Comments Add Comment

चीनमा अनुमति छैन, तर विश्वबजारमा बेचिरहेका छन् कोभिड–१९ टेष्ट किट

काठमाडौं । डिसेम्बर अन्तिममा चीनको वुहानमा कोरोना भाइरस (कोभिड–१९) देखा परेसँगै मेडिकल उपकरणहरुको माग बढ्न थाल्यो । संक्रमण फैलिँदै गएपछि चीनमै अभाव हुन थाल्यो ।

त्यसैले चीनले अन्य कम्पनीलाई पनि स्वास्थ्य सामग्री उत्पादनको आपतकालीन अनुमति दिने निर्णय गर्‍यो । त्यही निर्णयमा आधारित रहँदै नान्जियाङ लिमिङ बायो–प्रोडक्टसले आपतकालीन रुपमा मेडिकल सामग्री उत्पादन तथा बिक्रीको अनुमति पायो ।

नान्जियाङ लिमिङ बायो–प्रोडक्टसका संस्थापक जाङ सुवेन आपतकालीन अनुमति नदिएको भए आफूले मेडिकल सामग्री उत्पादनकालागि आवेदन भने नदिने बताउँछन् । किनकी चीनमा यस्ता कम्पनी खोल्न निकै लामो समयसम्म अनुमतिका लागि पर्खनुपर्ने हुन्छ ।

सरकारबाट अनुमति पाएपछि कम्पनीले कोरोना भाइरस पत्ता लगाउने टेस्टिङ किट उत्पादन सुरु गर्‍यो । तर, बिस्तारै चीनमा यो भाइरसको प्रकोप सुरुकोभन्दा नियन्त्रणमा आयो । यससँगै आन्तरिक माग घट्यो । त्यसपछि कम्पनीले आफ्नो उत्पादन चीन बाहिर निर्यात गर्ने निर्णय गर्‍यो ।

फेब्रुअरीमा जाङले चीनबाट निर्यात गरेर टेस्टिङ किट बिक्रीका लागि युरोपेली युनियनमा आवेदन दिए । मापदण्ड कम्पनीले पूरा गरेको पाइएको भन्दै इयुले मार्चमा बिक्रीको अनुमति दियो ।

र, अहिले कम्पनीमा इटाली, स्पेन, अष्ट्रिया, हंगेरी, फ्रान्स, इरान, साउदी अरेबिया, जापान र दक्षिण कोरिया जस्ता मुलुकबाट मेडिकल उपकरणको उल्लेख्य माग आइरहेको छ । बढ्दो मागसँगै कम्पनीले २४ घण्टा नै आफ्नो उत्पादन सञ्चालन गर्ने तयारी गरेको छ ।

अहिले कोरोना भाइरसको संक्रमणले युरोप पूरै आक्रान्त छ । विश्वभर करिब तीन अर्ब मानिस लकडाउनमा रहेको अनुमान छ । भाइरसका कारण मृत्यु हुने मानिसको संख्या ३० हजार कटेको छ भने ७ लाखभन्दा बढी मानिस संक्रमित भइरहेका छन् ।

त्यसैले विश्वभर मेडिकल सामग्रीको माग पनि चुलिएको छ । चिनियाँ किटको व्यापार पनि विश्वभर बढेको छ ।

चीनको बीजीआई ग्रुपले हालै मात्र अमेरिकामा आपतकालीन किट बिक्रीका लागि अनुमति पाएको छ । फेब्रुअरीको सुरुवातमा यो कम्पनीले निर्माण गरेकोमध्ये आधा किट चीनमा बिक्री गर्ने गरेको थियो । आफ्नो वुहानमा रहेको कारखानाबाट दैनिक दुई लाख किट बनाउँथ्यो । त्यतिबेला सबै शहर बन्द हुँदा कम्पनीले केही सय कर्मचारीले दिनमा २४ घण्टा किटहरु उत्पादन गथ्र्यो । तर, अहिले कम्पनीको सामग्रीको चीनमा बिक्री करिब शून्यको हाराहारीमा छ ।

तैपनि दैनिक ६ लाख किट निर्माण गरिरहेको छ । किनकी चीन बाहिर यसको माग बढ्दो छ । बिहीबारसम्म युरोपेली बजारमा आफ्नो किट बिक्री गर्न १०२ चिनियाँ कम्पनीले अनुमति पाएका छन् ।

तर, त्यसमध्ये धेरैले चीनमै किट बिक्रीका लागि अनुमति पाएका छैनन् । चीनले अहिलेसम्म केवल १३ कम्पनीलाई कोरोना भाइरस परीक्षण गर्ने किट बिक्रीको अनुमति दिएको छ ।

चीनको चाङ्साको एक बायोटेक्नोलोजी कम्पनीका प्रवन्धक आफ्नो कम्पनीलाई देशभित्र केवल जनावरको लागि मात्र टेस्टिङ किट बिक्रीको अनुमति प्राप्त भएको बताउँछन् । तर, ३० हजार कोभिड–१९ किट्स उत्पादनको तयारी गरिरहेको छ, जुन युरोपमा बिक्री हुनेछन् । मार्च १७ मा कम्पनीले युरोपमा किट बिक्रीको लागि अनुमति पाएको हो ।

गुणस्तरको प्रश्न

साउथ चाइना मर्निङ पोष्टकाअनुसार चीनबाट मार्चको सुरुमा ५५ लाख टेस्टिङ किट र नौ सय ५० भेन्टिलेटर स्पेन निर्यात भएको थियो । जसको समग्र मूल्य ४८ करोड १० लाख डलर थियो ।

तर, स्पेनमा चिनियाँ सामाग्रीको गुणस्तरमाथि प्रश्न उठेको छ । स्पेनको एक पत्रिकाले चिनियाँ कम्पनी बायोइजी कम्पनीले निर्माण गरेको किटले ३० प्रतिशत मात्र सही नतिजा दिने गरेको बतायो । बायोइजीले भने स्पेनी अनुसन्धानकर्ताले आफ्ना उपकरणको प्रयोग गर्न नजानेको कारण गल्ती देखिएको भन्दै आफ्नो बचाउ गरेको छ ।

यसैगरी, फिलिपिन्सका अधिकारीले पनि शनिबार चिनियाँ किट्समा खराबी रहेको बताएका थिए । तर, अहिले उक्त किट्स नाम नखुलेको कम्पनीले ल्याएको बताएको थियो ।

किट्स निर्माणको प्रक्रिया पनि जटिल छ । अहिले चीन र दक्षिण कोरिया मात्र यस किसिमका किट्सको अभाव नभएको मुलुक हुन् । बिहीबार आयरल्याण्डको एयरलाइन्सले आफ्नो सबैभन्दा ठूला पाँच विमान चीन मेडिकल उपकरण ल्याउन पठाउने बताएको थियो, जसमा प्रतिसाता एक लाख किट्स ल्याउने उल्लेख गरिएको थियो ।

चिनियाँ लगानी रहेको कम्पनी हुआक्सी सेक्युरेटिजले गत साता अहिले विश्वभर दैनिक सात लाख किट्स आवश्यक रहेको बताएको थियो । अहिले विश्वका सबै कम्पनीले पूर्ण क्षमतामा काम गरेपनि केही समयका लागि माग धान्न कठिन रहेको बताइएको छ ।

चीन यसअघि कहिलै पनि मेडिकल उपकरणमा अगाडि देखिएको थिएन । सधैं युरोपेली र अमेरिकी कम्पनीले विश्वको मेडिकल बजारमा आफ्नो राम्रो प्रभाव छाडेका थिए । तर, कोरोना भाइरसले भने चीनलाई मेडिकल सामग्रीको महत्वपूर्ण केन्द्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment