Comments Add Comment

कहाँ पुग्यो कोरोना भाइरसविरुद्ध औषधिको अनुसन्धान ?

विश्वभरी कोरोना भाइरसको महामारी सुरु भएको झण्डै तीन महिना पुगेको छ । विश्वभर स्वास्थ्य आपतकाल घोषणा भएको अढाई महिना र विश्वभरी महामारीको रुपमा यसलाई परिभाषित गरिएको समेत तीन साता हुन लागिसकेको छ । तर, अहिलेसम्म पनि विश्वभरका वैज्ञानिकहरु, औषधि उत्पादक संस्थाहरु र अन्य चिकित्सकहरु समेत यसको उपचारको खोजी गर्न असमर्थ भएका छन् ।

द गार्जियनमा प्रकाशित रिपोर्ट अनुसार अहिले करिब ३५ कम्पनीहरु र शैक्षिक संस्थाहरूले कोरोना बिरुद्धको खोपको खोजी गरिरहेका छन् । त्यस्तो खोप सिर्जना गर्ने प्रयास जारी राखेका मध्ये चार वटा संस्थाले पहिले नै जनावरहरूमा यसको परीक्षण गरिसकेका छन् । यी मध्ये पहिलो बोस्टनमा आधारित बायोटेक फर्म मोडर्नाले छिट्टै यो खोपको मानिसहरुमा समेत परीक्षण गर्ने बताएको छ ।

अर्कोतर्फ अघिल्लो सोमबारदेखि अर्थात् मार्च १६ देखि नयाँ कोरोनाभाइरसको लागि गरिएको पहिलो प्रयोगात्मक भ्याक्सिन परीक्षणको सुरुवात भएको न्यूयोर्क टाइम्सले जनाएको छ । यो परीक्षण अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सन डिजिजले सुरु गरेको हो ।

कोरोना भाइरसको कारण मानिसहरुको मृत्यु हुन थालेको र यसले तीब्र रुपमा मानिसहरुमा फैलिन थालेको झण्डै साढे २ महिना पछि यसको भ्याक्सिन परीक्षण सुरु भएको हो । यस्तै परीक्षणहरु चीनमा र अरु देशहरुमा समेत चलिरहेको छ ।

केही दिन अघिमात्रै चीनले पनि कोरोना बिरुद्धको खोपको परीक्षण सुरु गरेको समाचार सार्वजनिक भएको छ । न्युयोर्क टाइम्सका अनुसार यो परीक्षणको मुख्य लक्ष्य भनेको खोप सुरक्षित छ कि छैन भनेर पत्ता लगाउनु मात्रै हो।

यदि यो खोप सुरक्षित छ भन्ने यकीन भएपछि मात्रै यसले कोरोना रोक्नको लागि कत्तिको काम गर्छ भन्ने परीक्षण छुट्टै हुनेछ । यो परीक्षणको रेकर्ड तीब्र गतिमा सुरू गरिएको थियो,” संस्थानका निर्देशक डा. एन्थोनी फौसीद्वारा गत साता जारी गरिएको विज्ञप्तीमा भनिएको थियो ।

सम्भावित खोपको यति तीब्र रुपमा भएको विकास अभूतपूर्व हो र यो सम्भव थियो । किनभने अन्वेषकहरूले कोरोना भाइरस जस्तै किसिमका रोगहरुको सम्भावित समस्यालाई सार्स भाइरस महामारी पछिदेखि नै मनन् गर्दै त्यस बिरुद्धको औषधिको अन्वेषण गरिरहेका थिए ।

जानकारहरुका अनुसार द्रुत प्रगतिका बाबजुद यो खोप भाइरस बिरूद्ध सुरक्षित र प्रभावकारी साबित भएपनि यो कम्तिमा एक वर्षसम्म बजारमा उपलब्ध हुनेछैन। कोभिड १९ कोरोना भाइरस महामारी स्वास्थ्य सेवा प्रदायकहरुको लागि एक अद्वितीय चुनौतीको रुपमा खडा भएको छ। यस रोगको लागि अहिलेसम्म कुनैपनि निश्चित उपचार छैन । न त कुनै खोपको नै विकास भइसकेको छ ।

त्यसैले विश्वका ठूला ठूला औषधि कम्पनी, विश्वविद्यालय र बायोटेक स्टार्टअप कम्पनीहरू समेत हट सिटमा बसेर यसको उपचारको खोजी गरिरहेका छन् । सन् २००३ मा सार्स प्रकोपपछि आएको अर्को घातक कोरोनाभाइरसलाई नियन्त्रण गर्ने औषधिको खोजी भइरहेको भएपनि तीन महिनासम्मको प्रयासले कुनै निचोड निकाल्न नसकेका कारण धेरैमा भय र निराशा समेत छाउने गरेको छ ।

जब कोरोनाभाइरस मानिसहरूमा संक्रमित हुनेगर्छ । त्यसपछि यसले सामान्यतया श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्न सुरु गर्छ, जुन मानिसहरुलाई घातक हुनेगर्छ । सामान्यतया जुनसुकै खोपको पनि विकास गर्न १० देखि १५ वर्ष लाग्ने गर्छ। सुखद् कुरा के छ भने प्रविधिको विकाससँगै खोपहरु तयार गर्न लाग्ने समय पनि छिटो हुँदैछ ।

नयाँ औषधिको विकास र यसको उपचारको लागि समेत धेरै समय लाग्नेगर्छ । कुनैपनि औषधि खोजी गरिसकेपछि त्यसलाई बजारमा पठाउनका लागि कम्तिमा एक दशक लाग्ने गर्छ । तर, अहिले प्रविधिको विकाससँगै यो प्रकृया समेत केही हदसम्म छिटो हुनसक्छ ।

नयाँ प्रकारका एन्टिवाइरल ड्रग्स र इम्युनोथेरापी उपचारले धेरै किसिमका बिरामीहरुको उपचार गर्न सकिने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । यसको मतलब यो हो कि यस्ता उपचारहरु पहिलेदेखि नै विकासको पाइपलाईनमा थिए ।

पहिलेदेखि नै विकास गर्दै आइएका यही औषधिहरुले नै कोरोना बिरुद्ध समेत लड्न सक्छ कि भन्ने बैज्ञानिकहरुको विश्वास सहित यसलाई परीक्षणमा लैजान लागिएको हो । यदि यही औषधि कोरोना बिरुद्ध लड्न सक्षम भयो भने पनि यसको औषधि बजारमा आउन भने केही समय लाग्ने बैज्ञानिकहरु बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्नाले सबैको आँखा खोप निर्माण गर्ने कम्पनीको अनुसन्धात तर्फ छ । उनीहरुले दिने सुखद् नतीजालाई अहिले विश्वले कुरेर बसिरहेको छ । किनकि खोपले मात्र यस्ता महामारीमा बिरामी हुनबाट रोक्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment