Comments Add Comment

बार्सिलोनाका अध्यक्षले भने : मेसीले तलब कटौतीमा कहिल्यै असहमति राखेनन्

१८ चैत, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तोमेउले कप्तान लिओनल मेसीले तलब कटौतीमा सहमति जनाएको बताएका छन् ।

एक दिन अघि मात्र मेसीले खेलाडीको तलब कटौतीबारे ढिला निर्णय हुनुमा क्लबका ठूला पदाधिकारी जिम्मेवार रहेको बताएका थिए ।

यसैबारे बार्तोमेउले मेसीले तलब कटौतीबारे कहिल्यै असहमति नराखेको जनाएका छन् । मेसीसहित बार्सिलोनाका खेलाडी ७० प्रतिशत तलब कटौती गर्न तयार भएको धारणा मेसीले सार्वजनिक गरेका थिए ।

अहिले विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण बार्सिलोनाले खेलाडीको तलबको ठूलो हिस्सा कटौती गर्नुपरेको हो । क्लबका अन्य कर्मचारीलाई पूरा तलब दिनका लागि खेलाडीको तलबमा ७० प्रतिशत कटौती गरिएको क्लबले जनाएको छ ।

क्लबका सिनियर खेलाडी र क्लब निर्देशकबीच तलब कटौती बारे असहमति भएको भन्ने रिपोर्ट बाहिर आउन थालेपछि यो समाचार आएको छ । कप्तान मेसीले खेलाडीहरुले तलब कटौती गर्ने प्रस्तावमा असहमति नजनाएको बताएका छन् ।

यस्तै क्लबका अध्यक्ष बार्तोमेउले पनि मेसीले कहिल्यै तलब कटौतीसम्बन्धी निर्णयलाई अस्वीकार नगरेको बताए । ‘मेसीले पहिलो दिन देखिनै मलाई तलब कटौती गर्नुपर्छ भनेका थिए’ बार्तोमेउले स्पोर्ट्सलाई भनेका छन्, यो प्रस्ताव कप्तानबाटै आएको हो । यो उनीहरु क्लबहरु कति बफादार छ भन्ने संकेत हो ।’

मेसीले खेलाडीहरुको प्रतिनिधित्व गर्दै सोमबार तलब कटौतीबारे धारणा सार्वजनिक गरेका थिए जुन पछि टिमका खेलाडीले पनि सेयर गरेका थिए ।

जहाँ मेसीले राष्ट्रव्यापी लकडाउनका बेला क्लब र स्टाफलाई सहयोग गर्न खेलाडी तलब कटौती गर्न खुशी रहेको बताएका थिए ।

कोरोना भाइरस महामारीको कारण स्पेनिस ला लिगा अनिश्चितकालको लागि स्थगित भएको छ । कोरोनाको कारण अहिले पूरा युरोपमा ठूलो असर परेको छ । स्पेनमा मात्र ८७ हजार भन्दा बढीमा संक्रमण छ भने साढे ७ हजार बढीको मृत्यु भइसकेको छ ।

ला लिगा र स्पानिस पुटबल फेडेरेसन कोरोना महामारी रोकिएपछि र जनस्वास्थ्य ठीक भएपछि मात्र फुटबल फेरि शुरु गर्न सहमत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment