Comments Add Comment

लकडाउनले कर्मचारी फुर्सदिला, बजेट निकासामा समस्या

बजेट माग्नेहरुलाई सापटी लिएर चलाऊ भन्नुपरेको छ : महानिर्देशक कँडेल

१३ चैत, काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विभिन्न स्थानमा क्वारेन्टाइन र आइसोलेसन बेड निर्माणका काम सरकारले धमाधम गरिरहेको छ । तर, कतिपय स्थानमा कर्मचारी कम हुँदा प्रक्रियागत काममा बाधा पुगेको उच्च सरकारी अधिकारीको अनुभव छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले अनलाइनखबरसँग भने, ‘लकडाउनका कारण कर्मचारीहरुको मोबिलिटी न्युन भएको हुनाले बजेट माग गर्ने, विनियोजन गर्नेलगायतका काममा बाधा पुगेको छ ।’

‘टेलिफोन र इमेलको जमाना भएकाले कतिपय काम घरमै बसेर पनि गर्न सकिन्छ, त्यस्ता कामहरु भइरहेका पनि छन् । तर कतिपय कामहरुमा दर्ता गर्नुपर्ने, चलानी गर्नुपर्ने, छाप लगाउनुपर्ने जस्ता प्रक्रियागत उल्झनका कारणले गर्दा समयमा बजेट माग गर्न, निकासा दिन नसकिने अवस्था छ,’ उनले थपे ।

कैदी बन्दीहरुलाई कोरोनाबाट जोगाउनका लागि आइसोलेसन र क्वारेन्टाइनमा राख्नुपर्ने भए पनि कम बजेट चुनौतीको रुपमा रहेको बताए ।

प्रदीपराज कँडेल, महानिर्देशक, कारागार व्यवस्थापन विभाग

‘विभिन्न जिल्लाबाट जेलरहरुको फोन आएको आयै छ । रासन किन्नलाई बजेट छैन, आइसोलेसन र क्वारेन्टाइन कसरी बनाउने हो भन्नुहुन्छ,’ कँडेलले  अनलाइनखबरलाई सुनाए, ‘उधारोमा ल्याउनुस्, कुनै शीर्षकबाट व्यवस्था गर्नुस्, पछि मिलाउँला भन्नु परिरहेको छ ।’

उनले नख्खु, ताप्लेजुङलगायतका कारागार कार्यालयहरुमा कैदीबन्दीका लागि रासनको बजेट विनियोजन हुने क्रममा रहेको जानकारी दिए ।

कारागार व्यवस्थापन विभाग अन्तर्गत हाल ७२ जिल्लामा ७४ कारागारहरु छन् । भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । सर्लाही र मुगुमा कारागार भए पनि सन्चालनमा छैन ।

नख्खुमा २० आइसोलेसन र १ सय क्वारेन्टाइन

कारागार व्यवस्थापन विभागका महानिर्देशक कँडेलले देशभरका कारागारमा रहेका कैदीबन्दीहरुलाई कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरिरहेको बताए ।

अहिले काठमाडौं उपत्यकासहित देशभरका कारागार परिसरमा आइसोलेसन र क्वारेन्टाइन बेड बनाउने काम जारी रहेको उनले जानकारी दिए ।

कँडेलका अनुसार नख्खु कारागार परिसरमा रहेको मनोपरामर्श अस्पतालमा २० बेडको आइसोलेसन बनाउने र करिब–करिब निर्माण सम्पन्न भई हस्तान्तरण हुन बाँकी नख्खु कारागारको महिला वार्ड भवनमा एक सय वटा क्वारेन्टाइन बेड राख्ने निर्णय गरिएको छ । त्यसका लागि गृहमन्त्रालयसँग स्रोत माग गरिएको कँडेलले जानकारी दिए ।

जगन्नाथदेवलमा २० क्वारेन्टाइन

यसैगरी कारागार कार्यालय जगन्नाथदेवलको कारखाना परिसरमा रेडक्रसको सहयोगमा १० वटा पाल राखेर २० जना क्षमताको क्वारेन्टाइन बनाइएको छ ।

सुनसरीको झुम्कास्थित कारागारमा प्रदेश नं. १ को आन्तरिक मामिला मन्त्रालयको सहयोगमा क्वारेन्टाइनमा राख्ने गरी पाल गाडिएको छ ।

कोरोना भाइरसको महामारीबाट कैदीबन्दीहरुलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल गर्न महानिर्देशक कँडेलको अध्यक्षतामा हालै जगन्नाथ देवल, डिल्लीबजार र नख्खु कारागारका प्रमुख तथा केन्द्रीय कारागार अस्पताल र नख्खु कारागारस्थित मानसिक अस्पतालका प्रमुखहरुको संयुक्त बैठक बसेको थियो । सो बैठकले कैदीबन्दीहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन नियन्त्रणात्मक र प्रवर्द्धनात्मक काम गर्ने निर्णय गरेको छ ।

यद्यपि धेरैजसो कारागार भवनहरु जीर्ण भएको, कैदी बन्दीको चाप धेरैै रहेको, कर्मचारी जनशक्ति कम भएको र बिरामी कैदीबन्दीलाई सुविधायुक्त अस्पतालसम्म पुर्‍याउन समस्या हुने गरेको अनुभव कारागारका अधिकारीहरुसँग छ ।

कैदीबन्दी छुट्ने क्रम जारी

बैठकले नयाँ बन्दीहरुलाई कारागारभित्र प्रवेश गराउनुअघि छुट्टै वार्डमा क्वारेन्टाइन बनाएर राख्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर देशभरका कुनै कारागारमा भेटघाट गर्न रोक लगाइएको छ ।

सरकारले कोरोना संक्रमणलाई रोक्ने उद्देश्यले कैदीबन्दीहरुको संख्या घटाउने नीति लिएको छ । सो नीतिअनुसार एक वर्षभन्दा कम कैद हुनेहरुलाई रिहा गरिएको छ ।

सानो कैदलाई माफी मिनाहा गर्ने भन्ने सर्वोच्च अदालतको आदेशअनुसार त्यसको अग्रिम कारबाही सम्बन्धित कारागार कार्यालयबाटै हुने गरी काम भइरहेको छ । अग्रिम कारबाही कारागार कार्यालयबाट भए पनि त्यसको अन्तिम कारबाही चाहिँ अदालतबाट टुंगिन्छ । यसअनुसार काठमाडौं उपत्यकाबाट ४० जना जति रिहा भइसकेको र जिल्लाहरुको विवरण आउन बाँकी रहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक कँडेलले जानकारी दिए ।

महानिर्देशक कँडेलले भने, ‘हामीले कोभिड १९ बाट कैदीबन्दीहरुलाई सुरक्षित राख्न सम्भव भएसम्मका सबै उपायहरु अवलम्बन गरिरहेका छौं । कैदीबन्दी र उनीहरुका परिवारले कुनै चिन्ता लिनु पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment