Comments Add Comment

यो संकट डिजिटल कारोबार बढाउने अवसर पनि हो

फाइल फोटो

हामीले केही वर्षदेखि डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएका छौं । पूर्णरुपमा हामी डिजिटल हुन नसकेपछि हाम्रा ग्राहकहरुले इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायतका प्रविधिहरु प्रयोग गर्नुभएको छ । खासगरी फन्ड ट्रान्सफरहरु, पेमेन्टहरु लगायतका काममा समस्या छैन । पछिल्लो समय अनलाइन बैंकिङ कारोबारको प्रयोग बढेको छ ।

सबै ग्राहकसम्म प्रविधि नपुगेको हुनाले यस्तो बेलामा ‘फिजिकल सर्भिस’ आवश्यकता पर्छ । तर, सुरक्षाका कारण यो गर्नु हुँदैन । यसले खतरा अवस्था बनाउन सक्छ । यतिबेला देश नै लक डाउनमा गएको छ । हामीले फिजिकल्ली सेवा लिनुहुँदैन । सबैका लागि अहिले प्रविधिमा आधारित बैंकिङ कारोबार नै कल्याणकारी हुनेछ ।

इटलीमा भयावह अवस्था आउनुको कारण उच्च सतर्कता नआनाइएको कारण भनिएको छ । हाम्रो अवस्था पनि त्यस्तै हुन स्क्छ भनेर हामी सजग हुनुपर्छ । हामीले पनि सतर्कता अपनाउने कुरामा केही कमजोरी गरेका छौं । हामीसँग फेरि उपचारका लागि पर्याप्य सामाग्री, औषधी लगायत छैनन् ।

यसकारण पनि हामी यो भाइरसलाई फैलन नै नदिने गरी आवश्यक सतर्कता अपनाउनुपर्ने हुन्छ । यसकारण हामीले हिजो मात्रै पनि नेपाल बैंकर्स संघको डिजिटल बैठक बसेर केही आवश्यक निर्णयहरु गरेका छौं ।

‘अवसर पनि हो’

कुनै ग्राहकलाई ‘स्पेसिफिक’ कारोबार गर्नुपरेको छ, ठूलो रकम जम्मा गर्नै पर्ने अवस्था आयो अथवा एटीएमले दिन नसक्ने रकम निकाल्नुपर्ने छ भने हामीले शाखामार्फत नै पनि सेवा दिन सक्ने छौं । अहिलेको अवस्थालाई मध्यनजर गरेर कोरोना भाइरससम्बन्धी इक्प्युपमेन्ट, मेसिनरी लगायतका सामाग्रीहरु आयात गर्न एलसी खोल्नुपर्‍यो भने सम्बन्धित आफ्नो बैंकमा सम्पर्क गरेर कुनै एउटा शाखा खोलेर सेवा दिन सकिने व्यवस्था मिलाउँछौं भनेका छौं ।

कतिपय ग्राहकहरुले मलाई यो कारोबार गर्नुपर्‍यो । कहाँ कसरी गर्ने भनेर फोन गर्नुभयो भने हामी यहाँनेरको शाखा यतिबजेसम्म खोल्छौं भनेर खबर गर्छौ ।

हाम्रै सनराइज बैंकको कुरा गर्ने हो भने आज हामीले गैरीधाराको शाखा कार्यालय खोलेका छौं । हामीले विदेशी बैंकसँग गर्नुपर्ने कारोबारहरु लगायतका केही महत्वपूर्ण कामका लागि खोलेका हौं ।

हिजो हामीले काठमाडौं बाहिर १५ वटा शाखा खोलेका थियौ । कतिपय ठाउँमा स्थानीय प्रशासनको समन्वयमा खोलेका थियौं । कतिपय ठाउँमा खोल्न सकिने अवस्था पनि छैन । कारोबार पनि एकदमै कम छ ।

हाम्रो अनुभवले के देखायो भने, धेरैजसो पैसा निकाल्नका लागि ग्राहकहरु आउने गर्नुभएको छ । डिजिटल कारोबार गर्दा पैसा पनि लाग्दैन । ४ हजार बढी एटीएमहरु छन् । पैसा निकाल्नकै लागि बैंकसम्म पुग्नुपर्दैन, प्रविधिबाट सेवा लिन सक्नु हनेछ । यो संकट चुनौती भए पनि डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अवसर पनि हो ।

इमर्जेन्सी सेवा कसरी दिने भन्ने व्यवस्था हामीले गरेका छौं । ग्राहकहरुलाई अप्ठेरो पार्नु हुँदैन । कसरी हुन्छ, सेवा दिऔं भन्ने हाम्रो कुरा हो ।

अहिलेसम्म कोरोनाको भ्याक्सिन पनि भेटिएको छैन । न्यूरोर्कमा आक्रामक तरिकारले फैलिएको छ । त्यहाँका मेयरले बुलेट ट्रेनको गतिमा फैलिरहेको छ भन्नुभयो । यसले विश्व अर्थतन्त्रको आकार नै ३ देखि ३.५ प्रतिशतसम्मले घट्ने देखिन्छ । विश्वका ठूला र धेरै उद्योग कलकारखानाहरु बन्द भएका छन् ।

नेपालमै पनि उद्योगहरु चल्न सक्ने अवस्था देखिएको छैन । मजदुरलाई रोजगारको समस्या भयो । सामान वस्तुहरुको उत्पादन बन्द भयो । निजी क्षेत्रमात्रै होइन, सार्वजनिक क्षेत्र सबैलाई असर गरेको छ । अर्थतन्त्र कुन अवस्थामा यसपछि धकेलिन्छ भन्ने कुराको पूरा आँकडा आउनै बाँकी छ ।

यसकारण पनि हाम्रो आग्रह सकेसम्म घरबाट ननिस्की दूरी कायम राखेर हामीले कारोबार गर्नुपर्छ । उच्च सतर्कताका साथ १५ दिन हामीले उच्च सतर्कता अपनायौं भने धेरै समाधान हुन सक्छ भन्न सकिन्छ । भारतले २१ दिन लकडाउन घोषणा गरेको छ । यो भाइरसको संक्रमण १४ दिनमा देखिन सक्छ भन्ने एउटा मान्यता छ ।

यसकारण पनि भारतले उच्च सतर्कता अपनाएको हो । हाम्रो देशमा अहिले १८ गतेसम्मका लागि हो । अहिलेसम्म ३ जनामा संक्रमण भेटियो । पहिले हामीले उच्च सतर्कता अपनाएका थिएनौं । विदेशबाट आएका यात्रुहरुको वास्ता गरेनौं । यसकारण पनि अहिले हामी जोखिममा छौं । हरेकले घरघरमा सेल्फ क्वारेनटाइनमा बसौं । यसमा सबैको कल्याण हुनेछ ।

निजी क्षेत्रलाई कसरी उद्दार गर्ने भन्ने कुरा पनि हुन्छ । कुनै एउटा क्षेत्रमात्रै अछुतो रहने कुरा भएन । होटल ट्राभल एयरलाइन्समात्रै होइन, हरेक क्षेत्रमा यसको असर पर्छ । अर्थतन्त्रमा हामीले फेस नगरेको समस्या फेस गर्दैछौं । भुइँचालो त हामीले खेप्यौ । भुकम्पपछि यो गरौं भन्न सकिने अवस्था थियो । यी दुबै भयानक छन् । भुइँचालो भन्दा पनि यो धेरै खतरनाक देखियो ।

फाइल फोटो

भुइँचालोले हामीलाई घरबाट निकाल्यो, यसले घरभित्रै पसायो । हामीले संयमता अपनाएर घरमै बस्यौं भने हामी रोगबाट बच्न सक्छौं । यति गर्न सक्यौं भने वुहानमा जसरी हामी नियन्त्रण गर्न सक्छौं । अर्थतन्त्रमा त यसै पनि असर परि नै सक्यो । साना व्यवसायहरु डुब्ने खतरामा छन् । व्यक्तिदेखि संघसंस्थासम्मको आम्दानी घट्यो । सरकार तथा नियामक निकायहरुले पनि यसमा ध्यान दिनुपर्छ ।

बुधबारमात्रै वित्तीय क्षेत्र समाधान समितिको बैठकले चैत मसान्तसम्म ऋणको साँवा तथा ब्याज असुल गर्ने कार्य स्थगन गर्ने निर्णय गरेको छ । समयमा बैंकको रकम नउठ्दा समस्या त सिर्जना भइहाल्छ । तर, उद्योगी-व्यवसायीहरुलाई पनि यो बेलामा तिरीहाल भन्नु पनि व्यवहारिक हुँदैन । यो कसैले ल्याएको समस्या होइन । हुनसक्ने र मिल्नेसम्मका राहतका कुराहरु ल्याउनुपर्छ । हरेक क्षेत्रलाई कुनै ठूलो समस्या नपर्ने गरी समस्या समाधान खोज्नुपर्छ ।

हाम्रो बैंक, हाम्रै हातमा छ

हामी १० बजेदेखि अनलाइन मिटिङ बस्यौं  । बैंकिङ प्रविधिको विषयमा सुरक्षाको कुरा आउँछ । फेरि विगतमा नेपालमा घटेका केही घटनाका कारण पनि बैंकिङ प्रविधिमा कुनै सुरक्षा चुनौती छ भन्ने देखिन्छ । हामीले बैठकमा पनि छलफल गर्यौं । अहिले कुनै व्यक्तिले चोरेर भाग्न सकिने अवस्था भने छैन ।

अहिलेको डर भनेको हामीले सफ्टवेयर ह्याकिङ लगायतका समस्या आउन सक्छन् कि भनेर सतर्क रहनुपर्छ । टेक्नोलोजीको दुरूपयोग हुन नदिन हामी सतर्क रहनुपर्छ, र छौं पनि । प्रविधिका जति पनि हाम्रा कनेक्सन प्वाइन्ट छन्, सबै कनेक्सनहरु कत्तिको बलिया छन् भनेर हेर्नुपर्ने हुन्छ ।

बैंकमा कुनै हृयाक गर्ने प्रयास हुन्छ भनेर यसका लागि सुरक्षा कडा छ । कतैबाट कुनै किसिमको प्रयास भयो भने प्राविधिक टिमले तयारी अवस्थामा हुन्छ । सुरक्षा चुनौती त जहाँ पनि हुन्छ नै, तर बैंकिङ क्षेत्रले सतर्कता पनि उच्च अपनाएका हुन्छन् । सनराइजकै कुरा गर्ने हो भने फिनाकल सफ्टवेयरको ताजा भर्सन प्रयोग गरेको छ । अहिले पनि केही साथीहरु अफिसमा हुनुहुन्छ । कुनै पनि काम सक्ने वित्तिकै हामीले स्वीच अफ गर्छौं । जसका कारण जोखिम कम हुन्छ । पहिलेका केही घटनाका आधारमा पनि सबैले सतर्कता अपनाएका कारण कुनै क्षति नहोला । हामी अलर्ट अवस्थामा छौं ।

म ग्राहकहरुलाई चुस्त दुरुस्त अवस्थामा रहेको आस्वास्त गराउन चाहान्छु । लकडाउनको समयमा सिस्टमका कारणले मेरो खातामा भएको रकम तलमाथि हुन्छ कि भनेर डराउनुपर्दैन । निर्विवाद रुपमा ढुक्क भएर बस्नु भए हुन्छ । जुन बैंकको एटिएमबाट पनि पैसा निकाल्दा शुल्क नलाग्ने भएका कारण तपाईहरुको घर नजिक कुनै न कुनै बैंकको एटीएम भइहाल्छ । आफ्नै बैंकको एटीएम खोज्दै टाढा जानु पर्दैन । पैसा निकाल्दा पनि आवश्यता अनुसारको मात्रै निकाले हुन्छ ।

अनावश्यक तरिकाले धेरै पैसा निकाले सञ्चिति राख्नुपर्ने अवस्था पनि छैन । धेरै निकालेर राखे आफैंलाई ब्याज घाटा लाग्छ । यसकारण अनावश्यक पैसा निकालेर नराख्नुस्, बैंकमै सुरक्षित हुन्छ । बरु स्वास्थ्यको धेरै ख्याल राख्नु हुन म सबै हाम्रा ग्राहक तथा सर्वसाधारणहरुलाई अनुरोध गर्न चाहान्छु । हाम्राे बैंक, हाम्रै हातमा छ । माेवाइलबाटै काराेबार गर्न सकिन्छ। यतिबेला महत्वपूर्ण सुरक्षा हाे । हाम्रो सुरक्षा, हाम्रै हातमा छ ।  हातका कारण संक्रमण हुनसक्छ । बेलाबेलामा साबुन पानीले हात धुने, स्यानिटाइजर लगाउने लगायतका सुरक्षा सावधानी अपनाउन सबैमा म अपील गर्न चाहान्छु ।

(रोयल आचार्यसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment