
७ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा सुधार गरिने बताएका छन् । सफाई मजदुरलाई आवश्यक तालीम र आधुनिक सामग्रीको प्रबन्ध गरेर सरसफाईमा परिवर्तन ल्याइने उनको भनाई छ ।
शुक्रबार मन्त्रालयमा आयोजित गैरआवासीय नेपाली संघ -एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलहरुको सरसफाई अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा बोल्दै उनले मन्त्री भट्टराईले अन्तराष्ट्रिय मापदण्ड अनुसार विमानस्थलहरुको सफाई लागि सरकारले काम गर्ने बताए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए)का अभियान्ता एंव सफाई विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलको सरसफाई अवस्थाको बेग्ला-बेग्लै ‘अडिट’ प्रतिवेदन मन्त्रालयमा बुझाएका छन् ।
धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा, पोखर, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल -आन्तरिक) र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल -अन्तराष्ट्रिय को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।
‘अडिट’मा हाल विमानस्थलहरुका सरसफाईको अवस्था, समस्या, कानुनी समस्या र आगामी दिनमा गर्नुपर्ने कामहरुको सूची र सुझाव समावेश छ ।
शर्माले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सरसफाई गर्नुपर्ने सफाईका स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने, सरसफाई मजदुरलाई तालिमको व्यवस्था गर्नुपर्ने, सफाई मजदुरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।
मन्त्री भट्टराईले सुझाव महत्वपूर्ण भएको भन्दै ती सुझावका आधारमा विमानस्थलको सरसफाई सुरु गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएका छन् ।
उनले सबै सुझाव सम्बन्धित विमानस्थलमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिए ।
ती सुझाव तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्था बारेमा रिपोर्ट तयार पार्नका लागि निर्देशन दिएका छन् ।
प्रतिक्रिया 4