Comments Add Comment

महावीर पुनले बनाइरहेको पीपीई कति भरपर्दो ?

डा. रवीन्द्र समिर भन्छन् : पीपीईमा खेलाँची नगरौं

१४ चैत, काठमाडौं । कोराना संक्रमित वा आशंकितहरुको परीक्षण र उपचार गर्ने स्वास्थ्यकर्मीका लागि नभई नहुने सुरक्षाकवच हो, पीपीई अर्थात् पर्सनल प्रोटेक्टिटभ इक्वीपमेन्ट । कोरोनाको त्रास बढेसँगै अहिले नेपालमा पीपीईको माग ह्वात्तै बढेको छ र अभाव सिर्जना भएको छ ।

पीपीईको अभाव सिर्जना भएसँगै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले.स्वदेशमै यसको उत्पादनको पहलकदमी लियो । केन्द्रले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत गराएर पीपीई उत्पादन सुरु गरिसकेको छ ।

तर, स्वास्थ्य क्षेत्रका केही जानकारहरुले भने नेपालमा गुणस्तरीय पीपीई उत्पादन गर्ने प्रविधि र जनशक्ति नभएको बताएका छन् । सबै मापदण्ड नपुगेको पीपीई बनाएर प्रयोगमा ल्याउँदा स्वास्थ्यकर्मीहरुलाई संक्रमणको जोखिम हुनसक्ने उनीहरुले औंल्याएका छन् ।

कोरोना भाइरसको विषयमा लगातार सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सचेतना जगाइरहेका डा. रवीन्द्र समिर नेपालभित्रै पीपीई उत्पादनको प्रयास हुनु सुखद् भएपनि यसको गुणस्तर कायम गर्न भने सम्भव नरहेको बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले आविष्कार केन्द्र लगायत केही अस्पतालहरुले बनाइरहेको पीपीई बढी जोखिमको ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीले प्रयोग गर्न नहुने बताए । कम जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीले भने यस्ता पीपीई प्रयोग गर्नसक्ने उनको तर्क छ ।

पीपीईका विषयमा डा. समिरको भनाई जस्ताको त्यस्तैः

पीपीई एउटा गाउन वा पोशाक मात्र होइन । यो एउटा उपकरण हो । स्वास्थ्यकर्मीहरुका लागि अत्यन्तै संवेदनशील चिज पनि हो यो ।

कोरोना भाइरसको संक्रमणसँगै नेपालका स्वास्थ्य केन्द्रहरुमा पीपीईको अभाव भएको छ । अभाव हुनु स्वभाविक पनि हो, किनकी अहिले यसको माग उच्च छ । तर, यो अभाव पूर्ति गर्ने नाममा विभिन्न टेलर र गार्मेन्टहरुले जथाभावी रुपमा पीपीई भन्दै रेनकोटको कपडा सिलाइरहेका छन् । कतिपयले ‘यहाँ पीपीई सिलाइन्छ’ भनेर विज्ञापन नै गरेको पनि पाइएको छ । तर, पीपीई बनाउन त्यति सजिलो छैन ।

कोरोना भाइरसको आकार ४.५ नानोग्रामभन्दा सानो हुन्छ । त्यसलाई खुल्ला आँखाले देख्न सकिँदैन । त्यसैले यति सानो भाइरस पनि छिर्न नसक्ने गरी सिलाई गर्नु नै पीपीर्ईको सबैभन्दा महत्वपूर्ण पक्ष हो । यस्तो सिलाईका लागि आवश्यक प्रविधि र जनशक्ति नेपालमा छैन । सामान्य सियो धागोको सिलाईमा जुन मसिना प्वालहरु हुन्छ, त्यसबाट भाइरस छिर्न सक्ने भएकाले पूर्ण सुरक्षित मानिँदैन ।

अर्को भाइरस छिर्न सक्ने ठाउँ भनेको चेनमा हुने मसिना छिद्रहरु पनि हुन् । गुणस्तरीय पीपीईमा यस्तो चेनलाई पनि कुनै छिद्र नरहने गरी एयर टाइट गरिएको हुन्छ । पीपीईमा विभिन्न बस्तुहरु जडान गरिएको हुन्छ । मुख्य त गाउन नै हो । यो कपडा मात्र नभएर सिन्थेटिक टाइपको हुन्छ । अर्को चाहिँ हेड क्याप हुन्छ, जुन गाउनकै कपडाले बनाइन्छ । अत्यन्त संवेदनशील अवस्थामा हेलमेट पनि प्रयोग गर्न सकिन्छ । तर, त्यो हामीलाई आवश्यक छैन ।

हेड क्यापसँगै भाइजर र गगल्स हुन्छ । गगल्समा एयर टाइट हुनुपर्छ, ताकि राम्ररी देखिनु पनि पर्‍यो र कुनै स्पेस पनि हुनुभएन । किनकी कोरोना भाइरस आँखाबाट पनि सर्नसक्छ ।

त्यसपछि एन ९५ मास्क चाहियो । श्वासप्रश्वासको सहजताका लागि यसमा रेस्पिरेटर जोड्नुपर्ने हुन्छ । यसैगरी हेड क्यापले दुबै कानलाई ढपक्क ढाक्ने भएकाले सुनाईमा समस्या हुन्छ । यसका लागि ‘इयर एड’ पनि आवश्यक पर्छ ।

त्यसपछि गुणस्तरीय पञ्जा आवश्यक हुन्छ । अनि जुत्ता वा चप्पलको सोल पनि भाइरस संक्रमण नहुने खालको हुनुपर्छ । यो सबै आवश्यकताहरु पूरा भएपछि बल्ल एउटा सुरक्षित पीपीई तयार हुन्छ । जसले भाइरसको संक्रमणबाट जोगाउँछ । नेपालमा अहिले यसको उत्पादन सम्भव नै छैन । त्यसैले जुनसुकै उपायबाट पनि विदेशबाटै ल्याउनुपर्ने हुन्छ । हामीले अन्य देशहरुसँग सहयोग माग्न सक्छौं ।

बाहिर निश्चित मापदण्डका पीपीई हुन्छन् । सस्तो खालका पनि पाइन्छन् । चीनले सस्तोमा उत्पादन गर्छ । तर, यतिबेला सस्तो होइन गुणस्तरीय नै खोज्नुपर्छ । अहिले ट्याक्स फ्री हुने भएकाले एक सय डलरसम्ममा गुणस्तरीय पीपीई पाउन सकिन्छ ।

यूएसए, यूके, चाइना जस्ता देशमा नेसनल इन्स्टिच्युट अफ अकुपेसनल हेल्थ भन्ने संस्था हुन्छ । यस्तो संस्थाले अनुसन्धान गरेर पीपीई डिजाइन गर्छन् । पीपी बनाउन छुट्टै काराखाना हुन्छ । त्यसले सबै सेट बनाएर सिल प्याक गर्छ ।

पीपीईलाई स्टोर गर्ने पनि छुट्टै मापदण्डहरु हुन्छन् । ओसार्ने पनि मापदण्ड हुन्छन् । ब्राण्डेड पीपीईमा वारेन्टी हुन्छ । यसको इन्स्योरेन्स गरेको हुन्छ । भोलि त्योबाट भाइरस छि¥यो भने कम्पनीले क्षतिपूर्ति तिर्नुपर्छ ।

पीपीई प्रयोग गर्न सजिलो पनि छैन । वास्तवमा भन्ने हो भने यो लगाएर काम गर्नु निकै कष्टप्रद हुन्छ । असिना पसिना भइन्छ । एसी नभएको ठाउँमा काम गर्दा त झनै उकुसमुकुस हुन्छ ।

सुरु–सुरुमा त पीपीई लगाउँदा सास फेर्न समेत कठिन हुन्छ । यस विषयमा बिस्तारै बानी पर्ने गर्छ । परिने हो । तरपनि एउटा डाक्टरले लगातार १८ घन्टासम्म काम गर्नुपर्ने अवस्था छ । पीपीई लगाएर लामो समय काम गर्ने डाक्टरलाई एन्जाइटीको समस्या देखिने सम्भावना हुन्छ । अत्यधिक इरिटेसन भएर बिरामीलाई रुखो व्यवहार गर्ने पनि हुन्छ ।

अर्को समस्या के भने पीपीई लगाएको व्यक्तिलाई दिसा–पिसाब लाग्दा वा खाना खाँदा यसलाई पुरै फुकाल्नुपर्छ । फेरि त्यसलाई सोही दिन प्रयोग गर्न मिल्दैन । पीपीईलाई संक्रमणमुक्त बनाउन खाना खाँदा वा शौच गर्दा भिन्दै ठाउँमा राखेर अर्को सेट लगाउनुपर्छ । दिसा–पिसाब गरेपछि वा खाना खाएपछि राम्ररी साबुनपानीले हात धोएर, स्यानिटाइजर प्रयोग गरेर मात्रै नयाँ पीपीई लगाउनुपर्छ । त्यसैले एकजनाकै लागि कम्तिमा ३ वटा सेट पीपीई चाहिन्छ ।

हालै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले पीपीई बनाउनका लागि नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति पाएको कुरा आएको छ । यसैगरी, पाटन अस्पताल, धुलिखेल अस्पताल लगायतले पनि आफैंले पीपीई बनाइरहेका छन् ।

संकटको बेला यस्तो खालको पहलकदमी लिनु राम्रो हो । तर, उहाँहरुले बनाइरहेको पीपीई पूर्ण सुरक्षित प्रकारको हुन्छ भनेर निश्चिन्त हुने अवस्था चाहिँ छैन ।

राष्ट्रिय अविष्कार केन्द्रले मेडिकल काउन्सिलमा नमूना पठाएर स्वीकृत भएपछि विभिन्न गार्मेन्टमा ४–५ सय पिस सिलाउन सुरु गरेको छ । मेरो विचारमा उसले यसरी सिलाउनुअघि नेपालकै बायोमेडिकल इन्जिनियर र भाइरोलोजिस्टहरुलाई देखाउनुपथ्र्यो । उनीहरुको सुपरभिजनमा बनाएर उनीहरुले हुन्छ भनेपछि मात्रै मेडिकल काउन्सिलमा स्वीकृतिका लागि पठाएको भए राम्रो हुन्थ्यो । उहाँहरुले आफूले सक्दो गुणस्तर त कायम गर्नुहोला । तर, भोलि त्यसमा केही कमी–कमजोरी भएर भाइरस छि¥यो भने ठूलो जोखिमको अवस्था आउनसक्छ ।

मेरो विचारमा आविष्कार केन्द्र, पाटन अस्पताल, धुलिखेल अस्पतालले बनाएका पीपीईहरु अत्यधिक संवेदनशील र जोखिमका स्थानमा चाहिँ प्रयोगमा ल्याउनुहुँदैन । कोरोनाका बिरामी वा कोरोनाको आशंका लागेका बिरामीहरुलाई हेर्नुपर्ने डाक्टरलाई जसरी भएपनि ब्रान्डेड पीपीई नै उपलब्ध गराउनुपर्छ । उहाँहरुले बनाएका पीपीई चाहिँ अन्य अस्पतालका स्वास्थ्यकर्मीका लागि काम लाग्न सक्छन्, जसले सामान्य बिरामीहरु हेर्छन् ।

अहिले गाउँ–गाउँबाट पीपीईका लागि माग आइरहेका छन् । सरकारले सबैतिर ब्रान्डेड पीपीई उपलब्ध गराउन नसक्ला । उनीहरुलाई केही सामग्रीहरु उपलब्ध गराउनुपर्छ । एउटा एन ९४ मास्क, गगल्स/भाइजर, पञ्जा र हरियो गाउनको सेट उनीहरुलाई पठाउन सकिन्छ । यसका लागि धेरै खर्च पनि लाग्दैन । यत्ति भयो भने पनि उनीहरुले सुरक्षित अनुभव गर्न सक्छन् ।

र, अन्त्यमा पीपीईका नाममा टेलरहरुले आफूखुशी गाउन बनाउने क्रमलाई भने निरुत्साहित गर्नैपर्छ । किनकी यसले अर्को जोखिम निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment