Comments Add Comment

कोरोना परीक्षणको दायरा बढाउन सभामुखको आग्रह

१७ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड-१९ को परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् । सोमबार एक अपिल जारी गर्दै उनले स्वास्थ्य उपकरणको उचित ढंगले वितरण र स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाउन पनि आग्रह गरेका छन् ।

विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा रहेर डटिरहेका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीको उनले प्रशंसा गरेका छन् ।

सभामुख सापकोटाले ‘लकडाउन’बाट प्रभावित विभिन्न क्षेत्रका समुदायलाई सम्बोधन गर्दै आर्थिक राहत तथा सहुलियतका कार्यक्रम अघि बढाएकामा प्रशंसा गर्दै दैनिक ज्यालामा निर्भर नागरिकका लागि राहतको उचित प्रवन्ध गर्न जरुरी रहेको उल्लेख गरे ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सबैले बाह्य क्रियाकलाप बन्द अर्थात् लकडाउन गर्नुपर्ने बाध्यता आइपरेको बताउँदै उनले यो संक्रमण भयावह हुन नदिन विकल्पहीन रहेको लकडाउनको पालना गरी घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन सबैमा अपिल गरेका छन् ।

सरकारका तर्फबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न प्रयास भइरहेको, अत्यावश्यक स्वास्थ्य सामग्रीको प्रवन्ध भइरहेको तथा विभिन्न मित्रराष्ट्रले सहयोग गरिरहेको उल्लेख गरे ।

अपिलमा उनले देशभित्र र बाहिरबाट प्रतिष्ठान र व्यक्तिगत रूपमा भइरहेका सहयोगको सराहना गर्दै थप सहयोग परिचालनको आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको गत फागुन २३ गतेको बैठकले कोरोनाविरुद्ध राष्ट्रिय सङ्कल्पका साथ अगाडि बढ्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गरेको अवगत गराउँदै थप पहलकदमीका लागि सङ्घीय संसद् सदैव तयार रहेको पनि उनले बताए ।

यो महामारी लामो समय नरहने तर यसलाई हाम्रो देशभित्र कति छिटो नियन्त्रण गर्ने भन्ने कुरा नेपालीकै सामूहिक प्रतिबद्धतामा निर्भर रहने सापकोटाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment