Comments Add Comment

काठमाडौंमा कोभिड १९ निगरानी एप शुभारम्भ

१७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड — १९) को सम्भावित महामारी निगरानी गर्न काठमाडौं महानगरपालिकाले आइतबार ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ सार्वजनिक गरेको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रणाली विकासकर्ताहरुलाई आफ्ना—आफ्नै ठाउँबाट भिडियो कन्फरेन्समा जोडेर राष्ट्रिय सभागृहबाट प्रणालीको शुभारम्भ गरे ।

यस प्रणालीमा कोभिड १९ सँग सम्बन्धित विशेषज्ञ डाक्टर, तथ्याङ्क विशेषज्ञ, भौगोलिक सूचना–प्रविधि विषेषज्ञले तथ्य जाँचेर र विश्लेषण सूचना राखिन्छ । यस एपमा व्यक्तिले भरेको विवरण्णको आधारमा उसलाई कोरोना भाइरस संक्रमण भएको वा नभएको, उसले अपनाउनुपर्ने सावधानी, घरमै बसे हुने वा स्वास्थ्य संस्थामा जानुपर्छ जस्ता सूचना पाइने महानगरपालिकाले जनाएको छ ।

संक्रमणको आशंका भएका व्यक्ति अस्पताल गएर भीड हुने अवस्थामा कमी ल्याउन यो प्रणालीले सहयोग गर्ने प्रणाली विकासकर्ताले बताएका छन् । प्रणाली शुभारम्भ गरिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भने– ‘सेवा दिनुपर्ने ठाउँमा उपचार नगरी नहुने बिरामी मात्र भए भने सेवा प्रवाहमा अनावश्यक झन्झट र खर्च गर्नुपर्दैन । हामी हाम्रा सेवालाई चुस्त र व्यबस्थित बनाउँदै लाँदैछौं । प्रणाली यसका लागि हो ।’

प्रमुख शाक्यले यो प्रणालीले कोभिड–१९ को संक्रमणको सम्भावनालाई सजिलोसँग पहिचान गर्न र व्यक्तिको स्थितिको गम्भीरता आफैंले मुल्याङ्कन गर्न सघाउने पनि बताए ।

प्रणालीका विकासकर्ता एवं सूचना प्रणालीविज्ञ भुषणराज श्रेष्ठ महामारी नियन्त्रणमा आइसकेपछि पनि यसलाई महानगरले नियमित प्रयोगमा ल्याउन सकिने बताए ।

कसरी लिन सकिन्छ जानकारी ?

‘कोभिड–१९ एप प्ले स्टोरबाट डाउनलोड केही समय लाग्ने भएकोले हाल काठमाडौँ महानगरपालिकाको वेबसाइट डब्लुडब्लुडब्लु डट काठमाडौं डट जिओभी डट एनपीबाट डाउन लोड गर्न मिल्ने बनाइएको छ ।

यसमा प्रयोगकर्ताले आफ्नो वा आफन्तका बारेमा सूचना भर्न सक्नेछन् । ती सूचनालाई प्रणालीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीले हेरेर ती व्यक्ति खतरामा छन् कि छैनन् जानकारी दिनेछन् ।

व्यक्तिले दिनको तीन पटक आफ्नो स्थिति एपमा अपडेट गर्नुपर्नेछ । स्वास्थ्यकर्मीले व्यक्तिको स्थिति हेरेर घरमै बस्ने कि अस्पताल जाने भन्ने सल्लाह दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment