Comments Add Comment

लकडाउनको समयमा इन्टरनेट प्रयोग ह्वात्तै बढ्यो : वर्ल्ड लिंक

१४ चैत, काठमाडौं । कोभिड १९ को महामारी फैलिरहँदा नेपालमा भएको लकडाउनले लाखौं मानिसहरु घर भित्र बस्न बाध्य हुनुका साथै धेरैले आफ्नो काम घरबाटै इन्टरनेटको माध्यमबाट गरिरहेका छन् ।

यसको परिणाम स्वरुप इन्टरनेट प्रदायक कम्पनीहरुको इन्टरनेट प्रयोगमा बृद्धि भएको छ । यस अनुरुप वर्ल्डलिंकको प्रयोग दर ५० प्रतिशतले बृद्धि भएको कम्पनीले जनाएको छ ।

लकडाउनको समयमा विश्वभर सबै देशहरुमा इन्टरनेटको प्रयोग दर बढिरहेकोमा नेपालमा पनि यसको प्रयोग धेरै भएको सेवा प्रदायकहरुले बताएका छन् । भारतमा गुगल, फेसबुक र नेटफि्लक्स जस्ता अग्रणी बहुराष्ट्रिय इन्टरनेट सेवा प्रदायकहरुले सेलुलर नेटवर्कमा एचडी स्टि्रमिङ सेवा प्रयोग गर्न रोक लगाउने निर्णय गरेको छ ।

बेलायतमा पनि टेलिकम सेवा प्रदायकहरुले ईन्टरनेटको प्रयोग बृद्धिसँगै ग्राहकहरुलाई सहयोग पुर्‍याउँदै आएका छन् । यस्तो किसिमको इन्टरनेट प्रयोगमा भएको बृद्धिले व्याण्डविथमा प्रभाव पारेको मात्र नभई इन्टरनेट गति र प्रदर्शनमा समेत असर परेको छ । यस क्रममा प्रदायक र प्रयोगकर्ता दुबै तर्फबाट ध्यान दिनुपर्ने अवस्था सिर्जना भएको छ ।

महामारीले आक्रान्त भएको घडीमा ईन्टरनेट प्रदायकको नाताले आफ्ना ग्राहकवर्गहरुलाई ईन्टरनेटको राम्रो प्रबन्ध मिलाउनको लागि कम्पनी अहोरात्र खटिरहेको र ग्राहकहरुको भरपर्दो सेवाको सुनिश्चित गरी भविष्यमा अझ बढ्न सक्ने प्रयोगलाई ध्यानमा राखी भएका संरचनालाई उचित तवरले प्रयोगमा ल्याउनुका साथै थप क्षमता बृद्धि गर्न लागिएको कुरा वर्ल्ड लिंकका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले अनलाइनखबरलाई बताए ।

विपद्को घडीमा ईन्टरनेटले सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ । यस समयमा घरमै बसेर आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहन, महामारी सम्बन्धी जानकारी लिन, घरबाटै आफ्ना कामहरु सम्पादन गर्न, बैंक तथा वित्तीय संस्थाहरुका कामहरु विश्वसनीय तरिकाले सञ्चालन गर्न, सयौं शैक्षिक संस्थाहरुले डिजिटल कक्षाहरु सञ्चालन गर्न लगायत अस्पतालमा स्वास्थ्यकर्मीहरुले मेडिकल टेस्ट रिपोर्ट तयार गर्न जस्ता गहन कार्यका लागि सदाका दिनहरुमाभन्दा पनि बढी भरपर्दो तवरले इन्टरनेट सेवा पाउनु अत्यावश्यक छ ।

यस्तो समयमा ईन्टरनेट बिना कार्य असम्भव भएका ग्राहकहरुका लागि भरपर्दो सेवा प्रदान गर्नु इन्टरनेट प्रदायकको मुख्य कर्तव्य रहन्छ । दैनिक इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले व्यान्डविथमा आएको समस्या समाधानका लागि आवश्यक समयमा मात्र वाईफाई खोल्नुका साथै अनलाइन गेम खेल्ने, धेरै डाटा खपत गर्ने फाइलहरु अपलोड गर्ने, भिडियो हेर्ने जस्ता कार्यहरु रातको ११ बजेबाट बिहान १० बजेसम्म मात्र सञ्चालन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताएको छ ।

राष्ट्रले आजसम्म बेहोर्न नपरेको चुनौतीपूर्ण घटनाको सामना गरिरहेको विषम परिस्थितिमा इन्टरनेटको प्रयोगबाट मात्र कार्य सम्पादन गर्न सकिने गहन प्रकृतिका कार्यहरुका लागि इन्टरनेट प्रयोगमा सहजीकरण गरी सरकारलाई सघाउनु हामी जस्ता कम्पनीहरुको महत्वपूर्ण जिम्मेवारी रहेकाले हामी सबैले आ-आफ्नो ठाउँबाट सकेसम्म इन्टरनेटको बुद्धिमतापूर्वक प्रयोग गरी खपत घटाउनु अतिआवश्यक रहेको वर्ल्ड लिंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment