Comments Add Comment

अनुसन्धानकर्ताको चेतावनी- भारत धेरै क्षति व्यहोर्ने अर्को देश बन्न सक्छ

‘कोरोनाको सुनामी सामना गर्न भारत तयार हुनुपर्छ’

९ चैत, काठमाडौं । भारतका एक जना विशेषज्ञले कोरोना भाइरस संक्रमणबाट धेरै क्षति व्यहोर्ने अर्को देश भारत बन्ने चेतावनी दिएका छन् । उनकै शव्दमा भारतमा कोरोना संक्रमणको ‘सुनामी’ आउनेवाला छ ।

कोरोना संक्रमित फेला परेका देशहरुको संख्या १६८ छ भने १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा ३३२ जनामा संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ । गत २४ घण्टामा भारतमा ८३ जना नयाँ संक्रमित फेला परेका छन् ।

भारतको अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेका सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले भारतमा कोरोना संक्रमितको संख्या तीव्र वृद्धि हुने बताएका छन् । विश्वका अन्य देशको तुलनामा भारतमा कोरोना संक्रमणको दर कम हुने कुनै संकेत नदेखिएको उनको भनाइ छ ।

बीबीसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘स्पेन र चीनमा जस्तो अवस्था छ, जति धेरै त्यहाँ संक्रमित छन्, त्यस्तै हालत भारतमा पनि हुन्छ । केही हप्तामै हामी कोरोनाको सुनामीका लागि तयार रहनुपर्छ ।’

डा. रामानन लक्ष्मीनारायण

अन्य देशहरुको तुलनामा कोरोना भाइरस संक्रमणको दर हाल भारतमा कम देखिएको छ । तर विश्वका अरु देशहरुमा जस्तै भारतमा पनि कोरोनाको परीक्षण एकदमै थोरै भइरहेको उनको भनाइ छ ।

डा. लक्ष्मीनारायणले भनेका छन्, ‘जब धेरै व्यक्तिको स्वास्थ्य परीक्षण हुन्छ, तब बिरामीको संख्या पनि धेरै देखिन्छ । मलाई लाग्छ यो संख्या एक हजारभन्दा बढी हुनसक्छ । त्यसैले हामी तयार रहनुपर्छ ।’ उनले चीनमा जस्तै भारतको जनघनत्व पनि बढी भएकाले संक्रमण छिटो फैलिन सक्ने आँकलन गरे ।

कम्युनिटी ट्रान्समिसन संक्रमण फैलिने तेस्रो र केही खतरनाक अवस्था हो । यो यस्तो अवस्था हो, जब कुनै व्यक्ति अर्को संक्रमित व्यक्तिको सम्पर्कमा नआइकन वा भाइरस संक्रमित देशको यात्रा नगरीकन पनि देखिन्छ ।

भारतमा हाल धेरैजसो विदेशबाट आएका वा विदेशबाट आएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुको मात्र स्वास्थ्य परीक्षण गरिएको छ । तर जब कसैलाई म कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएको छु भन्ने थाहा हुँदैन तब त्यो व्यक्तिमार्फत संक्रमण अन्य धेरै व्यक्तिसम्म फैलियो भने समस्या सिर्जना हुन्छ ।

भारतमा कोरोना संक्रमित कति होलान् भन्ने प्रश्नमा डा. रामाननले भनेका छन्, ‘अमेरिका र बेलायतमा ५० देखि ६० प्रतिशत व्यक्ति संक्रममित भएका छन् । यसलाई हेर्दा भारतको करिब २० प्रतिशत जनसंख्या संक्रमणको चपेटामा पर्न सक्छन् । भारतको २० प्रतिशत जनसंख्या भनेको करिब ३० करोड जना हो ।’

भारतमा अस्पतालको अवस्था कस्तो छ ?

डाक्टर रामननले भारतमा हरेक पाँच जनामध्ये एक जना संक्रमणको गम्भीर स्तरमा हुने आँकलनसमेत गरेका छन् । अर्थात् ४० देखि ५० लाख व्यक्ति गम्भीर अवस्थामा हुनेछन् र उनीहरुलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।

तर, भारतको स्वास्थ्य सेवा यति धेरै व्यक्तिलाई अस्पतालमा भर्ना गरेर राम्रो उपचार दिन सक्ला ? भन्ने प्रश्न उब्जिन्छ । खासगरी ग्रामिण क्षेत्रका जिल्लास्तरीय अस्पतालको अवस्था भारतमा निकै खराब छ । डा. रामाननले पनि भारतमा राम्रो स्वास्थ्य सुविधा नभएको बताएका छन् ।

उनले बीबीसीसँग भनेका छन्, ‘पूरै भारतका सबै अस्पतालमा करिब ७० हजारदेखि एक लाखसम्म आईसीयू बेड छन् । जनसंख्याको हिसाबले आईसीयू बेडको यो संख्या निकै कम हो । हामीसँग तयारी गर्ने समय धेरै छैन । जसरी चीनले गरेर देखायो, हामीले पनि त्यस्तै गर्नु पर्ने हुन्छ । अस्थायी अस्पताल बनाउनुपर्छ । रंगशालालाई अस्पतालमा रुपान्तरण गर्नुपर्ने हुन्छ । धेरैभन्दा धेरै भेन्टिलेटर तयार पारेर राख्नुपर्छ ।’

कोरोना भाइरसविरुद्ध लड्नका लागि सरकार र आम जनताले कस्ता कदम चाल्नुपर्छ त ? भन्ने बीबीसीको प्रश्नमा डा. रामानन् भन्छन्, ‘स्थिति नियन्त्रणमा लिनका लागि काम गर्ने समय हामीसँग तीन हप्तामात्र छ । यो तीन हप्ताभित्र सबै काम गरिसक्नुपर्छ । तपाईं कल्पना गर्नुस्, हामी त्यो ठाउँमा छौं, जहाँबाट सुनामी आइरहेको देखिन्छ । यति समयमै सतर्क भएनौं भने सुनामीको चपेटामा परेर समाप्त हुनेछौं ।’

उनले भने, ‘जनताहरु आत्तिनु हुँदैन । कुनै प्रकारका अफवाह नफैलाऔं । महामारीबाट जोगिनका लागि गर्नुपर्ने सबै प्रकारका सावधानी अपनाऔं ।’

यस्तो समय एक पटकमात्र आउँछ र तहसनहस पारेर जान्छ भन्ने कुरा हामीले ध्यान दिनुपर्छ । सरकारलाई पनि यसको संकेत र यसबाट बच्ने उपायबारे थाहा हुनुपर्छ । त्यसैले संक्रमणबाट बच्न र यसविरुद्ध लड्नका लागि कम्मर कसेर लाग्ने समय आएको छ ।’

यो पनि पढ्नुहोस भारतमा जनता कर्फ्यू : अफवाहले जनता त्रसित, अत्यावश्यक सेवाबाहेक सबै बन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment