Comments Add Comment

प्रधानमन्त्रीज्यू ! यसरी लडौं कोरोनाविरूद्धको लडाइँ

प्रधानमन्त्रीज्यू, नमस्कार !

लकडाउनको समयमा धेरै साथीहरूले देश, बिदेशबाट  सोधिरहनु भएकोछ- “लकडाउनमा के गरिरहनु भएको छ ? कसरी लडिरहनु भएको छ कोरोनाबिरूद्ध ?? सारै गारो हुँदोरहेछ थुनिएर बस्न ।” सबै साथीहरूलाई एउटै शैलीमा अनुभव बाँड्ने गरेको छु- “लकडाउन एक प्रकारको जेल नै हो । विगतमा साँढे पाँच  बर्ष जेल बस्दाको अनुभव खुब काम लागेको छ यतिबेला  ।” साथीहरू हास्नुहुन्छ ।

वास्तवमा यो हास्ने बिषय होइन । मैले गम्भीर रूपमा भनेको हुँ । साँच्चै यतिबेला विगतका ती आँधीमय दिनहरूलाई सम्झिरहेको छु । र, आफूमा ऊर्जा सन्चित गरिरहेको छु । मैले जेल जीवनमा कहिल्यै हीनताबोध गरिनँ । दुश्मनसँग कहिल्यै सम्झौता गरिनँ । जतिदिन जेलमा बसेँ सकियतापूर्वक सिर्जनात्मक काम गरेर बसेँ । त्यतिबेला थाहा भयो मलाई स्वतन्त्रताको मूल्य आफू सिक्रीमा बाँधिएपछि मात्रै थाहा हुन्छ मान्छेलाई । स्वतन्त्रता स्वत: प्राप्त हुँदैन । त्यसका लागि भयानक सङ्ग्राम लड्ने साहस गर्नुपर्छ । हिजो राजतन्त्रबिरूद्ध गणतन्त्रको सङ्ग्राम लड्ने साहस नगरेको भए आज हामी गणतन्त्रवादी हुने थिएनौं । आज हामीले कोरोना महामारीको बिरूद्ध लड्ने साहस गरेनौं भने भोलि स्वस्थ समाज निर्माण गर्न सक्नेछैनौं । चौध बर्ष कठोर जेल जीवन बिताउनु भएको तपाईंलाई मेरो कुरा ईन्द्रको आगाडि स्वर्गको बयानजस्तो पनि लाग्नसक्छ । तर प्रधानमन्त्रीज्यू, तपाईं र म बसेको गोलघर एउटै हो, तपाईं र मैले गोलघरमा भोगेको दु:ख उस्तै हो ।

आज हामी नेपाली मात्रै होइन सिङ्गै संसार कोरोनाबिरूद्ध लडाइँ लडिरहेको छ । यो कुनै देश वा समुदाय बिशेषको समस्या नभएर सिङ्गै मानव जातिको लागि साझा समस्या बनेकोछ । विभिन्न विचार, वाद, भूगोल र समुदायमा बिभाजित हामी मानव जातिलाई यस कोरोना महामारीले मानव जाति एक हुन र सबै वादभन्दा माथि मानवतावाद छ भन्ने पाठ सिकाएको छ । पाठ सिक्नु नसिक्नु हाम्रो आफ्नो कुरा हो । तर पाठभने अवश्य सिकाइरहेको छ ।

मानव जातिको निम्ति यो महामारी न त आदि हो न त अन्त्य । हजारौं बर्षको मानव सभ्यताको इतिहासमा यो भन्दा कैयौं  भयानक महामारी मानव जातिले भोगेका थिए । कैयौंबेला मानव जातिकै अन्त्य हुनसक्ने त्रासदीपूर्ण भविष्यवाणीसम्म गर्न पुगेका थिए हाम्रा पुर्खाहरू । तर पनि सङ्ग्राम लड्दै, पछारिदै, उठ्दै मानव सभ्यता यहाँसम्म आइपुगेको छ । मानव जाति रहेसम्म प्रकृतिसँगको संघर्ष चलिनै रहनेछ । जब मानव असाध्यै छाडा भएर प्रकृतिको दोहन गर्नथाल्छ, तब प्रकृतिले मानवलाई पाठ सिकाउन विवश हुन्छ । र, प्रकृति विभिन्न रूपमा प्रकट हुन्छ । कोरोना महामारी पनि मानवको लागि प्रकृतिले सिकाएको एउटा शिक्षा नै हो ।

लडाइँको सहि योजना बनाऔं

प्रधानमन्त्रीज्यू ! सबै लडाइँ एकै प्रकृतिका हुँदैनन् । यो कुरा तपाईंलाई राम्रोसँग थाहा छ । लडाइँको प्रकृति अनुसार लडाइँको नियम पनि अलगअलग हुन्छ । लडाइँको प्रकृति अनुसार फौजको निर्माण र कमान्डरको छनौट गर्नुपर्ने हुन्छ । लडाइँको प्रकृति पहिचान गर्न सकिएनभने सशक्त  फौजको निर्माण हुँदैन, सक्षम कमान्डरको छनौट हुँदैन । जसको परिणाम युद्ध हारिन्छ । यी सबै कुरा तपाईंलाई राम्रोसँग थाहा छ ।

हाम्रो पुस्ताले भोग्दै गरेको यो महामारी विलकुल नयाँ प्रकृतिको छ । सुरुमा चीनदेखि अमेरिका, इटालीदेखि स्पेन प्रायः सबै देशहरू यस भाइरसबिरूद्धको लडाइँको रणनीति बनाउन अलमलिएको देखिन्छ । दुश्मनको क्षमता र युद्धनीतिलाई नबुझेको देखिन्छ । फलस्वरूप ती देशहरूले ठूलो मानवीय क्षति व्यहोर्नु पर्‍यो र व्यहोरिरहेका छन् । संयोग नै भन्नुपर्छ प्रधानमन्त्रीज्यू, हाम्रो देशलाई भने ´पशुपतिनाथले रक्षा गरिरहेको छ ।

कोरोना असाध्यै आक्रामक र तेजगतिको दुश्मन हो । युद्धमा प्रायः जसले पहिले पहल लिन्छ उसले युद्ध जित्नेगर्छ । एकपटक पहल गुमेपछि युद्ध जित्न सारै गारो हुन्छ । तपाईं स्वीकार गर्नुस् या नगर्नुस् कोरोनाबिरूद्धको यस लडाइँमा तपाईंले दुश्मनको चाल बुझ्न नसक्नु भएकै हो । लडाइँ जितिने र हारिने कुरा दुशमनलाई बुझेर त्यही अनुसारको लडाइँको तयारी छ, छैन भन्ने कुरामा भर पर्छ । प्रधानमन्त्रीज्यू, वास्तविक फिल्डमा लडाइँ त बीस प्रतिशत मात्रै हुने हो । असी प्रतिशत लडाइँ त सहि नीति निर्माण र समग्र व्यवस्थापनले जितिने हो ।

कमान्डर र सिपाहीको तालमेल मिलाऔं

प्रधानमन्त्रीज्यू ! यस युद्धको कमान्डर सरकार हो । कमान्डरको पनि कमान्डर प्रधान सेनापति तपाईं हो । अनि हामी जनता सिपाही हौं । युद्ध कहिल्यै सिपाहीको कारणले हारिदैँन । कमान्डरले सहि युद्धनीति बनाइसकेपछि योजना कार्यान्वयनका लागि सहि कार्यबिभाजन गर्नुपर्छ । युद्धको महत्त्वबारे सिपाहीलाई राम्रोसँग बुझाउने, सोही अनुसारको तालिम दिने, आवश्यक हातहतियारले सुसज्जित बनाउने, बिश्वास जित्ने, मनोबल बढाउने काम कमान्डरले गर्नुपर्छ । कमान्डरले यी कामहरू पूरा गरेका छन् त ? प्रधानमन्त्रीज्यू, साँचो कुरा भन्नैपर्छ- छैन । कमान्डरले एकोहोरो आदेश मात्रै गरिरहेको देखिन्छ । तपाईंलाई राम्रोसँग थाहा छ, आदेशकर्ता र आदेशपालकबीच राम्रो समन्वय भएनभने लडाइँ जित्न सकिँदैन ।

तसर्थ, पहिलो काम जनतालाई राम्रोसँग कुरा बुझाउनुस । उनीहरू आफ्नो स्वास्थबारे आफै सचेत होउन् । लकडाउन पालना गराउन स्थानीय जनप्रतिनिधिहरू लाठी बोकेर सडकमा निस्कन नपरोस् । प्रहरीले बल प्रयोग गर्न नपरोस् । जहिलेसम्म जनता स्वसचेत हुँदैनन् तहिलेसम्म यसको स्थायी समाधान नहुनसक्छ । त्यसैले यो युद्धमा जित्नका लागि सबैभन्दा पहिला जनतालाई साथमा लिनुस र सरकार र जनताबीच राम्रो सहकार्यको वातावरण बनाउनुस । प्रधानमन्त्रीज्यू, मेरो अनुरोध छ-  कमान्डर र सिपाहीबीच राम्रो तालमेल मिलाउनुस।

कमान्डरको आदेश मानौं

कमान्डरको आदेश नमान्ने सिपाही जतिसुकै लडाकु, योग्य, क्षमतावान भए पनि त्यसको केही अर्थ हुँदैन । लडाइँ हारेपछि अन्ततः ऊ पनि कि बन्दी हुने हो कि मारिने हो ।  तसर्थ, एउटा असल सिपाही सबैभन्दा बढी अनुशासित हुनैपर्छ । यो बेला हामी एकातिर मानव जाति र अर्कातिर मानव जातिको साझा दुश्मन कोरोना भाइरससँग जीवनमरणको लडाइँ लडिरहेका छौँ । त्यसैले हामी जनता, विश्व स्वास्थ्य संगठन (WHO) र सरकारले दिएको निर्देशन अक्षरश: पालना गरेर यो युद्ध जितौँ ।

फिल्ड कमान्डरको मनोबल बढाऔं

प्रधानमन्त्रीज्यू ! तपाईं र तपाईंको टीमले कोरोना भाइरसबिरूद्ध युद्ध लड्न खासै राम्रो तयारी गरेको देखिएन । सार्वजनिक सन्चार माध्यामहरूमा आएको कुरालाई बिश्वास गर्ने हो भने यो बेलाका फिल्ड कमान्डर (स्वास्थकर्मी) हरूले सबैभन्दा बढी आफूलाई असुरक्षित ठानिरहेका छन् । फिल्ड कमान्डर अग्रमोर्चामा गएर नलड्दासम्म सिपाहीहरू पछि लाग्दैनन । त्यसका लागि फिल्ड कमान्डरलाई चाहिने आवश्यक हातहतियार (PPE लगायतका सामाग्रीहरू) पुग्दो मात्रामा उपलब्ध गराउनुपर्छ । मनोबलबिनाको कमान्डरले लडाइँ लड्न सक्दैन । युद्धमा होमिएपछि मनोबल भनेकै हतियार हो । के तपाईंले आफ्ना कमान्डरहरूलाई यो बिश्वास दिलाउनु भएको छ ? छैन । भारतमा चिकित्सकहरूलाई ५० लाख भारू बराबरको जीवन बिमाको निर्णय सरकारले गरेको छ । मेरो अनुरोध छ प्रधानमन्त्रीज्यू, हाम्रो देशमा पनि कम्तिमा नेरू ५० लाख बराबरको जीवन बिमा गर्ने निर्णय तुरुन्तै गर्नुस् ।  चिकित्सकहरूको मनोबल बढाउनुस । उनीहरूमा थप उत्साह सिर्जना गर्नुस् ।

युद्धको आवश्यक तयारी गरौं

रोग पहिचान गर्ने इकुपमेन्ट्स (किट्स) हरू, शंकास्पद बिरामीलाई राख्ने आइसोलेसन वार्ड, गम्भीर बिरामी उपचार गर्ने आइसियूलगायतका तयारी पनि गफैमात्र हो जस्तो देखिँदैछ ।  सत्य के हो जनतासामु सार्वजनिक गर्नुस् । कोरोना भाइरसले महामारीको रूप लिएको थाहा पाएर पनि न्यूनतम आवश्यक तयारी नगरेर गल्ती त गरिसक्नु भएकै छ । समयमै अन्तर्राष्ट्रिय उडानहरू बन्द नगर्नु, भारत र चीनको नाका सिल नगर्नु, बाहिरबाट  आएकाहरूलाई कडाइपूर्वक आइसोलेसनमा नराख्नु, उनीहरूको समान्य विवरणसम्म नराखेर वेवास्ता गर्नु, समयमै लकडाउन नगर्नु जस्ता गल्ती त गरिसक्नु भएकै छ । कृपया अब गल्ती नदोहोर्‍याउनुस । सुनिँदैछ, युद्धस्तरमा गर्नुपर्ने कतिपय तयारीका कामहरू अझै झाराटार्ने शैलीमा गरिँदै छ । प्रधानमन्त्रीज्यू, यसले अर्को भयानक जोखिम निम्त्याउने छ । समयमै सोच्नुहोला ।

त्यसैले, प्रधानमन्त्रीज्यू, सरकारले आफ्नो प्रत्यक्ष निगरानीमा आवश्यक भौतिक तयारीहरू बेलैमा गर्नुपर्‍यो । अन्तर्राष्ट्रिय सहयोग जुटाउन तपाईं (संघीय सरकार) लाग्नुपर्‍यो । सहयोग गर्छु भन्ने सयोगदाताहारूसँग बिनाहिचकिचाहट सहयोग लिनुपर्‍यो । हामीसँग संकीर्ण राष्ट्रवादको भूत पनि सवार छ । मानवतावाद भन्दा ठूलो राष्ट्रवाद हुँदैन प्रधानमन्त्रीज्यू । पहिला बचौं, बचाऔं । बाँकि हिसाबकिताब पछि गर्दैगरौंला । हाम्रो देशमा पनि केहीगरि यस भाइरसले महामारीको रूप लियोभने त्यसमाथि बिजय प्राप्त गर्ने क्षमता तपाईं हामीसँग छैन । जतिजना संक्रमित भएका छन्, उनीहरूको राम्रो उपचार गरौं । थप संक्रमितहरूको बेलैमा पहिचान गरौं । रोगले महामारीको रूप लिनु अघिनै सम्पूर्ण तागत लगाएर नियन्त्रण गरौं ।

निजी अस्पताललाई बेलगाम नछाडौं

यहाँ अर्को तीतो कुरा पनि भन्नैपर्ने छ । संविधानमा समाजवाद उन्मुख लेखिए पनि, तपाईंको सरकार साम्यवादी सिद्धान्त मान्ने कम्युनिस्टको भए पनि नेपालमा सबैभन्दा फस्टाएको व्यापार शिक्षा र स्वास्थ्य नै हो । तपाईंलाई थाहा छ, न्यूनतम भौतिक पूर्वाधार नभएको दुर्गम गाउँहरूमा पनि आज बोर्डिङ स्कुल र निजी अस्पताल खोलिएका छन् । तिनीहरूले आफ्नो व्यापार चलाइरहेका छन् । तिनीहरूको गुणस्तरीय सेवाको बारेमा अहिले यहाँ बहस नगरौं । विश्वव्यापी रूपमा यति ठुलो मानवीय संकट आएकोबेला हाम्रा ती निजी अस्पतालहरू कहाँ छन् यतिबेला ? सुनिदैँछ- सामान्य रूघाखोकी, ज्वरो आएको बिरामीलाई पनि गेटबाटै फर्काइँदै छ रे ! यदि यो कुरा सत्य हो भने निजी अस्पतालहरूले मानवताबिरूद्धको अपराध गरिरहेका छन् । उनीहरूलाई सरकारले बेलगाम छाड्नु भएन प्रधानमन्त्रीज्यू । निर्देशन नमान्नेहरूलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्‍यो ।

सर्वपक्षीय उच्चस्तरीय समिति बनाऔं

मानव जातिमाथि आइपरेको यो विपत्ति सिङ्गै मानव जाति एकजुट भएर मात्रै सामना गर्न सकिन्छ र गर्नुपर्छ । तपाईं (सरकार) अभिभावक हुनुभएको हुनाले अगुवाई तपाईंले नै गर्नुपर्छ । तर, साथ सहयोग र सहकार्य सबैसँग लिने र गर्ने वातावरण पनि तपाईंले नै मिलाउनुपर्छ । यस्तोबेला सरकार फेर्ने, मन्त्री फेर्ने जस्ता असान्दर्भिक कुराहरू पनि सुनिँदैछ । लडाइँमा अन्तिम फैसला प्रधान सेनापतिको हुन्छ ।  यस लडाइँको प्रधान सेनापति तपाईं हो । तपाईंको स्वास्थ्यस्थितिको कारण फिल्डमा लडिरहेका अरू कमान्डर र सिपाहीहरूमा ऊर्जा भरिन सकेको छैन । यो पनि साँचो हो । फेरि पनि भन्छु म- अहिले कमान्डर ईनचिफ फेर्नेबेला यो होइन ।

यस्तो विपत्तिसँग लड्न सरकारले मात्रै पुग्दैन । सबैको साथ सहयोग लिन जरुरी हुन्छ । सरकारलाई सहयोग गर्न राजनीतिक दलहरूको मात्रै संयन्त्र बनाउँ भन्ने कुरा पनि सुनिँदैछ । प्रधानमन्त्रीज्यू, मेरो विचारमा त्यसो गर्नु गल्ती हुन्छ । यस विपद्को घडीमा राजनीतिक दलहरू, स्वास्थ्यकर्मी, सन्चारकर्मी, औषधि व्यवसायीहरू लगायत सबैलाई समेटेर सर्वपक्षीय उच्चस्तरीय समिति बनाएर काम गर्दा बढी प्रभावकारी र परिणाममुखी हुन्छ । उपप्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारी समिति आफ्नो ठाउँमा छ । त्यसले मात्रै यो लडाइँ जितिदैँन । यदि तपाईंले  त्यही समितिमा मात्रै आफूलाई सीमित राख्नुभयो भने तपाईंको त्यो निर्णयले तपाईंलाई पश्चाताप सिवाय अरु केही दिनेछैन । कृपया त्यस्तो गल्ती नगर्नुहोला ।

५ देखि ७ लाखसम्मको स्वयंसेवक दस्ता बनाऔं

प्रधानमन्त्रीज्यू ! स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मात्रै फिल्डमा खटाएर अहिलेको यो लडाइँ जितिदैंन । नेपाल सरकार मातहत रहेका सम्पूर्ण कर्मचारीहरूलाई पनि सुरक्षा व्यवस्था मिलाएर फिल्डमा खटाउनुस । मेरो विचारमा त्यतिले मात्रै पनि पुग्दैन । कम्तिमा ५ देखि ७ लाख स्वयंसेवकहरू विभिन्न क्षेत्रबाट लिएर तयारी अवस्थामा राख्नुस ।

म अहिले समाजवादी पार्टीको महासचिवको जिम्मेवारीमा छु । तर यतिबेला मेरो लागि पार्टी र पदभन्दा देशले भोगिरहेको समस्या धेरै ठूलो हो । तपाईं (सरकार) चाहानुहुन्छभने देशको जुनसुकै भूभागमा जतिसुकैबेला पनि स्वयंसेवक बनी जनताको सेवा गर्न तयार छु । किनकि, तपाईं नेकपाको मात्रै प्रधानमन्त्री होइन, यो देशको प्रधानमन्त्री हो । देशलाई संकट परेको बेला देशको प्रधानमन्त्रीको आदेश सबैले मान्नुपर्छ । यो बेला राजनीतिक दलका साथीहरूलाई मेरो एउटा प्रश्न छ- यस्तो विपदको बेला हामी दलीय संकीर्णताको घेराभन्दा माथि उठ्न तयार छौँ  ?  मेरो अनुरोध छ- हामी माथि उठ्न सक्नुपर्छ । हामी माथि उठौं । सबै मिलेर सहकार्य गरौं ।

प्रधानमन्त्रीज्यू ! तपाईंलाई मेरो अनुरोध छ- स्वयंसेवक परिचालनका लागि सरकारले एउटा अलग्गै संयन्त्र बनाओस । तर भूकम्पपछि जस्तो आ-आफ्नो राजनीतिक पार्टी, संघ, संस्था, संगठनको प्रचार गर्ने माध्यम कसैले नबनाओस । पार्टीको कुरा पछि गरौंला । राजनीतिको कुरा पछि गरौंला । अहिले विपतसँग लड्ने कुरा गरौं ।

ज्यालादारी गरिखानेहरूलाई तुरुन्तै सहयोग गरौं

रोगले भोक पनि सँगसँगै लिएर आएको छ । रोगले बर्ग, वर्ण, धर्म, सम्प्रदाय केहि नभने पनि अहिलेको महामारीबाट सबैभन्दा समस्यामा ज्यालादारी गरिखाने बर्ग नै परेकोछ । प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ कि छैन तपाईंको  लकडाउनको निर्णयसँगै उनीहरूको पेटडाउन पनि सुरू भएको छ । बाँच्न पाउनु मान्छेका लागि सबैभन्दा ठूलो अधिकार हो । भोको पेट कोही बाँच्दैन । दिनभरिको कमाइले बेलुका छाकटार्नेहरू कसरी बाँचिरहेका छन् ? उनीहरूको अवस्था कस्तो छ ? तपाईंलाई थाहा छ ? सरकार त बेखबर भएजस्तो लाग्छ । त्यस्ता ज्यालादारी बर्गको पहिचान गरि तुरुन्तै उनीहरूलाई बाँच्नको लागि चाहिने न्यूनतम सहयोग सरकारले गरिहालोस प्रधानमन्त्रीज्यू ।

स्थानीय सरकार सक्रिय रहेको आजको यस अवस्थामा यो कुनै अप्ठ्यारो काम होइन । संघीय सरकारले श्रोत जुटाउने र प्रदेश सरकारसँग समन्वय गरि स्थानीय सरकारलाई वितरणको अधिकार दिने बित्तिकै एकजना नागरिक पनि भोकै बस्नु पर्दैन । एउटा कुरा ख्याल राख्नुस प्रधानमन्त्रीज्यू, भोकभोकै मर्नुपर्ने अवस्था आयोभने मान्छेले रोग रोज्छ भोक रोज्दैन । त्यस्तोबेला राज्यले बनाएको नियम कानुन, तपाईंले जारी गरेका अनुशासनको उर्दी केहीले पनि काम गर्नेछैन ।

लकडाउनको बेला कालाबजारीहरूले फाइदा लिनसक्छ्न । दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति र कालाबजारी गर्नेहरूको कडा अनुगमन गर्न पनि जरुरी छ । यता पनि सरकारको ध्यान जाओस् ।

सक्नेहरूले नसक्नेलाई सेवा गरौं

यस्तोबेला समाजसेवी, धनाढ्य व्यक्तिहरू र विभिन्न राजनीतिक पार्टी, संघ, संस्था, संगठनहरूले पनि मानवसेवा गर्नसक्छ्न । नगदी सहयोग गर्न चाहनेहरूले सरकारको आधिकारिक खातामा जम्मागर्ने र अन्य सहयोग गर्न चाहनेहरूले अन्य तरिकाले (जस्तैः खाद्यान्न वितरण गर्ने, खाना पकाएर खुवाउने आदि) गर्न सक्छन् । यसका लागि पनि तपाईंले वातावरण बनाइदिन जरुरी छ । यस्तो  बेला सबैको सहयोग लिन सिपालु हुनुपर्छ । सहयोगको लागि सबैलाई अपील गर्नुस् प्रधानमन्त्रीज्यू ।

सरकारले आफ्नो नागरिकको जिम्मा लिऔं

५० औं लाख नेपाली नागरिकहरू रोजगारीको सिलसिलामा बिदेशमा छन् । जसमध्ये सबैभन्दा बढी भारतमा छन् । भारतमा समेत लकडाउन भएपछि भोकभोकै मर्ने डरले नेपाली नागरिकहरू देश फर्कन चाहन्छ्न । कयौं आज पनि भारतका विभिन्न सडकहरूमा अलपत्र परिरहेका छन् । प्रधानमन्त्रीज्यू,  उनीहरूको उद्घार गर्ने जिम्मा पनि सरकारकै हो । सरकार आफ्नो जिम्मेवारीबाट पन्सन मिल्दैन । सीमानासम्म आइपुगेका हजारौं नागरिकहरूलाई बलप्रयोग गरेर सीमानामै अलपत्र पार्न हुँदैन । त्यति धेरै निर्दयी र कठोर नबन्नुहोस । उनीहरूलाई राम्रोसँग सम्झाईबुझाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुस । प्रधानमन्त्रीज्यू, उनीहरू दुश्मन होइनन् नेपाली नागरिक हुन् । नागरिकको जिम्मा सरकारले लिनुपर्छ ।

खर्च नभएको बिकास बजेट कोरोना बिरूद्धको लडाइँमा खर्च गरौं

यस महामारीको कारण विश्वमै आर्थिक मन्दी छाइसकेको छ । यो अझै कति भयावह हुन्छ, अहिले सहज अनुमान गर्न गारो छ । तर हाम्रोजस्तो रेमिट्यान्समा आधारित अर्थतन्त्रको हालत कस्तो होला हामी सहजै अनुमान गर्नसक्छौं । प्रधानमन्त्रीज्यू, त्यो भयावह अवस्थालाई मध्यनजर गर्दै सरकारले अहिलेबाटै वैकल्पिक आर्थिक नीति बनाउन जरुरी छ ।

ठुलठुला उद्योगधन्दादेखि स-साना खुद्रे व्यापारीसम्म अब उठनसक्ने अवस्थामा हुँदैनन् । प्रधानमन्त्रीज्यू, बैंक तथा वित्तीय क्षेत्र, पर्यटनलगायत सबै क्षेत्रहरू डावाडोल हुने अवस्था छ । त्यसैले कम्तिमा उनीहरूहरूका केहि महिनाको भए पनि निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिने, आर्थिक सहयोग र अनुदान उपलब्ध गराउने लगायतका निर्णयहरू गर्न जरुरी छ । अर्थात् समग्र आर्थिक प्याकेज घोषणा गरेर उद्योगी, व्यवसायी, व्यापारी, शेयर कारोबारी सबैलाई ढुक्क बनाउन जरुरी छ ।

प्रधानमन्त्रीज्यू ! तपाईंलाई राम्रोसँग थाहा छ, राज्यको काम भनेको उद्योगी, व्यवसायी, व्यापारीले कमाएको बेला मज्जाले कर लिने हो । अनि राष्ट्रिय संकट परेको बेला आँखा चिम्लिएर राज्यले नागरिकलाई सहयोग गर्ने हो । हामी आर्थिक बर्षको अन्तिमतिर छौँ । हाम्रो बिकास बजेट आधा पनि खर्च भएको छैन । असारे बिकासमा आधारित बिकासको मोडल परिवर्तन गरौं । दस औंला जोडी अनुरोध छ प्रधानमन्त्रीज्यू ! पार्टी कार्यकर्ता र आसेपासेलाई पोस्नुभन्दा खर्च नभएको बिकास बजेट कोरोना बिरूद्धको लडाइँमा खर्च गरौं ।

अन्तमा, विश्वव्यापी रूपमा मानवजातिले सामना गरिरहेको यस कोरोना भाइरसबिरूद्धको लडाइँमा विश्वसँग पदचाप मिलाउनुस । सरकारले सबैसँग सहकार्य गर्ने र सबैको अभिभावकत्व लिने काम गरोस् । हामी नागरिकले पनि निस्वार्थ भावमा आफूसँग भएको र आफूले सकेजति अरूलाई सहयोग गरौं । आफूले जानेको कुरा अरूलाई सिकाऔं । उच्च मानवता प्रदर्शन गरौं । आफू पनि बचौं ! अरूलाई पनि बचाऔं !!

गंगा श्रेष्ठ
१५ चैत्र २०७६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment