Comments Add Comment

महामारीमा फोहोर व्यवस्थापन कसरी गर्ने ?

जोखिममा सफाइ कर्मचारी, सुरक्षा र प्रोत्साहनको खाँचो

अहिले देश कोभिड १९ बाट बच्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्दैछ । कुन बस्ती सुरक्षित छ र कुन असुरक्षित, यकिन भन्न सकिने अवस्था छैन । यो लेखमा चाहिँ महामारी नियन्त्रणमा अहम् भूमिका खेल्ने सरसफाइका बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।

कोभिड १९ का बिरामीबाट उत्पन्न फोहोर कसरी व्यवस्थापन गर्ने र ढल निकास कसरी गर्ने सवालमा प्रष्ट नीति अपनाउन आवश्यक छ ।

बिरामीले प्रयोग गरेका वा तिनका सम्पर्कमा आएका व्यक्तिले उपचार र अन्य सेवाका क्रममा प्रयोग गरेका, उनीहरूले उत्सर्जन गरेका फोहोर र ती फोहोरसित मिसिएका अन्य फोहोरका साथै फोहोर संकलन, वर्गीकरण, ढुवानी, प्रशोधन, व्यवस्थापनमा प्रत्यक्ष संलग्न व्यक्तिमार्फत् रोग फैलिन सक्ने भएकाले यसतर्फ ध्यान जान आवश्यक छ ।

द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनको एक रिपोर्ट अनुसार संक्रमितको संसर्गमा आएपछि तामाको सतहमा चारघण्टा, कागजको बोर्डमा २४ घण्टा, प्लास्टिक र स्टीलको हकमा ७२ घण्टासम्म कोरोना भाइरस जिउँदै रहेको भेटियो । यसर्थ संसर्गमा आएका विभिन्न बस्तु नियमित सफा गरिनुपर्ने देखिन्छ ।

अहिलेको विशेष परिस्थितिमा घरायसी फोहोरलाई पनि अस्पतालबाट निस्किने फोहोरसरह खतरनाक सम्झी गुणका आधारमा विभिन्न समूहमा विभाजन गर्न सकिन्छ ।

जूठो मिसिएका कागत, थुक र सिंगान पुछिएका कपासजस्ता फोहोरलाई विशेष झोलामा हाली मुख बन्द गरेर राख्न सकिन्छ । तयारी खाना किनिएका टिनका बट्टा एवं घिउ, महजस्ता खाद्य किन्दा आएका सिसिका बिर्काको भित्रपट्टि हावा नछिर्ने गरी लगाइएको सिलबरे (एलुमुनियमको) पातलो पत्र, सुई, दाह्री काट्ने पत्ती जस्ता धारिला वस्तुलाई विशेष बाकसमा राख्नुपर्छ ।

यस्ता विशेष फोहोरलाई संकलकले बुझ्ने गरी तोकिएको स्थानमा राखिदिने गर्नुपर्छ । अस्पतालका फोहोरलाई जस्तै इन्सिनेरेटरमा ११०० डिग्री सेल्सियसमा जलाउन सके अरू जीवाणुजस्तै कोभिड १९ पनि नाश हुन्छ ।

त्यस्तो सेवा नभएको स्थानमा सुरक्षित खाल्टामा पोलेर पनि यी फोहोर व्यवस्थापन गर्न सकिन्छ । यस्ता फोहोरसितको लामो सम्पर्कबाट जनस्वास्थ्यमा पर्न सक्ने सम्भावित प्रदूषणबाट बच्न ‘तत्काल सफाई’, ‘तत्काल ढुवानी’ र ‘तत्काल भस्म गर्ने’ नीति आवश्यक छ ।

जोखिममा सफाइ कर्मचारी

फोहोर व्यवस्थापनमा खटिने कर्मचारी आफैँ संक्रमणको ठूलो जोखिममा हुन्छन् । पेशागत जोखिमकै कुरा गर्दा, अन्य क्षेत्रको तुलनामा फोहोर व्यवस्थापनमा कार्यरत मजदूर बढी प्रभावित हुने गरेको पाइएको छ ।

अन्य पेशाको तुलनामा जैविक एरोसोल र हावामा उड्ने रसायनहरूले गर्ने श्वासप्रश्वास र छालासम्बन्धी रोगको बढी जोखिम त छँदैछ, यिनलाई कोभिड १९ को जोखिमसमेत बढी हुन्छ ।

महामारीको समयमा, फोहोर व्यवस्थापनमा संलग्न सबै कर्मचारीहरूलाई सुरक्षाका सबै उपायद्वारा सज्जित गर्नुपर्छ । उनीहरूलाई पनि चिकित्सकलाई सरह एन–९५ मास्क, डबल सर्जिकल पञ्जा, जुत्ता कभर, चश्मा, आदि संरक्षणात्मक पोशाक (पीपीई) द्वारा सुरक्षित गर्नुपर्छ । फिल्डमा पठाउनुअघि पीपीईको सही प्रयोग गर्ने तरिका पनि सिकाउनुपर्छ ।

फोहोर निर्मलीकररण क्षेत्र निर्धारण गरी त्यस्तो क्षेत्रमा असम्बन्धित व्यक्तिलाई प्रवेश गर्न दिन हुँदैन । फोहोर व्यवस्थापनमा संलग्न सबैको तापक्रम नियमितरूपमा नाप्ने गर्नुपर्छ । कर्मचारीको तापक्रम ३७.५ डिग्री सेल्सियस (९९.५ डिग्री फरेन्हाइट) भन्दा कम हुनुपर्छ । अन्यथा कोभिड १९ संक्रमण भएको शंका गर्नुपर्छ ।

फोहोर ओसार्ने गाडीका पांग्रा र गाडीको सतहलाई नियमितरूपमा निर्मलीकरण गर्नुपर्छ । फोहोरलाई हावाको सम्पर्कमा नआउने गरी छोपेर ओसार्ने गर्नुपर्छ ।

सफाइ कर्मचारीलाई राहत

विपदका समयमा सरकारले आम नागरिकलाई विभिन्न राहत र तोकिएको उद्धारकार्यमा खट्ने जनशक्तिलाई विभिन्न आकर्षण सुविधा वा भत्ता व्यवस्था गर्छन् । यसो गर्नाले समाजमा अमन चयन कायम हुन्छ । राष्ट्रसेवकमा काम गर्ने जोश आउँछ । यसपालि पनि स्वास्थ्य मन्त्रालय र कतिपय निकायले आफ्ना मातहतका चिकित्सक, नर्स र महामारी व्यवस्थापनमा सहभागीलाई आकर्षण भत्ता दिने घोषणा गरेका छन् ।

विषम स्थितिमा काम गर्दा जोखिमले पदीय सानो–ठूलो, एउटै सेवाका फरक उपविधालाई छुट्याएर नहेर्ने कुरालाई बिर्सिएर आकर्षणमा विभेद गरिएको भए पनि यसलाई सकारात्मक कदम नै मान्न सकिन्छ ।

राहत, भत्ता र पुरस्कारको यो लहरमा राज्यले प्राथमिकतामा राख्नैपर्ने समूह फोहोरमैला व्यवस्थापनमा संलग्न जनशक्ति पनि हुन् ।

चैत्र १८ गते बिहानसम्मको स्थिति हेर्दा टुङ्गो लागेका कोभिड १९ का दुई लाख तीन हजार केसमध्ये ८१ प्रतिशतलाई निको भएको छ र १९÷ को मृत्यु भएको छ । बाँकी ५ लाख ८२ हजार केसमध्ये ५ प्रतिशतको अवस्था चिन्ताजनक छ । यसरी हेर्दा कोभिड १९ को सवालमा ‘उपचारभन्दा रोकथाम जाति’ को सट्टा ‘मृत्युभन्दा रोकथाम बेस’ भन्नुपर्ने अवस्था छ ।

यस्तो गाम्भीर्यलाई ध्यानमा राखी व्यक्ति–व्यक्ति बीचको भौतिक दूरी कायम गर्न सरकारले देशै लकडाउन गरेको वर्तमान अवस्थामा सरसफाई कार्यमा संलग्न जनशक्तिलाई राज्यले जोखिम मोलेवापत आकर्षक भत्ता दिनुका साथै काममा खटेका कारणले दीर्घरोगी बनेमा वा मरेमा आश्रित परिवारलाई अभिभावकको अभावमा आवश्यक पर्ने सन्ततिको स्याहार सुसार, रोजगारी, पढाइ आदिको व्यवस्थासमेत गर्नुपर्ने देखिन्छ ।

यसरी उपलब्ध गराइने भत्ता र पुरस्कार कत्ति पनि विभेदकारी नभई सबै सरसफाइकर्मीमा उत्साह जगाउने खालको हुनुपर्छ ।

(लेखक त्रिभुवन विश्व विद्यालयमा कार्यरत फार्मेसी विषयका प्राध्यापक हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment