ने, पकाउने, जुठो बनाएर मिल्काउने, बासी बनाउने काम गरिरहेका छौं ।

एक तथ्यांक अनुसार शहरी क्षेत्रको भान्साबाट औसात बाषिर्क पाँच लाख १२ लाख टन खाद्यन्न नष्ट भइरहेको छ । सहरी विकास मन्त्रालयअन्र्तगतको फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले केही बर्षअघि निकालेको तथ्यांक हो यो ।

कसरी जोगाउने ?

मूख्यतः खानेकुरा त्यती नै खरिद गर्नुहोस्, जति तपाईलाई आवश्यक हुन्छ । अनावश्यक खानेकुरा खरिद गरेर त्यसलाई नष्ट गर्दा त्यसले पारिवारिक व्यायभार बढ्दै जान्छ ।

खाना तयार गर्दा निश्चित अनुमान गरेर तयार गरौं । धेरै खानेकुरा पकाउने वा त्यसलाई राखेर बासी खाने प्रवृत्ति राम्रो होइन । कति व्यक्ति धेरै खानेकुरा खरिद गर्छन्, आवश्यक्ता भन्दा बढी खानेकुरा पकाउँछन् र पछि डस्बिनमा मिल्काउँछन् । यसले आफुलाई मात्र होइन समग्र समाज र राष्ट्रलाई प्रत्यक्ष/परोक्ष हानी हुन्छ ।

हामीले भण्डारण गरेको वा पकाइसकेको खानेकुरा नष्ट हुने अवस्था आउनुअघि नै त्यसलाई पुन प्रयोगमा ल्याउन सकिन्छ ।

अनावश्यक खाद्यान्न खरिद नगरौं

सकेसम्म आवश्यक्ता भन्दा बढी खाद्यान्न खरिद नगर्ने । खासगरी कुहिने, सड्ने, गल्ने खानेकुरा त्यती नै मात्रामा खरिद गरौं, जति उपभोग गरिन्छ । जस्तो कि सागपात, फलफूल, दुध-दही, मासु । यस्ता खानेकुराहरु लामो समय भण्डारण गर्न सकिदैन । त्यसैले सीमित मात्रामा खरिद गरौं ।

सकेसम्म ताजा खानेकुरा मात्र सेवन गर्ने

अहिले हाम्रो प्रवृत्ति कस्तो छ भने हप्ता वा महिना दिनलाई पुग्ने खानेकुरा खरिद गर्ने । भण्डारण गर्ने । फ्रिजको सुविधाले गर्दा पनि हामीमा यस किसिमको प्रवृत्ति बढेको छ । धेरैजसो व्यक्ति कामकाजी छन् । बिहान-बेलुकी सागसब्जी, खानेकुरा खरिद गर्न फुर्सद निकाल्न सक्दैनन् । त्यसैले पनि केही दिन, केही हप्तालाई पुग्ने सागसब्जी, खानेकुरा खरिद गर्छन् । यसरी खानेकुरा भण्डारण गर्दा सहज त हुन्छ, तर त्यसले स्वास्थ्यमा भने राम्रो गर्दैन । लामो समय खानेकुरा भण्डारण गर्दा त्यसमा रहेको पोषण तत्व नष्ट हुन्छ ।

बासी खानेकुराको पुनः प्रयोग

कतिपय खानेकुरा बासी भएपछि वा बिग्रने अवस्थामा पुगेपछि त्यसलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिन्छ । जस्तो कि, दुध बासी भएमा त्यसलाई जमाएर दही बनाउन सकिन्छ । दुध फाटेमा त्यसबाट पनिर बनाउन सकिन्छ । साग ओइलिएमा गुन्द्रुक बनाउन सकिन्छ । मुला, गाँजर आदिको अचार बनाउन सकिन्छ ।

गाइबस्तु र चराचुरुङ्गीका लागि

बासी सागसब्जी, फलफूल, दालभात आदि खानेकुरा डस्बिनमा मिल्काउने नगरौं । भान्साबाट खेरो जाने खानेकुरा गाईबस्तुका लागि प्रयोग गरौं । गाइबस्तुले नखाएको खानेकुरा सडकका कुकुर, काग, परेवा, भंगेरालाई दिन सकिन्छ ।

बगैंचा वा फूलका लागि मल

चराचुरुंगी, गाईबस्तु, कुकुर, बिरालो आदिलाई पनि दिन नमिल्ने वा दिन नसकिने अवस्था छ भने त्यस्ता खानेकुराबाट मल बनाउन सकिन्छ । भान्साबाट निस्कने प्याज, तरकारी, फलफूलको बोक्रा, बासी खानेकुरालाई छुटै डस्बिनमा राख्ने र त्यसलाई कुनै सुरक्षित ठाउँमा राखेर कुहिन दिनुपर्छ । यसरी तयार गरेको मल फूलबारी, बगैंचामा प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment