Comments Add Comment

लकडाउनका बेला मानसिक रुपमा स्वस्थ रहन के गर्ने ?

१४ चैत, काठमाडौं । कहिलेकाहीँ नेपाल बन्दमा घरमै बसेको भएपनि साताव्यापी लकडाउन नेपालीहरुका लागि नयाँ अनुभव हो । घरबाहिर जानै नहुने, छरछिमेक र आफन्त कहाँ आउजाउ वा भेटघाटै गर्नै नहुने भएपछि एक किसिमको उकुसमुकुस हुनु स्वभाविक नै हो ।

विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन थप केहीदिन लम्बिन सक्ने सरकारी अधिकारीहरूले बताइसकेका छन् । यसको अर्थ दुई–चार हप्ता लकडाउन वा कर्फ्यु नै लागेपनि चुपचाप घरमै बस्नुको विकल्प छैन ।

‘खाली दिमाग सैतानका घर’ भने जस्तो लकडाउनका बेला दिमागमा अनावश्यक कुरा खेल्न सक्दछन् । कतिपयको मानसिक स्वास्थ्य नै प्रभावित पनि हुनसक्ने मनोचिकित्सकहरू बताउँछन् । ठूला विपद् वा प्राकृतिक प्रकोपपछि विगतमा मानसिक स्वास्थ्यमा देखिएको नकारात्मक प्रभावले पनि यही सिद्ध गर्छ ।

लकडाउनका बेला कसरी दिमागलाई स्वस्थ र फुर्तिलो बनाउने भन्ने विषयमा मानसिक रोग विशेषज्ञ डा. सुदर्शन नरसिंह प्रधानले केही उपाय सुझाएका छन् ।

प्रस्तुत छ, डा. प्रधानको सुझाव उनकै शब्दमाः

यतिबेला विश्वकै ध्यान कोरोना भाइरसबाट कसरी जोगिने ? भन्नेमा केन्द्रित छ । साबुन पानीले नियमित हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, शंकास्पद वस्तु नछुने, हात नमिलाउने गरिरहेका छौं । यो आवश्यक पनि छ । किनभने कोरोनाविरुद्धको लडाई हाम्रो साझा लडाईं भइसकेको छ ।

तर, हामी शारीरिक रुपमा मात्रै स्वस्थ भएर पुग्दैन । यतिबेला मानसिक स्वास्थ्यमा पनि उत्तिकै ध्यानदिनु जरुरी छ ।

मानसिक स्वास्थ्यका अवरोधक

हाम्रो दैनिकी अकल्पनीय तरिकाले व्यस्त बनिसकेको छ । घरमा परिवारकै सदस्यहरूसँग राति मात्रै भेट हुने अवस्था छ । सधैं भागदौड गरिरहेकालाई लकडाउनका बेला घरमा बस्नु साँच्चै गाह्रो काम हो । सधैं व्यस्त हुने व्यक्तिलाई खाली बस्न सजिलो हुँदैन ।

त्यसमा पनि हामी यतिबेला कोरोनाबाट मृत्यु हुनेको संख्या गनिरहेका छौं । सबैभन्दा धेरै कहाँ मृत्यु भयो ? छिमेकमा कुन देशमा मृत्यु भयो भन्नेमा ध्यान दिइरहेका छौं ।

संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ । सबै देशमा कोरोना फैलिएको कुरा गरिरहेका छौं । सञ्चार माध्यम, सामाजिक सञ्जाल र जोसुकैसँग कुरा गर्दा कोरोनाको प्रसंग छुटेको हुँदैन ।

कोरोनाले गर्दा पर्नसक्ने आर्थिक प्रभाव जस्ता कुराले पनि मान्छेलाई चिन्तित बनाएको देखिन्छ । सामाजिक सञ्जालमा गैरजिम्मेवार व्यक्तिहरूको पोस्ट, गलत समाचार, नकारात्मकता बढाउने सामग्रीले नजानिँदो पाराले दिमागमा प्रभाव पारिरहेको हुन्छ ।

जोखिम समूहको पीडा

एउटै घटना वा उस्तै सन्दर्भले व्यक्तिमा पार्ने मानसिक प्रभाव फरक फरक हुनसक्छ । कसैले ठूलो चोट वा अप्रत्यासित घटनालाई पनि सजिलै आत्मसाथ गर्न सक्छ भने त्यही कुरा अर्को व्यक्तिका लागि कठिन विषय बन्नसक्छ ।

संवेदनशील र भावुक स्वभावका व्यक्तिहरूलाई कहिलेकाहीँ सामान्य कुराले पनि चोट पुग्न सक्छ । कठिन परिस्थितिलाई कसरी सम्हाल्ने भन्ने कुरा व्यक्ति अनुसार फरक हुन्छ ।

पहिलादेखि नै मानसिक रोग भएकाहरूको तनाव बहन क्षमता कमजोर हुन्छ । घर बाहिर ननिस्कनु भनेको छ भने यसले स्थिति भयावह पोे भएको हो की भन्ने कुरामा मनमा खेल्न सक्छ ।

मन आत्तिने खालमा व्यक्तिहरूलाई संसारमै खत्तम हुन लाग्यो कि भन्ने भ्रम पर्न सक्छ । कोरोना सर्नबाट बच्न बारम्बार साबुन पानीले हात धुनुपर्छ भनिएको छ ।

ओसिडी (अब्सेसिभ कम्पल्सिभ डिसअर्डर) छ भने पटक पटक हात धुन मन लाग्छ । आवश्यकताभन्दा बढी हात धोइराख्नु पनि आफैंमा समस्याको कुरा हो ।

कसरी बच्ने ?

पुरानो बिरामी वा मानसिक रुपमा बलियो नहुनेहरूलाई यतिबेला परिवार, साथीभाइ, आफन्त, कार्यालय, वा विद्यार्थी हो भने शिक्षकको सहयोग चाहिन्छ । स–सानो हौसलाले उनीहरूको जीवनमा खुशीयाली छाउनसक्छ ।

कोरोनाकै सन्दर्भमा भन्नुपर्दा मृतक र संक्रमितको संख्यामाभन्दा निको भएर घर फर्कनेहरूको बारेमा सोच्नुपर्छ । जस्तो एक लाख २५ हजार संक्रमित निको भइसकेका छन् । कोरोनाकालागि हालेपनि ९८ प्रतिशत बाँच्ने सम्भावना छ भन्ने कुरा बिर्सनु हुँदैन । मृत्युदर ८० वर्षभन्दा माथिको उमेर समूहमा सबैभन्दा बढी छ ।

छिनछिनमा कोरोनाबारे अपडेट भइराख्न आवश्यक छैन । अपडेट हुनुपर्दा आधिकारिक संस्था वा विश्वसनीय सञ्चारमाध्यम मात्रै हेर्ने गर्नुपर्छ । नकारात्मकता मात्रै फैलाउने व्यक्ति वा पेजलाई अनफलो गर्न सकिन्छ ।

गलत समाचार सामाजिक सञ्जालका गैरजिम्मेवार सामग्रीहरुले तपाईँको दिमागमा गलत सूचना पु¥याईरहेको हुन्छ । जस्तो नर्भिक अस्पतालको भनेर सार्वजनिक रुपमा नै गलत अडियोलाई त्यो दिन निकै धेरैले सही ठानेका थिए । यस्ता गलत सूचना भविष्यमा पनि आउनसक्छन् त्यस्ता कुरामा सचेत हुनु जरुरी छ ।

कोरोनाबाट विश्वका अर्बौ जनता प्रभावित छन् । यो समस्या मलाई मात्रै परेको भन्ने ढंगले चिन्ता लिनुको अर्थ छैन ।

अवसरै अवसर

छोराछोरी बिहानै स्कुल र बाबाआमा आ–आफ्ना काममा जानु आम दैनिक जस्तो बनिसकेको छ । जसले गर्दा परिवारमा एकअर्काको समस्या बुझ्ने, छलफल गर्ने र समाधानका उपाय निकाल्ने फुर्सद् कोहीसँग छैन । यस्तो बेलामा यो लकडाउन एउटा राम्रो अवसर हुनसक्छ ।

हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भने जस्तै लकडाउन परिवारका सदस्यहरूसँगै बस्ने राम्रो अवसर हो । सँगै बसेर खाना खाने, परिवारले विगतमा गरेका कामको समीक्षा गर्ने, भविष्यको योजना बनाउने अवसर बनाउन सकिन्छ ।

घरभित्र खेल्न सकिने खेल खेल्ने, मनोरञ्जन गर्ने, खानाको नयाँ नयाँ परिकार बनाउने, सरसफाई गर्ने, छोराछोरीलाई पुर्खाबारे बताउने गरेर पनि दिन बिताउन सकिन्छ ।

(मानसिक रोग विशेषज्ञ डा. सुदर्शन नरसिंह प्रधानसँग अनलाइनखबरका लागि सन्त गाहा मगरले गरेको वार्तामा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment