Comments Add Comment

माथिल्लो तामाकोसीको बाँधको परीक्षण, निरीक्षणमा पुगे ऊर्जामन्त्री

९ चैत, काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको जलासययुक्त माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको आइतबार निरीक्षण भ्रमण गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको तामाकोसीको बाँध तथा (सिन्डिकेटर बेसिन) बालुवा थिग्र्याउने पोखरीको प्राविधिक परीक्षण सुरु भएपछि मन्त्री पुन निरीक्षणमा गएका हुन् ।

गत सोमबारबाट पानी जम्मा गर्न सुरु गरिएकामा आइतबार पोखरी भरिएको छ । २२ मिटर उचाइ तथा ६० मिटर चौडाइको बाँध निर्माण गरिएको छ । आठवटा ढोका रहेको बाँधमा चारवटा डिसेन्डर बेसिन राखिएका छन् ।

बेसिनमार्फत मुख्य सुरुङ हुँदै पावर हाउससम्म पानी पुर्‍याइन्छ । बाँधको परीक्षण सफलतापूर्वक सम्पन भएको छ ।

बाँध र पोखरीको प्राविधिक परीक्षण सफल भएकामा मन्त्री पुुनले आयोजनाका पदाधिकारी, ठेकेदार, परामर्शदाता र निर्माण युनिटलाई धन्यवाद दिए ।

निर्धारित समयमै काम सक्न निर्देशन

बाँध, सुरुङ र पावर हाउसको निरीक्षणपछि मन्त्री पुनले निर्धारित मितिमै बाँकी काम सम्पन्न गर्न आयोजनाका पदाधिकारी, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिए । भूकम्पलगायत कारण आयोजना निर्माणमा ढिलाइ भए पनि अब भने समयमै काम सक्नुपर्ने उनको भनाइ थियो ।

परीक्षणका काम चालु आर्थिक वर्षमै सक्ने र आगामी असारसम्ममा परीक्षण उत्पादन थाल्ने गरी काम अघि बढाउन मन्त्री पुनको निर्देशन थियो । काम गर्ने सिलसिलामा आइपर्ने जस्तोसुकै व्यवधान हटाउन सरकार तयार रहेको भन्दै उहाँले तर, काम तोकिएकै समयमा हुनुपर्नेमा जोड दिए ।

सरकारको मात्र नभई दोलखा, रामेछापसहित देशैभरका सर्वसाधारण, निजामति र जंगीतर्फका कर्मचारीको समेत लगानी रहेकाले निर्माणका काममा ढिलाइ हुन नहुने मन्त्री पुनको स्पष्टोक्ति थियो । उनले समस्या परे तत्काल आफूलाई खबर गर्न आयोजनाका अधिकारीलाई आग्रह गरे ।

‘माथिल्लो तामाकोसीमा सरकारको मात्र होइन, शेयरमार्फत जनताको ठूलो लगानी परेको छ’, मन्त्री पुनले भने, ‘धेरै काम भएको छ, अब बाँकी काम जसरी भए  पनि समयमै हुनुपर्छ ।’

थोरै भए पनि संवेदनशील र चुनौचीपूर्ण काम बाँकी रहेकाले प्राविधिक कमजोरी नगर्न पनि मन्त्री पुनले सचेत गराए । आयोजनाका पदाधिकारी, ठेकेदार र परामर्शदाता सबैले समयमै काम सक्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जामन्त्री भएपछि पुनको यो तेश्रो तामाकोसी भ्रमण हो ।

मन्त्री पुनसँगै निरीक्षणमा जानुभएका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले धेरै जटिलता र कठिनाइबीच आयोजना निर्माणको काम अन्तिम चरणमा पुर्‍याएकामा ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिए।

दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङले देशकै सबैभन्दा ठूलो आयोजना जिल्लामा बन्नु दोलखाकासीका लागि खुसीको कुरा भएको उल्लेख गरे । मन्त्री पुन र गुरुङसँगै टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, सदस्य डा. कृष्णप्रसाद ओली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीका अध्यक्ष कुलमान घिसिङ लगायत सहभागी थिए ।

कहाँ पुग्यो तामाकोसीको काम ?

२०६५ सालबाट सुरु भएको आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाबाट आगामी असारदेखि विद्युत उत्पादन थाल्ने तयारी छ ।

सबैभन्दा जटिल ठानिएको आयोजनाको तल्लो साफ्टमा ३७३ मिटरमध्ये २७० मिटरमा पाइप जडानको कार्य सम्पन्न भएको छ भने माथिल्लो साफ्टमा ३१० मि मध्ये १५० मिटर सकिएको छ ।

पाइप जडानको काम आगामी वैशाख महिनाभर सकिने दावी छ ।

त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङका बीचमा रहेको तेर्सो भागमा पाइप जडान गरिनेछ । त्यसका लागि करिब डेढ महिना लाग्नेछ । असारमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने र त्यसपछि बाँकी पाँच युनिटबाट पनि क्रमशः उत्पादन गर्ने कार्यतालिका रहेको तामाकोसी आयोजनाका अध्यक्ष एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

सिभिलअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ  । विद्युत गृहका सम्पूर्ण उपकरण यसअघि नै जडान भइसकेको छ । तर, तोकिएको समयमा काम सक्न चुनौतीपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment