Comments Add Comment

कोरोनाले बढायो कण्डमको माग, अर्को वर्ष जन्मदर उच्च हुने अनुमान

विश्वमा कोरोना भाइरसको महामारी चलिरहँदा यसले मानिसको यौन जीवनमा चाहिँ सकारात्मक प्रभाव पारेको छ । विश्वका झण्डै आधा जनसंख्या अहिले लकडाउनका कारण घरभित्रै बस्न बाध्य भइरहँदा दम्पतीहरूबीच यौनसम्बन्धमा वृद्धि भएको छ ।

अहिले बढिरहेको यौनसम्बन्धको नतिजा आगामी डिसेम्बरपछि देखा पर्नेछ । विज्ञहरूका अनुसार, आगामी डिसेम्बर देखि सन् २०२१ को सुरुवातसम्मको अवधिमा जन्मदर अघिल्ला वर्षहरूमा भन्दा उच्च हुनेछ ।

कोरोना भाइरसका संक्रमितको संख्या झण्डै साढे ८ हजार पुगिसकेको युरोपेली मुलुक अष्ट्रियामा पछिल्लो समयमा कण्डमको माग ह्वात्तै बढेको छ । सुपर मार्केट तथा औषधि पसलहरूमा पछिल्लो दुई हप्तामा कण्डमको मागमा ३० प्रतिशतले वृद्धि भएको बताइएको छ । कोरोना भाइरसका कारण झण्डै दुई हप्तादेखि अष्ट्रिया झण्डै लकडाउनको अवस्थामा छ र मानिसहरू घरभित्रै बसिरहेका छन् ।

अष्ट्रियन पत्रिका क्रोनेन चाइतुङका अनुसार, अहिलेको कोरोना संकटका बेला जुनस्तरमा कण्डमको उच्च माग भइरहेको छ त्यसले मानिसहरू बीचमा यौन सम्पर्कको दरमा वृद्धि भएको देखाउँदछ । अध्ययन अनुसार यौन सम्पर्कका बेला ४० प्रतिशतले मात्र कण्डमको प्रयोग गर्ने गर्दछन् । यसले अष्ट्रियामा कोरोना संक्रमणपछि यौन सम्पर्कको दरमा निकै उच्च वृद्धि भएको देखाउँदछ । यौन सम्पर्कको बढ्दो दरको परिणाम अहिलेको ९ महिनापछि देखापर्नेछ । विज्ञहरूले अष्ट्रियामा आगामी डिसेम्बर तथा जनवरीमा सामान्य अवस्थामा भन्दा ठूलो संख्यामा शिशु जन्मिने अनुमान गरेका छन् ।

पछिल्ला वर्षहरूमा अष्ट्रियामा शिशुको जन्मदर घटिरहेको छ । तर कोरोनाको महामारीले जन्मदरमा वृद्धि गर्ने र त्यस्तो वृद्धिदर २०२१ सम्मै कायम रहने विश्वास गरिएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment