Comments Add Comment

यातायात व्यवसायीको प्रश्न : गरीबलाई हेप्ने ?

'कोरोनाबाट बस असुरक्षित, हवाइजहाजचाहिँ सुरक्षित ?'

बसपार्कमा घर जानेहरुको भिड ।

८ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले शनिबार यातायात व्यवसायीहरुलाई छलफलका समय दिएका थिए । छलफलको एजेण्डा थियो- लामो दुरीका यात्रुहरुलाई सहज रुपमा गन्तव्यसम्म कसरी पुर्‍याउने ?

सुरक्षित यात्राका विषयमा आयोजित छलफलमा यातायात व्यवसायीहरु सरकारविरुद्ध खनिए । सरकारले लामो दुरीका सवारी साधनको आवागनममा सोमबारदेखि रोक लगाए पनि हवाइ उडानमा किन रोक नलगाएको भन्दै यातायात व्यवसायीले मन्त्रीलाई प्रश्न गरे ।

कोरोनाको जोखिम देखाउँदै गरीबले यात्रा गर्ने सार्वजनिक सवारी साधनमा रोक लगाउनु तर धनीमानी चढ्ने हवाइजहाजको उडानचाहिँ जारी राख्नु गरीबमाथिको विभेद भएको व्यवसायीको तर्क छ । उनीहरुले सरकारी निर्णयको विरोध गर्दै जोखिमका कारण आवागमन रोक्ने भए हवाई उडान पनि किन नरोकेको ? भनेर मन्त्री नेम्वाङलाई प्रश्न गरे ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनमा चैत १० गतेदेखि केही समयका लागि लामो दुरीमा सार्वजनिक सवारीमा रोक लगाउने घोषणा गरिएको छ । कोरोनाको त्रासले मानिसहरु उपत्यकाबाट बाहिरिने क्रम बढेता पनि सरकारको निर्णयअनुसार सोमबारदेखि लामो दुरीको यातायात बन्द हुँदैछ ।

‘हामीले मन्त्रीज्यूलाई एयरलाइन्स र सार्वजनिक सवारीबीच विभेद किन भनेर सोधेका छौं, गरिब नागरिक चढ्ने बस रोकेर महंगो हवाइ उडानलाई प्रोत्साहन गर्नुपर्ने किन ?’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘८२ जना बोक्ने प्लेन चलाउँदा कोरोनाको जोखिम नहुने, तर, १० जना यात्रु बोक्ने सुमो पनि चलाउन नपाउने गरी निर्णय हुनु दु:खद् छ ।’

तीनदिन म्याद थप्न माग गर्ने, नभए सोमबारदेखि गाडी नचल्ने

यसैवीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आइतबार बसेको बैठकले सरकारको विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सरकारले चैत १० गतेबाट यात्रुवाहक सवारी रोक्ने गरी गरेको निर्णय यात्रु आवत-जावतको सुविधाका हिसाबले कम भएको महासंघको भनाइ छ ।

महासंघका महासचिव सरोज सिटौलाले अहिले यात्रुको चाप उच्च भएको भन्दै काठमाडौंबाट बाहिरन चाहाने सबै यात्रुलाई लैजाने हो भने ३ दिन समय थप गर्नुपर्ने माग गरिएको बताए ।

बसपार्कहरुमा हेल्थ डेस्क राखेेर एयरपोर्टमा जस्तै मेडिकल स्क्रिनिङ गर्न सकिने सिटौलाले बताए । तर, सरकारले साँच्चिकै आवत-जावत रोक्न नचाहेको भए ठूला व्यवसायी र साना व्यवसायीबीच भेदभाव गरेर जनतालाई महंगोमा यात्रा गाउन बाध्य पार्न नहुने बताए ।

‘हवाई भाडा तोकिएभन्दा बढी लिएको खबर आइरहेका छन्,’ सिटौला भन्छन्, ‘हामीमाथि पनि निगरानी होस्, यात्रुलाई सतर्क बनाइयोस्, तर राज्यबाट स्पष्ट देखिने गरी फरक व्यवहार नगरियोस् ।’

सरकारको विभेदपूर्ण निर्णयबाट गरीबले प्रयोग गर्ने सार्वजनिक सवारी अपहेलित बनेको महसुस भएको भन्दै सरकारले आफ्नो निर्णयलाई पुनर्बिचार गर्नुपर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ ।

तर, सरकारले गरेको निर्णयको अवज्ञा भने नगर्ने महासंघले निर्णय गरेको छ । सरकारको निर्णयमा सहयोग पुग्ने गरी सोमबारबाट चैत २१ सम्म लामो दूरीका सार्वजनिक यातायात सेवा बन्द गर्ने महासचिव सिटौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment