
८ चैत, काठमाडौं । सिंगापुरबाट यात्रु लिएर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको सिल्क एयरको विमानका यात्रुहरुलाई बाहिर निस्किन रोक लगाइएको छ । ओर्लिन पाउनुपर्ने माग गर्दै यात्रुहरुले हवाईजहाजभित्रै नाराबाजी गरेका छन् ।
सो हवाईजहाज शनिबार राति करिब साढे ८ बजे अवतरण गरेको थियो । तर, सो हवाईजहाजबाट यात्रुहरु ओर्लिन पाएका छैनन् । सो हवाईजहाजमा नेपालले कोरोना रोकथामका लागि प्रतिबन्ध लगाएको देशका नागरिक भएकाले बाहिर निस्कन नदिइएको हो । सो हवाई जहाजभित्र केही नेपाली यात्रुहरु पनि छन् ।
‘अवतरण नगर्न भन्दाभन्दै इन्धन सकिएको भन्दै पाइलटले अवतरण गराए,’ विमानस्थल स्रोतले भन्यो ।
सो हवाईजहाजलाई के गर्ने भन्ने निर्णय हुन बाँकी छ । सम्भवतः तेलमात्र भर्न दिएर हवाईजहाजलाई उतै फर्काइने स्रोतले बतायो ।
सोही हवाईजहाजबाट सिंगापुर जानका लागि १६० जना यात्रुहरुले बोर्डिङ पाससमेत लिएका छन् । उनीहरुले पनि केहीबेर होहल्ला गरेका थिए । अहिले भने उनीहरुलाई होटलमा लगेर राखिएको छ ।
नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै यसअघि विदेशी विमान कम्पनीहरुले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका थिए । अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।
प्रतिक्रिया 4