Comments Add Comment

प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन, २३ सय बेड

रुपन्देहीको तिलोत्तमास्थित दुर्गादत्त माविमा बनाइएको क्वारेन्टाइन ।

१५ चैत, बुटवल । कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन बनाइएको छ । प्रदेशका १२ वटै जिल्ला र सबैजसो स्थानीय तहमा दुई हजार तीन सय बेड तयार भएका छन् । सबैभन्दा धेरै क्वारेन्टाइन बेड रुपन्देहीमा छन् । रुपन्देहीमा १६ वटै स्थानीय तहमा तीन सय ५४ वटा क्वारेन्टाइन बेड तयार भएका छन् । अधिकांश क्वारेन्टाइन स्थल विद्यालय भवनमा बनाइएको छ ।

नवलपरासी पश्चिममा १४ स्थानमा दुई सय चार बेड छन् । पाल्पामा २३ स्थानमा क्वारेन्टाइन र दुई सय ९३ बेड छन् । गुल्मीमा २६ स्थानमा २ सय ९० बेड,अर्घाखाँचीमा ३४ स्थानमा ३ सय २७ वेड, प्युठानमा १६ स्थानमा एक सय ४५ वेड तयार भएका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए ।

कपिलवस्तुमा १६ स्थानमा क्वारेन्टाइन र एक सय ६६ बेड, बर्दियामा १९ स्थानमा २ सय २१ बेड, बाँकेमा ८ स्थानमा एक सय ५५ बेड, दाङमा १६ स्थानमा एक सय ६६ बेड, रोल्पामा एक स्थानमा ५ बेड र रुकुम पूर्वमा २ स्थानमा ४१ बेड रहेको चौधरीले बताए । यी क्वारेन्टाइनमा भारतसहित तेस्रो मुलुकबाट हालै नेपाल आएका नेपाली नागरिक वा अन्य मुलुकका शंकास्पद व्यक्तिलाई राखिन्छ ।

१४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्दा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएमा उनीहरुलाई सरकारले तोकेको आइसोलेसन अस्पतालमा सुरक्षित तरिकाले लगेर उपचार गरिने प्रदेश जनस्वास्थ्य निर्देशक डा. राजेन्द्रकुमार गिरीले बताए ।

करिब पाँच सय जना क्वारेन्टाइनमा

रुपन्देहीमा शनिबारसम्म ५२ जना र प्रदेश ५ मा करिब पाँच सयजना क्वारेन्टाइनमा रहेका प्रदेश ५ प्रहरी प्रमुख नरबहादुर केसीले जानकारी दिए । विदेशबाट पछिल्लो समय नेपाल आएका सबैजसो स्थानीय तहहरुले बनाएका क्वारेन्टाइनमा र कतिपय आफ्नै घरमा ‘होम क्वारेन्टाइन’मा बसेका प्रहरी प्रमुख केसीले बताए ।

क्वारेन्टाइनको व्यवस्थापन र अनुगमन स्थानीय तह, स्वास्थ्य कार्यालयका फोकल पर्सन,सहायक प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले तोकेको प्रतिनिधिसमेत रहेको एक समितिले गर्दछ । १४ दिनसम्म क्वारेन्टाइनमा बस्दा कोभिड–१९ सँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिएमा उनीहरुलाई घर पठाइन्छ ।

निजी अस्पतालले उपचार गरेनन्

निजी अस्पतालले ज्वरो आएको बिरामी जाँच्न छाडेपछि उनीहरुका आफन्तले प्रहरीलाई गुहार्न थालेका छन् । ‘दैनिकजसो पाँचदेखि १० जना निजी अस्पतालले बिरामीको नामै दर्ता नगरेर फर्कादिएको गुनासो प्रहरीमा आउन थालेको छ’-प्रदेश प्रहरी प्रमुख केसीले भने–‘यो निकै गम्भीर विषय हो, यसमा सरकारका सम्बन्धित निकायको छिटै ध्यान जानुपर्छ ।’

प्रदेश ५ मा रहेका निजी अस्पताल र मेडिकल कलेजहरुले कोभिड-१९ को रोकथाम र उपचारमा सरकारलाई सहयोग गर्ने बताएर आइसोलेटेड बेड समेत छुट्याएर राखेको भएपनि व्यवहारमा शंकास्पद बिरामीलाई फर्काइदिने गरेको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

‘निजी अस्पतालहरुले ज्वरोका सामान्य बिरामीको पनि उपचार गर्न मानेका छैनन् । सरकारलाई सहयोग गर्ने भनेर नाम मात्रै भजाए’ डा. थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment