 
																			११ चैत, जनकपुरधाम । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय प्रदेश २ का विभिन्न जिल्लामा उल्लंघन भएको छ । सप्तरीमा प्रहरीले नसकेपछि सहयोगका लागि नेपाली सेनासमेत सडकमा आएको छ ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा भीड पातलिए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन् । फाटफुट पसलहरु पनि सञ्चालनमै छन् । मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावत गरिरहेका छन् ।
सिरहाको लाहानमा गुद्री हटिया बन्द गर्न नमान्दा प्रहरी परिचालन गर्नुपरेको छ । प्रहरी परिचालन गरेर गुद्री हटिया बन्द गराइएको छ ।
सप्तरीमा प्रहरी कम भएको भन्दै सेना उतारियो
सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयन गराउन सप्तरी सदरमुकाम राजविराजसहितका ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिए ।
सर्वसाधारण घर बाहिर आउँदा उनीहरुलाई सम्झाएर घरभित्रै बस्न सुरक्षाकर्मीले आग्रह गरिरहेको प्रशासकीय अधिकृत कट्टेलले बताए ।
सडकमा देखिने मोटरसाइकलको चाबी खोसिने
महोत्तरी, सर्लाही जिल्लामा पनि फाटफुट मान्छेहरु बाहिर निस्किरहेका छन् । रौतहट जिल्लामा लकडाउनको पालना गरिएको छ । न्यून मान्छेहरु बाहिर निस्केका छन् । बारा र पर्सामा भने लक डाउनको पूर्ण पालना हुन सकेको छैन । सर्वसाधारण अझै बाहिर आइरहेका छन् ।

जनकपुरधाममा बिहानैदेखि मोटरसाइकल गुडाउन बन्द नभएपछि प्रशासनले यसतर्फ चासो लिएको छ । ‘घरभित्र बस्नुपर्ने कुरा आफैंले बुझ्नुपर्ने हो’ धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने, ‘नबुझेको खण्डमा हामी सम्झाइ बुझाइ गर्छाैं ।’
उनले सम्झाउँदा पनि मोटरसाइकल गुडाउन नछाड्नेको चाबी नियन्त्रणमा लिने बताए । ‘चाबी नियन्त्रणमा लिएर एक सातासम्म राख्न लाउँछौं’ उनले भने ।
बाहिर निस्किन बन्द नभए कर्फ्यू लगाउने
कोरोना संक्रमणबाट बच्न घरमै बस्नुपर्ने सरकारी निर्णयलाई अटेरी गरिरहे प्रदेश २ मा कर्फ्यू नै लगाउने मनस्थितिमा स्थानीय प्रशासन पुगेको छ ।
‘बिहानैदेखि घरबाट बाहिरने क्रम बढेको छ’ प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्कीले अनलाइनखबरसँग भने, ‘अवस्था यस्तै रहे हामी कर्फ्यू लगाएर भए पनि सबैलाई घरमा बसाउँछौं ।’
‘काठमाडौंमा पनि यस्तै हो, मान्दैनन् के’ डीआइजी कार्कीले भने, ‘त्यसैले हामी कर्फ्यू लगाएर भए पनि घरमा बस्न लगाउँछौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4