Comments Add Comment

‘रिमोट वर्किङ्ग’ अर्थात घरबाटै गरिने काम

कोरोना प्रकोपले ब्युँताएको बहस : जागिर काम हो कि ठाउँ ?

कोरोना भाइरसको प्रकोप चीनबाट बाहिरिएर जब युरोपमा फैलियो र छिमेकी देश भारतमा पनि भेटिन थाल्यो, तब नेपाली समाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘वर्क फ्रम होम’ शब्दको प्रयोग गरेको देखियो ।

कोरोना मूलतः एकजना संक्रमित व्यक्ति वा उसले छोएका वस्तुहरुबाट अर्को स्वस्थ व्यक्तिमा सर्न सक्ने भएकाले मान्छेवीचको भेटघाट नै नहोस् भन्ने उद्देश्यका साथ कर्मचारीहरुले घरबाटै काम गर्ने र विद्युतीय माध्यमबाट आदान-प्रदान गर्ने अर्थमा यस शब्दको प्रयोग भएको हो ।

हाम्रो सन्र्दभमा कतिपय सूचना प्रविधि क्षेत्रका कार्यलयहरुमा यसको प्रयोग यस अघिदेखि नै भइरहेको भएता पनि, कोरोनाको प्रभावले यसलाई फेरि चर्चामा ल्याएको छ ।

तर, पश्चिमा मुलुकहरुमा भने ‘रिमोट वर्किङ’ का नाममा यो तरिका बषौर्ंदेखि चर्चा र प्रयोगमा रहेको देखिन्छ । ‘रिमोट वर्किङ’ अर्थात कार्यालयमा उपस्थित नभइ, जहाँ छौं, त्यहाँबाट काम गरिने पद्दतिलाई मूलत नयाँ पुस्ताले ज्यादा रुचाएको पाइन्छ ।

सन् २०१३ मा युनिभर्सिटी अफ साउथन क्यालिफोर्निया र लण्डन बिजिनेश स्कुलले एक संस्थासँग मिलेर गरेको सर्वेक्षणका अनुसार नयाँ पुस्ता (३३ वर्ष भन्दा कम उमेर समूहका)ले कार्यक्षेत्रको अवस्था, सूचना तथा काम गर्ने तरिका, करियरको बिकास तथा अवसर र काम/जीवनवीचको सन्तुलनमध्ये काम र जीवनवीचको सन्तुलनलाई ज्यादा प्रथामिकता दिएको देखाएको थियो ।

यही कारण यस पुस्ताले परम्परागत भन्दा भिन्नखालको पेशा अँगाल्ने गरेको अध्ययनको निश्कर्ष थियो । सो अध्ययनले १५ प्रतिशत पुरुष तथा २१ प्रतिशत महिला कर्मचारीहरु, थोरै कार्यालय समयका लागि केही तलव तथा बढुवा अवधिसँग समेत सम्झौता गर्न तयार भएको देखाउँछ ।

गत साल अमेरिकामै भएको ‘रिमोट वर्किङ’ सम्बन्धी एक सर्वेक्षणको प्रतिवेदन प्रकाशित भएको थियो । जसअनुसार झण्डै ६२ प्रतिशत जागिरेले कुनै न कुनै समय टाढैबाट काम गरेको र जम्मा ३८ प्रतिशत जागिरेले मात्र पूर्णकालीन कार्यालयमा उपस्थित भएर काम गर्ने गरेको देखाएको थियो ।

यसरी ‘रिमोट वर्किङ’ गर्नेहरुमा तल्लो पदहरुका भन्दा उपल्ला पदका जागिरेहरु ज्यादा रहेको भेटियो । टाढैबाट काम गर्ने अर्थात ‘रिमोट वर्किङ’ को सुविधा भएकाहरु ज्यादा खुसी देखिने, बढी विश्वासिलो महसुस गर्ने, काम र जीवनको सन्तुलन गर्न सकिरहेका र समयको लचकताका निम्ति सुविधामा कटौतिका लागि समेत राजी भएको सो अध्ययनले पनि देखाएको थियो ।

अझ रोचक कुरा त झण्डै ४२ प्रतिशत ‘रिमोट वर्किङ’ गर्नेहरुले आगामी ५ वर्षमा ‘रिमोट वर्किङ’ को समयावधि बढाउन चाहेको र पूर्णकालीन कार्यालयमा काम गरिरहेकाहरु मध्ये ५१ प्रतिशतले आफूहरु पनि ‘रिमोट वर्किङ’मा सिफ्ट हुन चाहेका बताएका थिए ।

कार्यालयमा उपस्थित भएर काम गर्नेहरुमध्ये ५५ प्रतिशतले आफूहरु काममा खुसी रहेको बताएका थिए ।

कोरोना प्रकोपले ब्युँताएको बहस

वाल स्ट्रिट जर्नलमा उल्लेख भएअनुसार, इन्टरनेशलन बिजिनेश मेसिन्स कर्पोरेशन, जसको नाम ‘रिमोट वर्किङ’ प्रयोग गर्नेहरु मध्येको अग्रस्थानमा आउँथ्यो, उसले सन् २०१७ मा आफ्ना कर्मचारीहरुलाई कार्यलयमै उपस्थित भएर काम गर्न भनेको थियो । उसले आपसी समन्वय र कामको गति बढाउन त्यसो गर्नु परेको जनाएको थियो ।

पछिल्लो कोरोना प्रकोपसँगै उसले पुनः आफ्नो पुरानो तरिका ब्युँताएको र कर्मचारीहरुलाई घरबाटै काम गर्न भनेको फोर्बले उल्लेख गरेको छ ।

अझ कोरोनाका कारण ‘रिमोट वर्किङ’ मा गएका कतिपय कम्पनी, प्रकोपपछिको समय पुरानै अवस्थामा र्फकने छैनन् भनी आँकलन गरिन थालेको छ । घरमै रहेर काम गर्ने सुविधाको अनुभव लिइसकेपछि, कार्यालयमा उपस्थित भएर काम गर्न धेरै तयार नहुन सक्छन् ।

गत साल प्रकाशित दि रिमोट वर्क रिर्पोटले तपाई ‘रिमोट वर्किङ’ लाई प्रयोग गर्न तयार हुनुहुन्न भने आफ्ना प्रतिभावान् कर्मचारी गुमाउन तयार रहनुस् भन्ने चेतावनी दिएको थियो । र, कोरोना प्रकोपले यसलाई थप बलियो बनाउनेछ ।

कम्पनीको उत्पादकत्व र कर्मचारीको उत्तरदायित्वमा ‘रिमोट वर्किङ’ले कमी ल्याउँछ भनी ठान्नेहरुलाई तथ्यांकले गलत सावित गरिसकेको छ ।

‘रिमोट वर्किङ’ र परिवारमैत्री नीति

सन् २०१५ मा न्युयोर्क टाइम्समा प्रकाशित एक लेखले व्यापारिक दुनियाँको उपल्लो पदहरुमा महिलाको उपस्थिति न्यून रहनु परिवारमैत्री नीतिहरुको अभावको उपज भएको आंैल्याएको थियो ।

तर, धेरै लामो समयसम्म परिवार मैत्री नीतिलाई खासमा महिलाहरुका लागि भन्ने गरी बुझियो । र, कतिपय परिवारमैत्री नीतिहरुले अनपेक्षित नतिजा दिए ।

चिली सरकारले कामकाजी आमाहरुलाई शिशु स्याहार सुविधा उपलब्ध गराउने नीति तयार गर्‍यो र नतिजास्वरुप महिलाहरुको तलब कम हुन थाल्यो ।

स्पेनमा साना बच्चाका अभिभावकलाई पार्ट टाइम काम गर्ने अधिकार दियो, जसले महिलाहरुका लागि पूर्णकालीन स्थायी रोजगारका अवसर नै घटाइदियो । यस्तै युरोपमा सुत्केरी बिदामा उदारताको नतिजा म्यानेजर तथा उपल्ला शक्तिशाली पदहरुमा महिलाको उपस्थितिमा कमी देखियो ।

अमेरिकमा परिवार तथा उपचार बिदासम्बन्धी कानुन बनेपछि महिलाहरु रोजगारीमा निरन्तरता ५ प्रतिशतले बढेको तर बढुवा भने ८ प्रतिशतले घटेको देखिन्छ ।

सुरुवातमा ‘रिमोट वर्किङ’ महिला मैत्री भनी व्याख्या गरिएको भएता पनि यसप्रतिको आकर्षण महिला-पुरुषमा उत्तिकै भएको देखिन्छ । र, खास गरी पारिवारिक जिम्मेवारी बहन गर्ने, उनीहरुलाई समय दिने, आफ्ना अतिरिक्त रुचिका विषयहरुमा समय दिन सक्ने हिसाबले नयाँ पुस्ता आफ्नो जागिरको समय लचिलो होस् भन्ने चाहन्छन् ।

निश्चित छ, यसले घर र बालबच्चाको अतिरिक्त जिम्मेवारी बहन गर्नुपर्ने अभिभावकहरु (महिला-पुरुष) दुवैलाई सजिलो गराउँछ ।

जागिर काम हो कि ठाँउ ?

हाम्रो सन्दर्भमा भने जागिर, काम कम र ठाउँ ज्यादाजस्तो गरी बुझिन्छ । जागिर कहाँ छ भन्ने कुराले जागिरमा के गरिन्छ भन्ने भन्दा ज्यादा महत्व राख्छ । यो पनि कार्यालयमै उपस्थित भएर काम गर्नुपर्ने हाम्रो परम्परागत पद्दतिको उपज हो ।

मूलतः सरकारी, सार्वजनिक संस्थान र कतिपय निजी कार्यालयहरुमा कहिलेकाँही यस्तो समय आउँछ, जहाँ घण्टौं यात्रा गरेर कार्यालयचाँहि पुगिन्छ तर गर्ने कामचाँहि केही हुन्न । कार्यालयमा खास काम नहुँदा पनि घण्टौं समय लगाएर कार्यालय नै पुग्नुपर्ने, घरमै बसेर काम सक्न लाग्ने जति समय यात्रा गरेर कार्यलयमै पुगेर काम गर्नुपर्ने हाम्रो पद्दतिबारे अब सोच्नुपर्ने बेला भयो ।

अझ वर्षको धेरैजसो समय कार्यालयमा ‘हाई काढेर’ दिन बिताउने र केही समय बिहान, साँझ, रातमा समेत घरमै काम गरेर जिम्मेवारी फत्ते गर्ने चलन मूलतः सरकारी कार्यालयहरुमा देख्न सकिन्छ ।

कार्यालयमा कामै नहुँदा पनि १० बजे कार्यालय पुग्नुपर्ने, दिनैभरि कार्यालयमा बस्नुपर्ने र साँझमात्रै घर फिर्नुपर्ने हाम्रो पद्दतिले, एक त कर्मचारीको समयको उपयोग भएको देखिन्न भने अर्कोतर्फ व्यक्तिगत जीवनका अन्य अवसरहरुबाट बञ्चित रहनुपरेको देखिन्छ ।

तसर्थ ‘रिमोट वर्किङ’ ले मूलतः व्यक्तिलाई आफ्नो काम सँगसँगै आफ्ना रुचिहरु, पारिवारिक जिम्मेवारी, आवश्यकता तथा सामाजिक उत्तरदायित्वहरु पूरा गर्ने सन्दर्भमा समेत पर्याप्त अवसर दिन्छ ।

साथै, लामो यात्रा, जाम, प्रदूषण आदि झेलेर कार्यालयमा पुगेर गर्ने काममा भन्दा, आफू रहेकै ठाँउमा आफ्नो सुविधाको समयमा गर्ने काममा बढ्ता केन्द्रित भइने र परिणाम पनि राम्रो आउने अध्ययनले देखाएको छ ।

अब विश्वव्यापी बन्दै गरेको ‘रिमोट वर्किङ’ निजी क्षेत्रमा विस्तार र सरकारी क्षेत्रमा समेत सुरुवात गर्नु उचित हुनेछ । १० देखि ५ बजेको कार्यालय समय तोक्ने, त्यसबीचमा कार्यालयमा भएको नभएको छड्के जाँच गर्ने, कार्यालयमा हाजिरीका आधारमा प्रोत्साहत र कारबाही गर्ने पद्दति अब पुरानो भइसक्यो ।

तसर्थ, कामको प्रकृति अनुसार कार्यालयमै उपस्थित भएर गर्नुपर्ने वा घरबाटै गर्न सकिने कामहरु छुटाउन सके नयाँ पुस्ताका काबिल व्यक्तिहरुको आकर्षण बढ्नुका साथै कार्य सम्पादनसमेत प्रभावकारी हुन सक्नेतर्फ सोच्ने हो कि ?

(धिताल जलस्रोत इन्जिनियर हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment