Comments Add Comment

हाम्रा पितापूर्खा : अन्धविश्वासी कि वैज्ञानिक थिए ?

गाउँघरतिर अझैपनि केही यस्ता चलन बाँकी छन्, जो हाम्रा पूर्खाहरुले गर्दै आए । जस्तो कोही बनजंगल वा बाहिरबाट आएपछि चुल्होको आगो छोएर मात्र अरुसँग हेलमेल हुन पाउने । पलेंटी कसेर खाना खाने । आफ्नो भागको एक गाँस खाना छाड्ने । दुधजन्य परिकार र माछामासु एकसाथ खान नहुने ।

घरमा शुभ–अशुभ आदि कार्य गर्नुअघि सबैतिर गोमुत्र छर्कने । कसैको मलामी गएर आएपछि नुहाई–धुवाई एक छाक खाना छाड्ने । कसैलाई मृत्यु–शोक परेमा बरखी बार्ने (सेतो लुगा लगाएर, शुद्ध खानेकुरा मात्र खाएर अरु व्यक्तिहरुको सम्पर्कबाट टाढा रहने) ।

उनीहरुले यी सबै कर्म र व्यवहारलाई धर्मको लेपन लगाएर संस्कारसँग जोडे ।

पछिल्लो पुस्ताले यी सबै विधी–विधानलाई केवल ‘धर्म एवं परम्परा’ ठाने । धर्म र परम्परालाई आडम्बर ठाने । अन्धविश्वास र ढोंग ठाने । त्यसैले पितापूर्खाले सिकाएका, अथ्र्याएका, पालना गरेका कुरालाई बेवास्ता गरे । लत्याइदिए ।

अधकल्च स्कुले शिक्षा लिएका ठूलो जमातले पितापूर्खाले अनुसरण गरेका यी तमाम विधी–विधानलाई अस्विकार मात्र गरेनन्, ठाडो तिरस्कार गरे । उनीहरुले अहंकारका साथ भन्न थाले, ‘बुढापाकाहरुले उहिले पढेनन्, लेखेनन् त्यही कारण उनीहरु अज्ञानी भए । अन्धविश्वासी भए । अहिलेको वैज्ञानिक युगमा यस्ता कुरा सुहाउँदैन ।’

यसरी पितापूर्खाले चलाएको चलन क्रमस अस्विकृत हुँदै गयो । आधुनिक र वैज्ञानिक बन्ने चक्करमा हामीले अरुको देखासेखीमा आफ्नो जीवन–पद्धतीलाई ढाल्ने अभ्यास गर्न थाल्यौं । अन्ततः हामीले न आफ्नोपनलाई निरन्तरता दिन सक्यौं, न पराईको शैलीलाई पूर्णत अनुशरण गर्न सक्यौं । बरु भनिरह्यौं, ‘परम्परा, संस्कार, धर्म सबै अन्धविश्वास हुन् । वैज्ञानिक युगमा यी कुराहरुको काम छैन ।’

तर, पितापूर्खाले अपनाएका ति विधी–विधान अन्धविश्वास र आडम्बर नै थियो त ? एकपटक हामी यसलाई परीक्षण गरेर हेर्न सक्छौं ।

घरबाहिर वा बनजंगलबाट आएपछि यसकारण आगो छुनुपर्छ भने होलान् कि हातमा हुनसक्ने जीवाणुहरु नष्ट होस् । पलेंटी खानुपर्छ, आफ्नो भागको एक गाँस छाड्नुपर्छ भनी खानपान शैली यसकारण सिकाए होलान् कि, पाचन यन्त्रलाई सहज होस् । पेट चर्कनेगरी नखानु परोस् । आफ्नो एक गाँस कुकुर वा चराचुरुंगीका लागि छाडौं ।

बुढापाकाहरु अझैपनि कतिपय खानेकुरा एकसाथ खाँदैनन् । दुधजन्य परिकारमा माछामसु मिसाउनलाई ‘अर्धम वा पाप’ भनी अथ्र्याउँछन् । वास्तवमा यी विजातिय खानेकुरा हुन्, जो एकसाथ सेवन गर्दा त्यो विकार बन्छ । फुड प्वइजनिङ हुन्छ ।

उनीहरुले अन्धविश्वासी भएर गोमुत्र छर्कने वा सेवन गर्ने प्रचलन सुरु गरे होलान् कि त्यसमा रहेको जीवाणु–निरोधक गुण जानेर ? बरखी बारिरहँदा सेतो लुगा लगाउनुपर्छ, एकान्तमा बस्नुपर्छ भन्ने कुरा अज्ञानता होलान् वा स्वास्थ्य–सुरक्षाको उपाय ?

हाम्रा पितापूर्खाहरुले सूर्योदय अघि उठ्नुपर्छ भने । उठेर आफ्ना पितृको नाममा जल–अर्पण गर्ने वा पूजापाठ गर्ने, शंख बजाउने, बनस्पतिको धूप बाल्ने काम गरे । यसमा हामी अन्धविश्वास देख्छौं वा विज्ञान ?

बिहान उठेपछि पूजापाठ गर्नु, पितृको नाममा जल अर्पण गर्नु मानसिक स्वास्थ्यसँग जोडिएको कुरा होइनन् ? यी विधीहरु गरिरहँदा मनमा विनम्रता, करुणा र शान्ति मिल्दैन ? शंख बजाउनुको सम्बन्ध जागरण र श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित छैन होला ?

घरको मूल ढोका सामुन्ने वा आँगनमा तुलसी रोप्नुपर्छ भन्नुको कुनै वैज्ञानिक अर्थ नहोला ? तुलसीमा औषधिय गुण हुन्छ, वायुमण्डल शुद्धिकरण गर्ने गुण हुन्छ भन्ने नबुझी रोपेका थिए होलान् ?

पछि पूजाआजा गर्ने, घण्ट बजाउने, तुलसीको मठ बनाउने कुरालाई हामीले जात र सम्प्रादायसँग कित्ताकाट गरिदियौं । जबकी यी सबै विधी समग्र मानव हितका लागि थिए ।

हाम्रा पितापूर्खाको जीवन कृषि–प्रणालीमा जोडियो । उनीहरुले प्रकृतिसँग एकाकार भएर बाँच्ने कला खोजे । प्रकृतिमा उपलब्ध स्रोत र सामग्रीबाट जीवनको लय र धुन खोजे । त्यही खोज–अध्ययनबाट उनीहरुले आफ्नो जीवन–पद्धतीको विकास गरे ।

कतिबेला उठ्ने, कतिबेला सुत्ने, कसरी खाने, के खाने, कसरी बस्ने, कहाँ बस्ने, मर्दा–पर्दा के गर्ने, उत्सव–पर्व कसरी मनाउने ? यावत् कुरालाई व्यवस्थित गर्नका लागि उनीहरुले प्रकृतिबाट कति कुरा खोजे–अध्ययन गरे होलान् ?

गोमुत्रमा जीवाणु–रोधक गुण हुन्छ, सेतो बस्त्रमा जीवाणुको प्रभाव कम हुन्छ, मृत्युपछि उनका परिवार र घरलाई शुद्धिकरण गर्नुपर्छ भन्ने कुराको खोज–अध्ययन कसरी गरे होलान् ?

बर–पिपल रोप्ने र त्यसको छहारीमा चौतरा बनाउने चलन थियो । टाढा–टाढाबाट आउजाउ गर्ने बटुवाहरु त्यही चौतरामा थकाई मार्थे । पिपलको छहारीले सितलता प्रदान गर्छ, पर्याप्त अक्सिजन प्रवाह गर्छ भन्ने कुरा उनीहरुले कसरी थाहा पाए होलान् ?

यी सबै कर्म, व्यवहार एवं विधी–विधानलाई उनीहरुले संस्कारको रुप दिए । त्यसलाई ‘धर्म’सँग जोडे । उनीहरुलाई लाग्यो होला, धर्म र संस्कारसँग जोडेपछि त्यसलाई नियमित र निरन्तर पालना गर्छ । ‘धर्म’को कुरा मान्छेका आस्थासँग जोडिन्छ, आस्थालाई मान्छेले उल्लंघन गर्दैन भन्ने मनोविज्ञान थाहा पाए होलान् । पाप र धर्मको कुरा गरेपछि हाम्रा सन्ततीले बर्षौंसम्म नियमित र निरन्तरता दिन्छन् भन्ने अपेक्षा गरे होलान् ।

स्वर्ग र नर्क, धर्म र पापको कुरा यसकारण गरे हेलान् कि मान्छेहरु अभ्रद, अशिष्ठ, अनैतिक नहोस् । उनीहरुमा केही अदृश्य भय बाँकी रह्यो भने नैतिक आचरण विकास गर्न सघाउ पु¥याउँछ भन्ने बुझे होलान् ।

अहिले पनि गाउँघरतिर पानीको मुहानमा भएको रुख काट्न निषेध गरिन्छ । उक्त रुखमा देवीथान भनी पूजापाठ गरिन्छ । रुख काटेमा अनर्थ हुन्छ भनिन्छ । यो भय उनीहरुले यसकारण फैलाए होलान् कि पानीको स्रोत जोगउन रुखको भूमिका रहन्छ । रुख काट्ने वा त्यहाँ फोहोरमैला गर्ने प्रवृत्तिले पानीको मुल सुक्छ ।

यस्ता थुप्रै कारण भेट्न सकिन्छ कि उनीहरुले के काम किन गरेका थिए ? त्यो कति वैज्ञानिक थियो ? अतः ति सबैका लागि उनीहरुले कति खोज, अध्ययन, अनुसन्धान, प्रयोग गरे होलान् ?

आज हामी अधकल्चो पढेर पितापूर्खालाई गाली गर्दै भन्न थाल्यौं, ‘ति सबै अन्धविश्वास हुन् ।’ जबकी हामीले त्यसभित्र कति अद्भूत विज्ञान छ भनेर कहिल्यै खोजेनौं ।

आज विश्व कोरोनाले आक्रन्त छ । कोरोनाकै भयले मान्छेहरु घरभित्रै क्वारेनटाइनमा बसेका छन् । उहीले हाम्रा पूर्खाहरुले अपनाउँदै आएका एकान्तवास संभावित संक्रमणको आक्रमण र फैलावटबाट बच्ने विधी रहेनछ त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment