Comments Add Comment

मध्यपुरथिमि नगरपालिकाले बनायो क्विक रेपिड रेस्पोन्स टिम

८ चैत, भक्तपुर । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिकाले स्वास्थ्य संकटका बेला परिचालन गर्न क्विक रेपिड रेस्पोन्स टोली तयार पारेको छ । डा. दीक्षा न्यौपाने र डा. विजयकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको टोली तयार पारिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

टोलीले सम्भावित कारोना सङ्क्रमितको स्वास्थ्य परीक्षणलगायतका बारेमा आवश्यक कार्ययोजना बनाएर सुरक्षितरूपमा सेवा दिने गरी काम गर्नेछ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि शुक्रबार राति नगरपालिकाले जनप्रतिनिधि, सरकारी स्वास्थ्य केन्द्रका प्रमुख, मध्यपुरथिमिभित्र रहेका सबै अस्पतालका प्रतिनिधि एवं स्वास्थ्यकर्मीसमेतको आकस्मिक बैठक बोलाएको थियो । सो बैठकले नगरभित्र रहेका सबै स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संस्थामा कसैलाई पनि अत्यावश्यक अवस्थाबाहेक बिदा नदिने निर्णय गरेको छ ।

नगरप्रमुख श्रेष्ठका अनुसार नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा छ श्ययाको आइसोलोसन वार्ड, भेन्टिलेटरसहितको दुई श्ययाको आइसीयू तयार पारिएको छ । डेण्टल र फिजियोसेन वार्ड राख्न बनाएको नयाँ भवनको दुवै तलालाई आवश्यकता पर्दा तत्कालै ३० श्ययाको आइसोलेसन वार्ड बनाउने गरी तयारी अवस्थामा राखिएको छ ।

यसैगरी बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रको ५० जना क्षमता रहेको सुविधासम्पन्न आवासीय भवनलाई क्वारेन्टाइन बनाइने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । क्वारेन्टाइनका लागि बैंकसँग कुरा भइसकेको, नगरपालिका एवं वीर दल गणका गणपति शिव पौडेलसहितको टोलीको अनुगमनले उपयुक्त ठहर्याएपछि त्यसलाई ५० जना क्षमताको क्वारेन्टाइन बनाउने निर्णय भएको उनले बताए ।

नगरपालिकाले नयाँ एम्बुलेन्सलाई कोरोना आशङ्का गरिएका वा सङ्क्रमितका बिरामी मात्रै बोक्ने गरी तयारी अवस्थामा राखेको छ । एम्बुलेन्सलाई किटाणुमुक्त बनाउने र एम्बुलेन्स चालकसँग बिरामीको सम्पर्क नहुने गरी तयार पारिएको छ ।

त्यस्तै कोरोना भाइरस भए÷नभएको परीक्षण गर्न सक्ने ‘पोलिमराइज चेन रिएक्सन’ (पिसीआर) मेसिनसहित नगरपालिकाले ल्याब स्थापना गरेको छ । नगरपालिकाले आफ्नो अस्पतालमा नौ सेट कोरोना सङ्क्रमित बिरामीको उपचारमा लगाइने पोशाक पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपीइ) ल्याएर त्यो लगाउने र उपचार गर्नेबारेमा स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको छ । नगरभित्र सञ्चालित अस्पताललाई मास्क, सेनेटाइजर, ज्वरो नाप्ने थर्मल गन, पिपिइ अर्थात् पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट पोशाक, पिपी नाइन्टिनाइन मास्क वितरण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment