Comments Add Comment
कोरोनाका नाममा जनप्रतिनिधिको अगुवाईमा दुर्व्यवहार :

गाउँलेले रातारात एम्बुलेन्समा कोचेर पठाए, अस्पतालले भर्ना नलिँदा चौतारीमा रात काटे

१७ चैत, पोखरा । झमक्क साँझ परिसकेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राङ्गण पनि सुनसान छ । बिरामीको चाप नभएकाले एकाध मानिसहरु मात्र इमर्जेन्सी वार्डबाहिर छन्, जो नियमित बिरामीका कुरुवा रहेछन् ।

अस्पताल छिर्ने मुल गेटनिर प्रयोगशाला छ । प्रयोगशालाको अघितिर कोरोना भाइरस (कोभिड–१९) को टेस्ट गर्न बनाइएको टेन्ट छ । टेन्टको अघिल्तिर चौतारोमा सानो बच्चा रोइरहेको सुनियो । नजिकै गएर हेर्दा त्यहाँ त बच्चासँगै दुई किशोरी, दुई जना पुरुष र एक महिला चौतारामा देखिए ।

झमक्क साँझ पर्दा पनि यहाँ बसिरहने को होला ? चासो राख्दा थाहा भयो, उनीहरु तनहुँको रिसिङ गाउँपालिका–६ का लालबहादुर थापाका परिवार पो रहेछन् । उनीहरुले त्यही चौतारामा नै अघिल्लो रात पनि कटाइसकेका रहेछन् ।

‘के सुनाउँ हजुर ।  गाउँलेले रोग ल्यायो भनेर दूरदूर गरे । हिजो ८ बजे राति गाउँलेले उपचार गर्न जा भनेर हामी सबैलाई एम्बुलेन्समा हालेर पठाए,’ लालबहादुरले भने, ‘अस्पताल आउँदा डाक्टरले ज्वरो नापे र किन आएको भनेर हकारे । बाहिर गएर बस्नु भनेपछि यही चौतारामा रात काट्यौं हजुर ।’

लालबहादुर भारतमा मजदुरी गर्थे । कोरोना भाइरसको सन्त्रास बढेपछि कम्पनीले ‘घर जाऊ’ भनेर पठायो । उनी चैत ८ गते नेपाल फर्किए । घर फर्किएको केही दिनमा थापालाई ज्वरो आयो । मेडिकल गएर औषधि किनेर खाए र निको पनि भयो ।

तर, जब नेपालमा पनि कोरोनाको संक्रमित भेटिए, थापाको दुःखका दिन सुरु भए । गाउँलेले भारतबाट रोग ल्याएको छ भनेर कराउन थाले, ‘जचाउन जाऊ’ भन्न थाले । आइतबार रात परिसकेको थियो, गाउँले त एम्बुलेन्स बोलाएर त्यसमा थापा परिवारका सबैलाई हालेर ‘पोखरा गएर जाँच गर्नू’ भनेर पठाए ।

थापाकाअनुसार आइतबार उनलाई सामान्य ज्वरो थियो । तर, चिकित्सकले पनि उनलाई शंकास्पद बिरामीको रुपमा लिइर ‘घरमा नबसेको’ भनेर गाली गरे ।

‘अस्पताल आएर सबै कुरा बताएँ । त्यसपछि डाक्टरसा’बले गाली गर्नुभयो । घरमै नबसेर किन आएको भन्नुभयो,’ थापा भन्छन्, ‘बाहिर गएर बस्न लगायो । आधा रातमा कहाँ जानु ? यही चौतारोमा रात काट्यो ।’

थापाकाअनुसार गाउँले एम्बुलेन्समा हालेर पठाएकामध्ये सानी नानी उनकी छोरी हुन् । अर्को भाइको छोरी र एउटी साली । आफ्नो घरमा आउनुको कारण सबैलाई पठाएको सुनाउँदै थापाले भने, ‘अस्पतालमा आउँदा न जाँच ग¥यो न बस्न दियो । ‘बाहिर जा’ भनेपछि त्यही चौतारीमा रात काट्यौं ।’

सोमबार पनि उनको जाँच गरिएन । दिउँसो बल्ल थ्रोट स्वाबको नमुना संकलन गरेको उनले सुनाए । त्यो नमुना क्षेत्रीय प्रयोगशालाबाट काठमाडौं पठाइएको छ र ४८ घण्टापछि रिपोर्ट आउने प्रयोगशालाले जनाएको छ ।

चिकित्सकहरुले घर जानु भनेपछि लालबहादुरले सोमबार साँझ एम्बुलेन्स त चढेका छन्, तर ठूलो डर र चिन्ता छ  । ‘सर, हामीलाई केही त हुन्न होला नि है ।

सबैजना बिरामी भएर केही हुन्छ कि भनेर डर ला’को छ,’ लालबहादुरकी श्रीमतीले भनिन्, ‘यहाँ पनि सबले डरमात्र देखाए । हाम्रो चेक गरेन, बुढाकोमात्र जाँच्यो । दुई दिन लाग्छ रे थाहा पाउन पनि ।’

पैसा छ, तर किनेर खान पाइएन

अघिल्लो दिनदेखि चौतारोमै बसिरहेका थापाले सास्ती र डरमात्र खेपेनन् । भोक लाग्दा खान पनि पाएनन् । ‘सानी छोरी रोइरहन्छ’ थापाले दुखेसो पोखे, ‘खल्तीमा पैसा तर किनेर खान्छुभन्दा पनि पाएन ।’

थापामा कोरोना संक्रमणको आशंका भएको भन्दै अस्पतालको क्यान्टिनले पैसा लिन नमानेको हो । अरुकै सहयोगमा बिहानको गर्जो टारेका थापाले बेलुका त्यहीँका एक जना घुमुवा प्रहरीको साथ पाए ।

घुमुवा प्रहरीले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फोन गरिदिएपछि थापालाई क्यान्टिनबाट पकौडा, समोसा आयो । ‘अहिलेलाई त यसैले चल्छ, अब घर नै गएर खाने हो’ थापाले भने ।

अस्पताल पठाइसकेपछि मात्रै थाहा पाएँ : गाउँपालिका अध्यक्ष

वडाध्यक्षकै रोहवरमा गाउँलेले लालबहादुरलाई जबर्जस्ती पोखरा पठाएका थिए । तर, रिसिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ भने लालबहादुरको परिवारलाई पोखरा पठाइसकेपछि मात्रै आफूले जानकारी पाएको बताएका छन्।

‘गाउँलेले एम्बुलेन्स चढाएर पोखरा पठाएका रहेछन् । मैले पछि थाहा पाएँ । वडाध्यक्षलाई पनि गाली गरिसकेको छु,’ उनले भने ।

लालबहादुरले पनि हेलचेक्याइँ गरेका कारण गाउँले त्रसित भएको श्रेष्ठको भनाइ छ । घरमा सबै सँगै बस्ने र हिँडडुल गर्ने गरेका कारण गाउँलेमा त्रास बढेको भन्दै उनले भने, ‘गाउँपालिकाले क्वारेन्टाइन बनाउँदै थियो ।

घरमै क्वारेन्टाइनमा बस्न मिल्थ्यो । तर, उनी बाहिर हिँड्न थालेपछि गाउँले डराएर पठाएका रहेछन् । अब उनलाई गाउँमै ल्याएर क्वारेन्टाइनमा राख्छौं ।’

गाउँपालिकाले १० बेडको क्वारेन्टाइन बनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

एम्बुलेन्सले लैजानै मानेन

थापा परिवारलाई लिन गाउँपालिकाले एम्बुलेन्स पठाउँछु भनेपनि साँझसम्म आएन । थापा परिवार भने त्यही चौतारीमा पर्खिरहेको थियो ।

‘भीमालमा एम्बुलेन्स भनेको जानै मानेन बाटोबाटै फर्कियो । दमौली गएको रिसिङको एम्बुलेन्ससँग सम्पर्क नै भएको छैन,’ गाउँपालिका अध्यक्ष श्रेष्ठ भन्दै थिए ।

रात परेपछि भने पोखराबाट खैरेनीटारसम्म पुर्‍याउने र त्यहाँबाट रिसिङ गाउँपालिकाले व्यवस्था गर्नेगरी लालबहादुरको परिवार एम्बुलेन्स चढेको छ ।

शंकास्पदलाई अस्पतालमा राख्न सकिन्न : अस्पताल निर्देशक

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले होम क्वारेन्टाइनमै बसे हुने केही नभएको व्यक्तिलाई अस्पताल भर्ना गरेर राख्न नसकिने बताए । ‘उहाँलाई उच्च ज्वरो थिएन । परिवारका सदस्य पनि सब ठिक छन् । अनि सद्दे मान्छेलाई कसरी अस्पताल भर्ना गरेर राख्ने ?’ निर्देशक आचार्यले भने ।

कोरोनाको संक्रमणको जाँच गर्न आएका व्यक्तिलाई अस्पतालमा राख्ने व्यवस्था नभएको उनले बताए । त्यस्ता व्यक्तिका लागि क्वारेन्टाइनमा राख्ने कि आइसोलेसनमा भनेर सरकारले विचार पुर्यायाउनुपर्ने उनको भनाइ छ । ‘मैले गाउँपालिकाका अध्यक्षलाई फोन गरेर किन पठाएको भनेर कराएँ’ उनले भने, ‘उहाँलाई क्वारेन्टाइनमै राख्ने हो । आइसोलेसन वार्ड वा अस्पताल राख्नुपर्ने गरी कोरोना संक्रमण वा त्यसको लक्षण देखिएको छैन ।

प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्मा पनि लालबहादुर पोखरा आउनै नपर्ने बताउँछन् । ‘उनलाई विशेषज्ञ डाक्टरमार्फत् फोन गरेर घरै बस्न भनिएको थियो । केही परे भीमाद स्वास्थ्य चौकीमा खबर गर्न भनेका थियौं ।

दमौलीमा पीपीईसहित तालिम प्राप्त चिकित्सक थिए,’ निर्देशक शर्माले भने, ‘उहाँले कुनै अपराध गर्नुभएको होइन । पोखरा आइहाल्नुभयो । अस्पतालले केस हेरेपछि भर्ना गर्न नपर्ने भएपछि छाड्यो ।’ साथै उनले विदेशबाट फर्किएकाहरुलाई घर वा स्थानीय तहकै क्वारेन्टाइनमा राख्न सकिने भएकाले यस्तो दुर्व्यहार नगर्न आग्रह पनि गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment