Comments Add Comment

कोरोना संक्रमणको भय र भ्रम चिर्ने प्रयास

मानौं कोरोना भनेको घर बाहिर जहाँ त्यहीँ हुन्छ । संक्रमण भइहाल्यो भने ज्यान गइहाल्छ भनेर जसरी हल्ला भइराखेको छ । अमेरिकाका राष्ट्रपतिले समेत यो औषधि भनेर अनुसन्धानमै रहेका औषधिको नाम ट्वीट गर्नुभयो । मागेजति पीपीई भयो भने सबै स्वास्थ्यकर्मी सुरक्षित हुन्छन् र प्रशस्त भेन्टिलेटर भयो भने सबै बिरामी बाँच्छन् भने जसरी प्रचारबाजी भएको छ ।

क्वारेन्टाइनकालागि बनाइएका टहराहरु, आइसोलसनका लागि बनाइएका बेडहरु र अस्पतालहरुमा राखिएका ज्वरो क्लिनिक देख्दा आम मानिसलाई आशाको सञ्चार गराइएको देखिन्छ ।

लकडाउनको एकदिन अस्पतालबाट घर फर्कँदै गर्दा एयरपोर्ट अगाडि प्रहरीहरुले बाटो छेके । गाडीमा डाक्टरको लोगो देख्ने बित्तिकै सजिलै बाटो छाड पनि छाडिदिए । एक जना प्रहरीले मास्क लगाउनुस् है भनेर सल्लाह समेत दिए । सोच्दै सोच्दै घरतिर लागेँ । गाडीमा एक्लै हुँदा मास्क लगाउनुपर्ने मानौं हावामा सबैतिर कोरोना फैलिएको छ । फेरि अर्को मनले सोचेँ सायद मबाट अरुलाई सर्छ भनेर त्यस्तो सल्लाह दिएको जस्तो पनि लाग्यो ।

पेशाले शल्यचिकित्सक भएपनि आफूले जानेको बुझेको कुराहरु सबैसामु प्रेसित गरौं भनेर यो कुरा लेखिरहेको छु । सकेसम्म यस्ता भ्रमहरु चिर्दैजानु एक सचेत नागरिकको कर्तव्य पनि हो ।

कोरोना सम्बन्धी जानकारीका लागि विश्व स्वास्थ्य संगठन र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनलाई सबैभन्दा बढी विश्वास गर्नुपर्छ । नेपालका ठूला र जिम्मेवार मिडियालाई पनि केही हदसम्म विश्वास गर्न सकिन्छ ।

सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा धेरै मानिसलाई एक्कासी निमोनिया देखियो जसको कारण नयाँ खाले कोरोना भाइरस रहेको तथ्य पत्ता लाग्यो । यसलाई नोबल कोरोना भाइरस भनियो । यसको वास्तविक नाम SARS-CoV-2 (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस-२) हो र यसले गराउने रोगको नाम कोभिड-१९ (कोरोना भाइरस डिजिज) हो ।

सन् २०१९ मा पहिलोपल्ट पत्ता लागेकाले यसको नामसँग १९ जोडेर राखिएको हो । कोरोना भाइरसको इतिहास लामो छ । पहिलोपल्ट सन् १९३० मा कुखुराहरुमा लागेको थियो जसको नाम आइबीभी (इन्फेक्सियस ब्रोन्काइटिस भाइरस) हो । त्यसपछि मानिसमा लाग्ने कोरोना भाइरसहरु पत्ता लाग्दै गए । जसमध्ये 229E, OC43, NL63 र HKU1 ले हल्का रुघा मात्र लाग्यो भने SARS-CoV, MERS-CoV  SARS-CoV-2 ले गम्भीर रोग पैदा गर्नसक्छ । यी भाइरसहरु चमेरोमा पाइने भाइरस सँग मिल्दोजुल्दो बिटा समूहमा पर्छन् । तर, चमेरोबाटै आएको भनेर यकिन गर्न सकिएको छैन ।

SARS-CoV-2 (COVID-19 Virus) वुहानको समुन्द्री जीव बेच्ने बजारबाट फैलियो । पछि मान्छेबाट मान्छेमा फैलियो भन्ने अनुमान छ। यो भाइरस इन्फ्लुएन्जा वा रुघा सरेजस्तै एकबाट अर्को व्यक्तिमा सर्छ । खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा सर्छ । त्यस्तै, भाइरस टाँसिएर बसेको चिज छोएर आँखा, नाक वा मुखमा छुँदा पनि सर्ने सम्भावना रहन्छ । यो भाइरस फोक्सो भित्र छिरेर कोशिकामा भएको ACE 2 (एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम २) सँग टाँसिन्छ र भित्र छिर्छ ।

कसैलाई सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएपछि उपचार गरेर ठिक हुन्छ भने केहीलाई जस्तो सुकै उपचार गरेपनि काम लाग्दैन र मृत्यु हुन्छ । संक्रमण भइसकेपछि लक्षण देखियो भने १४ दिनभित्रै देखिन्छ । धेरैलाई भने ५ दिनभित्र नै देखिन्छ । यो समयलाई इन्क्युवेसन पिरियड भनिन्छ । वुहानमा संक्रमण भएर लक्षणहरु देखिएर अस्पताल आएका ४४ हजार पाँच सय जना बिरामीमध्ये हल्का समस्या ८१ प्रतिशतमा देखियो, गम्भीर समस्या १४ प्रतिशतलाई देखियो र अत्यन्त जटिल समस्या पाँच प्रतिशतलाई देखियो । जम्मा २ दशमलब ३ प्रतिशतको मृत्यु भएको थियो र मृत्यु हुनेहरु अत्यन्त जटिल समस्या भएकाहरु थिए ।

संक्रमण भएर लक्षण देखिएका बिरामीमध्ये लगभग ९९ प्रतिशतलाई ज्वरो आएको पाइयो जसमध्ये २० प्रतिशतलाई १००।४ डिग्री फरेनहाइटभन्दा मुनि ज्वरो आयो । त्यस्तै, अन्य लक्षणहरुमा क्रमश थकान, सुख्खा खोकी, खान मन नलाग्ने, मांशपेशी दुख्ने, श्वास फेर्न गाह्रो हुने, खकार आउने गर्दछन् । असाध्यै थोरै बिरामीलाई टाउको दुख्ने, घाँटी दुख्ने, सिँगान बग्ने, पखाला लाग्ने, बान्ता हुन खोज्ने जस्ता लक्षणहरु देखिन्छन् । गन्ध महसुस नहुने लक्षण पनि देखिएको छ, तर प्रामाणित छैन। अन्य भाइरल संक्रमणबाट विश्वस्त हुनसक्ने गरी छुट्याउन सकिने लक्षणहरु छैनन् ।

संक्रमण भएका बिरामीमध्ये इटालीमा उमेर बढी भएका मानिसहरु धेरै थिए जसमा औसत उमेर ६४ वर्ष थियो । तर, कोरियामा औसत उमेर ४० वर्ष मात्र थियो । त्यसैले इटालीमा मृत्युदर ७।२ प्रतिशत र कोरियामा ०।९ प्रतिशत मात्र थियो । उमेर बढी भएका र विभिन्न रोगहरु लागेका मानिसहरुमा गम्भीर रोग लाग्ने र मृत्यु हुने सम्भावना बढी देखिएको छ । विभिन्न रोगहरु भन्नाले मुटुको समस्या, उच्च रक्तचाप, डायविटिज, फोक्सोको समस्या, क्यान्सर, मृगौलाको रोग भन्ने बुझ्नुपर्दछ । लक्षण भएका बिरामीमध्ये दुई प्रतिशत मात्र २० वर्ष मुनिका थिए ।

समुदायमा कति मानिसहलाई सर्छ भन्ने कुरा के कस्ता रोकथामका उपाय अपनाइएका छन् भन्ने कुराहरुमा निर्धारण गर्दछ । डायमण्ड प्रिन्सेस पानी जहाजमा रहेका तीन हजार सात सय मानिसहरु मध्ये छ सय १९ जनालाई जाँच गर्दा संक्रमण देखियो । यो दर १७ प्रतिशत हो । बिरामीहरुलाई आइसोलेसन गरियो र अन्यलाई क्वारेन्टाइनमा राखियो । यदि यस्ता उपायहरु नगरिएको भए संक्रमण दर ७९ प्रतिशत हुनसक्ने अनुमान गरिएको थियो ।

कस्ता मानिसलाई संक्रमणको शंका गर्ने र कस्तालाई परीक्षण गर्ने भन्ने प्रश्न महत्वपूर्ण छ । गएका १४ दिन भित्र कोभिड-१९ भएका ठाउँमा बसेको वा यात्रा गरेको, संक्रमण पत्ता लागेको मानिसहरुको सम्पर्कमा आएको र ज्वरो, खोकी लागेको वा श्वास फेर्न गाह्रो भएका मानिसलाई शंका गर्नुपर्दछ । शंका लाग्दैमा सबैलाई परीक्षण गर्न सम्भव पनि हुँदैन । कस्ता मानिसलाई परीक्षण गर्ने भनेर चारवटा प्राथमिकता तोकिएको हुन्छ । पहिलो प्राथमिकतामा आईसियूमा भर्ना भएका शंकास्पद बिरामी र लक्षण देखिएका स्वास्थ्यकर्मी पर्दछन् । चौथो प्राथमिकता वा प्राथमिकतामा नपर्ने मानिस भन्नाले शंकास्पद तर लक्षण नदेखिएका पर्छन् । परीक्षण गर्न नाक, मुख वा फोक्सोबाट पदार्थ जम्मा गरेर RT-PCR (रिभर्स ट्रान्सक्रिप्टेज पोलिमरेज चेन रियाक्सन) विधिबाट भाइरस भए नभएको जाँच गरिन्छ । मुखबाटभन्दा नाक भित्रबाट जाँच गरिएकोलाई राम्रो मानिन्छ । खकार आएका बिरामीको खकारबाट पनि जाँच गर्न सकिन्छ । तर, सुख्खा खोकी लागेकालाई जबर्जस्ती खकार निकाल्न लगाउनुहुँदैन । भेन्टिलेटरमा राखिएका बिरामीमा श्वासनली भित्रैबाट निकालिएको पदार्थ जाँच गरिन्छ ।

यस्ता परीक्षण विधिको नतिजामा केही व्यक्तिलाई फल्स पोजिटिभ (संक्रमण नभएको तर नतिजा पोजिेटिभ देखिएको) वा फल्स नेगेटिभ (संक्रमण भएको तर नतिजा नेगेटिभ देखिएको) देखिनसक्छ ।

यदि फल्स नेगेटिभ छ। तर, लक्षणहरु मिल्दोजुल्दो छ भने पटक पटक जाँच गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ अन्य इन्फ्लुएन्जा र कोभिड-१९ सँगै संक्रमण भएको पनि हुनसक्छ ।

लक्षण देखिएको सुरुवाती दिनहरुमा भाइरस धेरै हुन्छ त्यसपछि बिस्तारै घट्दै जान्छ । त्यसैले लक्षण देखिएको सुरुका दिनमा सम्पर्कमा आएका अन्य मानिसलाई सर्ने सम्भावना बढी हुन्छ । साधारण लक्षणहरु देखिएका बिरामीहरु दुई हप्ताभित्रै ठिक हुन्छन् भने सिकिस्त बिरामीहरु बाँचे भने ठिक हुन ६ हप्ताजति लाग्छ ।

संक्रमितहरुको व्यवस्थापन कसरी गर्ने भन्ने पक्ष पनि महत्वपूर्ण छ । लक्षण नदेखिएका वा साधारण लक्षण देखिएका व्यक्तिले घरमै आइसोलेसनमा बस्न मिल्छ । तर, लक्षणहरु गम्भीर बन्न थाल्यो वा श्वास फेर्न गाह्रो हुन थाल्यो भने तुरुन्त अस्पताल जानुपर्छ । घरमा अरु मानिसहरुसँग दुरी कायम गरेर बस्ने, मास्क लगाउने, अस्पताल जानुपर्ने भएमा पनि मास्क लगाएर जाने गर्नुपर्छ ।

लक्षण नदेखिएका संक्रमितले पनि चनाखो भएर बस्नुपर्छ । एउटा अध्ययनमा देखाइएको छ, २४ जना यस्ता व्यक्तिहरुमध्ये १२ जनामा फोक्सोमा दख्खल परिसकेको देखियो छातीको सिटी रिपोर्ट अनुसार । त्यसैले लक्षणहरु देखिन थाल्यो भने चिकित्सकीय परामर्श लिनुपर्छ ।

कहिलेसम्म आइसोलेसनमा रहने ? यदि परीक्षण गर्न मिल्छ धने औषधि बिना नै ज्वरो घट्यो र अन्य लक्षणहरु सन्चो भयो भने परीक्षण गर्ने र एकदिन बिराएर गरिएको दुबै परीक्षणको नतिजा नेगेटिभ आयो भने आइसोलेसनबाट बाहिर निस्कन मिल्छ । प्रायः जसो १४ दिन आइसोलेसनमा राख्ने गरिन्छ ।

भाइरल संक्रमण भएकोले लक्षण अनुसारको उपचार गरिन्छ । ज्वरोको लागि प्यारासिटामोल राम्रो मानिएको छ । सार्सको महामारीको बेला अत्याधिक प्रयोग गरिएको ग्लुकोकर्टिकोइड हर्मोन कोभिड १९ मा प्रयोग नगर्न सल्लाह दिइएको छ। अनुसन्धानको क्रममा अन्य औषधिहरु पनि छन् जस्तै Ramdesivir,Chloroquine/hydroxychloroquine,Tocilizumab,Lopinavir- ritonavir आदि। आफुखुशी यस्ता औषधिहरु प्रयोग गर्दा कहिलेकाहीँ भयावह समस्या पनि आउन सक्छ ।

हिजो आज एकदमै धेरै बहसमा आउने गरेको एउटा विषय हो पीपीई अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट। नो पीपीई नो वर्क (पीपीई नभए काम नगर्ने) र स्वास्थ्यकर्मीले बिरामी जसरी पनि जाँच्नैपर्ने भन्ने अतिवादी कुराकानी पनि आउन थालेको अवस्था छ । यस्तै भ्रम निराकरण गर्न विश्व स्वास्थ्य संगठनले निर्देशन गरेको छ । स्वास्थ्यकर्मीको सुरक्षालाई तीन तहमा वर्गीकरण गरिएको छ । जसमध्ये पहिलो तह अर्थात् ओपीडीमा साधारण बिरामीहरु जाँच गर्दा पीपीई आवश्यक पर्दैन। तर, सुरक्षाका अन्य विविध विधिहरु अपनाउनु जरुरी हुन्छ । दोश्रो र तेश्रो तह अन्तर्गत् ज्वरो क्लिनिक, आइसोलेसन वार्ड, आइसियु जहाँ शंकास्पद वा संक्रमितहरुसँग सम्पर्कमा आउने ठाँउहरुमा भने पीपीई अनिवार्य चाहिन्छ ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका अन्यको पहिचान गर्ने विधिलाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ । यस्ता व्यक्तिहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राखिन्छ । हरेक संक्रमित व्यक्तिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुई हप्ता क्वारेन्टाइनमा राख्न सम्भव हुँदैन । एक संक्रमित स्वास्थ्यकर्मीले धेरै मानिसलाई सार्न सक्छन्। त्यसैले विश्व स्वास्थ्य संगठनले निर्देशन गरे अनुसार कुनै स्वास्थ्यकर्मीले पीपीई नलगाई आफूलाई जाँच गर्दा आम मानिसले पनि स्वीकार्नुहुँदैन ।

अन्त्यमाः संक्रमणबाट बच्नु नै उत्तम उपाय मानिन्छ । सकेसम्म घरमै बस्ने, सामाजिक दुरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने वा ६० प्रतिशतभन्दा बढी अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने, खोक्दा वा हाच्छिँउ गर्दा छोपेर मात्र गर्ने, आँखा, नाक, मुख नछुने, भिडभाडमा नजाने, सरसफाईमा ध्यान दिने गर्नाले यस्ता संक्रमणबाट बच्न सकिन्छ र अरुलाई पनि बचाउन सकिन्छ ।

(कोइराला काठमाडौको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर तथा किष्ट मेडिकल कलेजका सिनियर कन्सल्ट्यान्ट जिआई एन्ड ल्यापरोस्कोपिक सर्जन हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment