Comments Add Comment

कोरोना संक्रमणको अनुभूति : हाम्रो मोडेल चिनियाँ कि अमेरिकी ?

०३९ सालतिर कृषि क्याम्पस चितवनमा पढ्दाको साथीेले न्युयोर्कबाट बिहान सात बजे भिडियो कल गर्नुभयो । हतपत फोन रिसिभ गरेँ । सामान्य शिष्टतापछि विश्वव्यापी महामारी कोभिड १९ को बारेमा चर्चा नहुने कुरै भएन । आतंकित मनस्थिति उहाँमा झल्किन्थ्यो । सासै नबिराइ भन्नु हुन्छ– हेर्नुस आनन्दजी अमेरिका त नाम मात्रको छ ।

पहिले कोेरोना भाइरसलाई चाइनिज भाइरस भनेर ठट्टा गर्दै Chines Peoples are sick people भनेर सिंगो चिनियाँ जनतालाई उपहास गरे । चीन सरकारले कोभिड १९ रोक्न गरेको प्रयासलाई मानव अधिकार उल्लंघनको जामा पहिर्‍याइयो । अहिले अमेरिका कोभिड १९ संक्रमणको इपिसेन्टर बनेको छ । विश्वव्यापी संक्रमणको सूचिमा अमेरिका पहिलो नम्बरमा छ ।

लगभग आजसम्म १ लाखभन्दा बढी संक्रमित छन् । दोस्रो इटाली र तेस्रो स्पेन र चौथो चीन हुन पुगेका छन । अमेरिकाको अस्पतालको भौतिक सुविधा र व्यवस्थापन छँदै छैन । न्यूयोर्कको माउण्ट सिनाई वेष्ट अस्पतालका कर्मचारीहरुलाई पीपीए लगायतका व्यक्तिगत सुरक्षा साम्रग्री प्रदान गर्न सकेको छैन ।

अस्पतालका नर्सहरुले पीपीईको सट्टा फोहोर प्याक गर्ने कालो झोला प्रयोग गरेका छन् । सोही अस्पतलामा काम गर्ने केली नाम गरेकी नर्सको गत मंगलबार कोरोनाका कारण मृत्यु भएको छ । थप चार जना अस्पतालका कर्मचारी कोरोना संक्रमित छन् ।

राष्ट्रपति ट्रम्पको सन्काहा र निरंकुश शैलीले नै अमेरिका चल्ने हो भने अब निकट भविश्यमा संक्रमणका कारण मृत्युशालामा परिणत हुने खतरा छ । उनमा यो विश्वव्यापी कोभिड १९ को महामारीको किञ्चित चिन्ता छैन । उनलाई त आउँदो नोभेम्बरमा हुने चुनावको चिन्ता मात्र देखिन्छ ।

न सल्लाहाकार, न जनता, न पार्टी नेता कसैको कुरा पनि सुन्दैनन् अमेरिकाका राष्ट्रपतिले । बुलेट ट्रेनको स्पिडमा कोरोनाको महामारी फैलँदो छ । यही क्रममा फैलिने हो भने अमोरिका सबै ढंगले धराशायी हुन्छ । अमेरिकालाई लकडाउन नगर्ने, अमेरिका लकडाउनका लागि होइन, अमेरिका खुल्ला गर्नका लागि हो भन्दै अहं देखाउँछन् ।

विश्व स्वास्थ्य संगठन चीनसँग परास्त भएको भनी आलोचना गर्दछन् । उता छिमेकी मुलुक मेक्सिकोले अमेरिकी नागरिकलाई मेक्सिको पस्न रोक लगाइसक्यो, अब अमेरिकन नागरिकहरुले मृतकको संख्या गन्नुपर्ने स्थिति आउँदैछ भन्दै चिन्ता व्यक्त गरिरहेका थिए ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी पहिलो हो । यसको औषधी र उपचार बिधिनै छैन । यसको रोकथामको लागि चिनिया सरकारको सफल रणनीति र अनुभव र अमेरिका तथा युरोपको असंवेदनशीलताका कारण सिर्जित भयावह स्थितिको सुष्म विश्लेषण र अनुभवको सार नै वर्तमान सरकारको सिकाइ हो ।

नेपालको सोलुखुम्बुमा जन्मेका ती मित्रले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि राजनीतिक सहमति लिनु, सबै जनतालाई एकतावद्ध गर्न जनतामा नयाँखाले आशा र भरोशा सिर्जना गर्न सफल भएकोमा सरकारको मुक्तकण्ठले प्रसंसा गरे ।

यो संवादपछि दुई विशाल जनसंख्या भएका मुलुकहरुका बीचमा रहेको र त्यसमा पनि दक्षिणतर्फ खुल्ला सिमाना भएको नेपाल यस महामारीको संक्रमणबाट अछुतो रहन सक्दैन । अल्पविकसित मुलुकले आफ्नो सीमित स्रोत साधनका बीचमा मुलकलाई संक्रमणमुक्त राख्न सरकारले गरेका पहला कदमीलाई सबैले सराहना गरेका छन् ।

यस विसम परिस्थितिमा ओली सरकारलाई आफैंमा चुनौती छँदैछ । त्यो चुनौतीलाई सामान गर्न वर्तमान सरकारको विगत अनुभव फलदायी हुन सक्छ । विगतमा प्रलयकारी भूकम्प, भारती नाकाबन्दीलाई सामाना गरेर मुलुकको पुनर्निर्माण र अर्थतन्त्र ब्युँताउन सफल भएको अनुभव वर्तमान प्रधानमन्त्रीसँग छ ।

अहिले देखिएको विश्वव्यापी कोभिड १९ को संक्रमणको जटिलताबाट मुुलुकलाई मुक्त गराउने जिम्मेवारी यही सरकारको काँधमा छ । यो सरकार पूर्ण जनताको म्यान्डेट पाएको बलियो सरकार हो । यो सरकारले लिएका वर्तवान नीतिले नेपाललई कोराना मुक्त राख्न सक्छ भन्ने विश्वास व्यक्त गर्न सकिन्छ ।

सरकारले खुल्ला सिमाना बन्द गर्ने, अन्तरराष्ट्रिय उडान रद्द गर्ने सिंगो मुलुकलाई लकडाउन गर्ने प्रदेश र स्थानीय तहलाई अलर्ट गराउने र परिचालन गराउने प्रदेशदेखि स्थानीय तहमा आइसोलेसन वार्ड र क्वारेन्टाइन निर्माण गर्ने, शंकास्पद भएमा क्वारेन्टाइन राख्ने विशेषतः विदेशबाट आउने नेपाली नागरिकलाई सम्बन्धित पालिकामार्फत निगरानी राख्ने, काममा खटिइसकेका छन् ।

परीक्षण गरिएका व्यक्तिहरुमा कोरोना भाइरस नेगेटिभ देखिएकाले सरकारको नीति प्रभावकारी भएको देखिन्छ । हालसम्म पाँचजना विदेशबाट नेपाल आएका नागरिकहरुमा मात्र संक्रमण देखा परेकोमा एकजना उपचारपछि घर फर्किसकेका छन् । अपवादबाहेक सरकारले गरेको लकडाउन पूर्णत सफल भएको छ । नागरिकहरु सरकारको पूर्ण समर्थन गर्दै घरभित्र नै बसेका छन् ।

नेपाली जनताले सरकारको कदमलाई साथ दिएका छन् । नेपाली जनताको आपत विपद र अप्ठेरोमा संयम, धैर्य आत्मविश्वासी र एकतावद्ध भएर विपतको सामना गर्ने संस्कृति पनि हो । नेपालीहरुले विभिन्न कालखण्डमा जस्तोसुकै अप्ठेरो विपतलाई हाँसी–हाँसी झेल्दै सफलता चुमेको इतिहास छ । यस पटक पनि विश्वव्यापी महामारीका रुपमा रहेको कोरोनाको संक्रमणलाई पनि पराजित गर्ने छन् ।

तथापि मानसिक रुपमा कोरोना भाइरसका कारण विश्व आक्रान्त छ, नेपाल आक्रान्त नहुने प्रश्न नै रहेन । महामारीसँगै बहुआयामिक चुनौतीहरु एकैपटक देखा पर्दैछन् । दुई ठूला छिमेकी पनि संक्रमणबाट मुक्त छैनन् । उत्तर छिमेकी कोरोनाको संक्रमणबाट तंग्रिँदै छ । दक्षिण छिमेकीले यो संक्रमणको सामना गरिरहेको छ ।

कोरोना भारतव्यापी फैलिँदैछ । यी दुई ठूला छिमेकीले संक्रमण रोकथाम गर्ने रणनीतिले पनि नेपालमा संक्रमण रोकिने रणनीतिलाई प्रभाव पार्छ । यतिबेला नेपालले दुई छिमेकी मुलुकले अंगीकार गर्ने नीतिलाई आफ्नो विशेषता र मौलिकतामा महामरी फैलन नदिने रणनीति अगाडि सार्नुपर्छ । यही मान्यतालाई आत्मसात गर्दै वर्तमान सरकारले उपप्रधान तथा रक्षामन्त्री नेकपाका प्रभावशाली नेता ईश्वर पोखेरलको नेतृत्वमा महामारी रोक्न छुट्टै राष्ट्रिय समिति बनाई नेपालमा संक्रमण रोकी महामारी फैलिन नदिन ठोस नीति अगाडि सारेको छ ।

हालसम्म सरकारले अगाडि सारेका रणनीति आम सहमति र प्रभावकारी भएका छन् । यो विपदबाट नेपाल र नेपालीलाई मुक्त गर्न आम सहमति बनेको छ । नेपालका सबै अंगहरु सरकार, कर्मचारी, सुरक्षाकर्मी राजनीतिक दल उद्योग व्यापारी, किसान, मजदुर, श्रमजिवी जनता, पत्रकार, मानवअधिकारकर्मी एक भएका छन् । कोराना भाइरस रोकथामका लागि यो शुरुवाती कदमले निकै सकारात्मक भूमिका निर्वाह गरेको छ । लकडाउनले परिणाम प्राप्त गरेको छ ।

विगतको तत्थ्यांकका आधारमा तत्कालै स्थानीय सरकारमार्फत विपन्न गरिबलाई लकडाउनको अवधिभरलाई निर्वाह भत्ता उपलब्ध गराउनु पर्छ । हामीसँग तत्थ्यांकप्रणाली एवम् व्यक्तिगत प्रोफाइल व्यवस्थित छैनन् । स्थानीय तहमा पक्षपातपूर्ण व्यवहार पनि हुन सक्छ, यसलाई सुक्ष्म ढंगबाट अनुगमन गरी नियमन गर्न आवश्यक छ ।

सरकारको हालसम्मका कदम उपयुक्त छन् । अब यो कदमबाट सिर्जत मानवीय समस्याको सम्वोधन कसरी गर्ने ? बहुआयामिक चुनौतिको हल कसरी गर्ने, समाजका विपन्न गरिव, दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने गरिवको श्रमिकहरुको समस्या हल गर्ने चुनौती एकातिर छ । दैनिक जीवनसँग प्रत्येक्ष सरोकार राख्ने वस्तुहरुको व्यवस्थित आपूर्ति अर्काे चुनौती रहेको छ । यस बारेमा सरकाले विशेष ध्यान पुर्‍याएको छ ।

यसमा प्रतिवद्धता पनि व्यक्त गरेको छ । तर, नागरिक अझै ढुक्क हुन सकेका छैनन् । यो स्वभाविक पनि हो । नेपाली समाजको चरित्र अलि भ्रममा चल्नाले Crowd Behavior परिणत हुन्छ ।

अहिले पनि कतिपय सामाजिक सञ्जाल, युटुयुवमा त्यस्तै खाले सामग्रीले प्राथमिकता पाएका छन् । ती सबै सरकारप्रति आलोचना र कमीकमजोरी देखाउन उद्दत्त देखिन्छन् । “खै सरकारले गरेको, के गर्दैछ, तयारी छैन, विश्वास गरिहाल्ने स्थिति छैन, सरकारको पहिलो रणनीति फेल भयो” आदि आदि ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी पहिलो हो । यसको औषधी र उपचार बिधिनै छैन । यसको रोकथामको लागि चिनिया सरकारको सफल रणनीति र अनुभव र अमेरिका तथा युरोपको असंवेदनशीलताका कारण सिर्जित भयावह स्थितिको सुष्म विश्लेषण र अनुभवको सार नै वर्तमान सरकारको सिकाइ हो ।

आफ्नो स्रोत साधनको परिचालन र सावधानी यो महामारी रोकथामको अचूक अस्त्र हो । त्यसैका आधारमा सरकाले सिक्दै र अनुभव हासिल गर्दै अगाडि बढेको छ । आम नेपाली जनता र नेपाललाई हेरिरहेको विश्व समुदायले सरकारको योजनामा समर्थन जनाइरहेका छन् । गच्छेअनुसार सहयोगको हात बढाउन उद्दत्त देखिन्छन् । यो नै नेपाल सरकारको कोभिड १९ को महामारी रोक्न सकिन्छ भन्ने आत्मविश्वास हो ।

सरकारको नेतृत्व उसको आत्मविश्वास र राष्ट्रलाई एकतावद्ध गराएर लाने जुन कौशलता सरकारले देखायो, त्यसलाई हामीले धन्यवाद दिनुपर्छ र सरकारको हर कदमलाई साथ दिने नेपाली जनताको पहिलो दायित्व हो । यो पूरा गर्न कृतसंकल्पित होऔं ।

सरकारको नीतिको कार्यन्वय र हाम्रो दायित्व भनेको संकास्पद बिरामीको परीक्षण, आइसोलेशन र अन्यमा संक्रमण फैलिन नदिन हरेक नागरिकले एक अर्का बीचको दुरी राख्नु हो । यो कार्य सरकारले गरेर मात्र सम्भव हुँदैन । हरेक नागरिकले आत्मसात गरेर, कार्यान्वय गरेमात्र सम्भव छ । यसमा सबैको साथ र ऐक्यवद्धता आवश्यक छ ।

माहामारी नेपाल लगायत विश्वव्यापी रुपमा सबै राष्ट्रले व्यहोरेका छन् । लकडाउनमार्फत महामारी रोक्न गरेका सरकारी प्रयासले दैनिक ज्यालामा बाँच्ने श्रमिको विहान बेलुकाको छाक धान्न मुस्किल भएको छ । अहिलेको अर्काे चुनौती भनेकै गरिव र विपन्न श्रमजीवी वर्गको बिहान–बेलुका हातमुख जोड्ने समस्यालाई सम्बोधन गर्नु रहेको छ ।

सरकारले तत्कालै उनीहरुको समस्या समाधान गर्न अन्तर्राष्ट्रिय र राष्ट्रिय वित्तीय एजेन्सी र सरकारले समय निर्धारण गरेको विपन्न पहिचान मापदण्डका आधारमा उनीहरुको दैनिकी चल्ने गरी निर्वाह भत्ताको व्यवस्था गर्न ढिला गरिनु हुन्न ।

विगतको तत्थ्यांकका आधारमा तत्कालै स्थानीय सरकारमार्फत विपन्न गरिबलाई लकडाउनको अवधिभरलाई निर्वाह भत्ता उपलब्ध गराउनु पर्छ । हामीसँग तत्थ्यांकप्रणाली एवम् व्यक्तिगत प्रोफाइल व्यवस्थित छैनन् । स्थानीय तहमा पक्षपातपूर्ण व्यवहार पनि हुन सक्छ, यसलाई सुक्ष्म ढंगबाट अनुगमन गरी नियमन गर्न आवश्यक छ ।

लकडाउनका कारण साना–ठूला व्यवयासी उद्योगीहरु सबैमा असर पारेको छ । मुलकको अर्थतन्त्र स्वभाविक नकारात्मक असर पर्छ । मानव जीवन र स्वास्थ्यभन्दा ठूलो बिषय अर्काे हुँदैन । यस विषम परिस्थितिमा अन्य विषयमा सोच्नु भन्दा व्यक्तिको जीवनको रक्षा नै राज्यको पहिलो प्राथमिकता हो ।

संक्रमणले सिमानाको साम्मान गर्दैन । यो सबैको साझा दुस्मन हो । यसको रोकथाममा साझा प्रयासबाटमात्र सम्भव छ । हाम्रो सन्दर्भमा दक्षिण एशिया पनि भन्न सक्छौं तर, यो भूमण्डलीय समस्या हो । यसको रोकथामका लागि चिनियाँ मोडेल प्रभावकारी देखिएको छ । भाइरसको रोकथामको उपायका लागि अनुसन्धान गर्दै नयाँ जानकारी पत्ता नलागुन्जेल अहिलेसम्म हाम्रो परम्परागत मूल्य मान्यता र व्यवहार अनि विज्ञानले खोजमार्फत विकास गरेको नियन्त्रण र उपचारको सुनिश्चितता गर्नुपर्छ ।

यतिबेर सबै राष्ट्रहरु साझा मान्यताका साथ परिचालित हुनुपर्छ । सामुहिक नियन्त्रण र उपचार संयन्त्र स्थापना गरी निजी अस्पताललाई पनि सरकारको दायराभित्र ल्याउन जरुरी छ । व्यक्ति र व्यक्तिको मुनाफाभन्दा जीवनरक्षाको ठूलो हो ।

विकसित, धनी र व्यवस्थित स्वास्थ्य प्रणाली र दक्ष जनशक्ति भएको भनिएका युरोप र अमेरिका लगायतलाई समेत कोभिड १९ संक्रमणको नियन्त्रण गर्न अप्ठेरो परेको स्पष्ट छ । नेपालले यस परिस्थितिबाट विचलित नभई यस भयावह स्थितिलाई मानवीय काबुमा राख्न निराश नभई, आत्मविश्वासका साथ एकतावद्ध भएर सामुहिक रुपमा संक्रमणविरुद्ध लड्नुपर्छ । अन्तर्राष्ट्रियरुपमा नै नियन्त्रण र उपचारका लागि सामुहिक कार्य गर्न जोड दिनुपर्छ । यतिबेर राजनीति र वाद भन्दा पनि माथि उठेर पृथ्वीलाई कोभिड १९ को महामारीबाट मुक्त राख्नु नै मानवीय दायित्व हो ।

(पूर्वपर्यटनमन्त्री पोखरेल नेकपाका नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment