Comments Add Comment

‘मौकामा हिरा फोर्ने’ कुबेरहरु कहाँ होलान् ?

काठमाडौंबाट मालबहाक कन्टेनरभित्र कोचिएर ५२ जना सर्वसाधारण वीरगञ्ज पुगे । वर्तमान संवेदनशील परिस्थितिको अवज्ञा गरेको निहुँमा उनीहरुलाई प्रहरीले पक्राउ गर्‍याे। अहिलेको अवस्थामा त्यसरी यात्रा गर्नु एक गल्ती थियो । तर, यो गल्ती उनीहरुले नजानेर वा जानीबुझी गरेका थिए होलान् ?

सम्भवतः उनीहरुले शहर यसकारण छाडेका थिए कि, गाउँमा पुगेपछि ऐंचोपैंचो गरेर भएपनि प्राण धान्न सकिनेछ ।

भारतमा मजदुरी गरिरहेकाहरु सुदूरपश्चिमेली सर्वसाधारण हतार–हतार घर फर्कन चाहे । तर, उनीहरुलाई भारतीय प्रहरीद्वारा बनवासा जंगलबाट धपाइए । घण्टौंसम्म उनीहरु त्यही अलपत्र परे । अटेर गरेर वा अबुझ भएर उनीहरुले सरकारको आह्वान उल्लघंन गरेका थिए होलान् ?

सम्भवतः रोजीरोटीको मेलोमेसो गुम्ने स्थितिमा पुगेपछि उनीहरु गाउँघरमै बनिबुतो गरेर पेट पाल्ने आशाले फर्किएका थिए ।

कोरोनाको जोखिम एकातिर छ । साथसाथै यसले जन–जीविकामा ठूलो उथलपुथल ल्याइदिएको छ । सरकारले आह्वान गरेको छ, ‘घरभित्रै बस्नुहोस् । घरभित्र सुरक्षा छ ।’ तर, जगेडा खानेकुरा नहुनेहरु घरभित्र पनि सुरक्षित छैनन् । यस्ता ठूला जमात छन्, जो बिहान कमाएर साँझको छाक टार्छन् । दैनिक ज्यालादारी नगरे भोकै रात कटाउनुपर्ने बाध्यता छ ।

हामीकहाँ श्रमजीविहरु हरेक बिहान अभाव र दुःख लिएर ब्युँझन्छन् । दिनभर पसिना बेच्छन् । साँझ त्यसैबाट उनीहरुको छाक टर्छ ।

यो पनि पढ्नुहोस राष्ट्रकवि र शताब्दीपुरुषको अपील : जनता भान्साघर चलाऊ

एक दिन काम नपाउँदा वा श्रम गर्ने ठाउँ नपाउँदा उनीहरुको चुल्हो बल्दैन । आफू मात्र होइन, लालाबाला र रोगी बुबाआमा समेत भोकै सुत्नुपर्ने अवस्था हुन्छ । उनीहरु कोरोनाले जति भयभित छन् । त्योभन्दा बढी त साँझ–बिहान छाक टार्ने समस्याले पिरोलिएका छन् । घरबाहिर निस्कौं, रोगले मरिने । घरभित्रै बसौं, भोकले मरिन जटिलता छ ।

त्यही जटिलताले लखेट्दै उनीहरुलाई देश फर्काएको हो । गाउँ फर्काएको हो । पटमूर्ख भएर होइन, असमझदार भएर होइन ।

कोरोना नियन्त्रणको उपाय खोजिरहँदा, सुरक्षात्मक अवस्थाबारे सचेत गराईरहदाँ, संभावित जोखिमको प्रतिरक्षा गर्ने तयारी गरिरहँदा छुटेको एउटा पाटो हो, गरिखानेको दुरावस्था ।

शहरमा दैनिक ज्यालादारी गरेर जीविका धान्नेहरु यतिबेला कसरी आफ्नो भोक मेटिरहेका होलान् ? कसरी बालबच्चाको भोक शान्त गरिरहेका होलान् ? कसरी दाल–चामल, ग्याँस आदिको जोहो गरिरहेका होलान् ? औषधि–उपचार कसरी गरिरहेका होलान् ?

न उनीहरु गाउँ फर्कन पाएका छन्, न शहरमै आयआर्जन । कति विरक्त लाग्दो होला उनीहरुको दिनचर्या ?

भारतका कतिपय स्थानमा यस्तै समस्यामा परेकाहरुलाई नि:शुल्क भोजनको व्यवस्था गर्न थालिएछ । तर, हामीकहाँ यस्ता कुबेरहरु देखा परेका छैनन्, जो मौकामा हिरा फोर्ने हिम्मत गर्छन् ।

महाभारतको कथामा जब पाँच पाण्डव आर्थिक समस्यामा पर्छन्, कुबेरसँग ऋण माग्ने सल्लाह हुन्छ । कुबेर त्यसताकाका सबैभन्दा धन–ऐश्वर्यले पुगिसरी अाएका व्यक्ति थिए । सल्लाह अनुसार जसै भीम कुबेरकहाँ पुग्छन्, उनले उदेगलाग्दो दृश्य देख्छन् ।

कुबेर त आँगनमा पोखिएका तोरीका गेड एक–एक गर्दै टिपिरहेका छन् । त्यतीका तोरीका गेडा कहिले टिपिसक्ने ? भीमको मनमा यस्तो प्रश्न उठ्नु स्वभाविक हो कि, ‘कुबेर धनाड्य मात्र होइन, महा–कञ्जुस पनि हुन् ।’ उनले मनमनै निर्णय गर्छन्, यस्ता कञ्जसले पक्कैपनि ऋण दिनेछैन ।

तर, भीमले मागे बमोजिम ऋण दिन कतिपनि कञ्जुस्याँई गर्दैनन् कुबेर । धनमालले भरिएको रथ लिएर हिँड्ने क्रममा रथको पाङ्ग्रा जमिनमा भाँसिन पुग्छ । रथ मरिगए अगाडि बढ्दैन । त्यही बखत कुबेरले रथको पाङ्ग्रामा ति सबै तोरीका गेडा पोखाउँछन्, जो उनले एक–एक गेडा बटुलेका थिए । तब पाङ्ग्रा गुड्छ । भीमको मनमा भने अर्कै प्रश्न गुड्न थाल्छ, त्यती दुःखले टिपेको तोरीका दाना किन यति बेपर्वाहसाथ पोखाए ?

कुबेरले भीमको जिज्ञासा शान्त बनाइदिन्छन्, ‘मौकामा हिरा फोर्नु, बेमौकामा कौडी पनि नछाड्नु ।’

यतिबेला समाजलाई खाँचो छ, मनकारी कुबेरहरुको । आफ्नो श्रम, मेहनत, सीपले आर्जन गरेको धनले हजारौं–लाखौंको भोक एवं अभाव मेट्ने । तर, पृथ्वी नै संकटमा परेको यो घडीमा हाम्रा कुबेरहरुको मन किन पग्लिदैन ? गरिब, असाह्य, अशक्त, रोगीहरुको खातिर हार्दिकतासाथ सहयोग गर्नेहरु किन निस्किएनन् ?

गाउँ–गाउँबाट मान्छे ओसारेर आमसभा गराउने, आन्दोलनमा भिड उतार्ने ‘राजनीतिक दल र उनका कार्यकर्ता’, ‘हामी राष्ट्रका गहाना हौं’ भन्दै फुर्ती लगाउने कलाकर्मीहरु यतिबेला किन निमुखा एवं असाह्यको आवाज उठाउन सक्दैनन् ? धन र मन हुनेहरुलाई ब्युँझ्याउनका लागि उनीहरुले रचनात्मक भूमिका खेल्न सक्दैनन् ?

यो पनि पढ्नुहोस ज्यालादारी श्रमिकका लागि राहत प्याकेज ल्याऊ : देउवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment