Comments Add Comment

चितवनमा कोरोना भाइरस परीक्षण कहिले ?

१८ चैत, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा कोरोना भाइरसको नमुना परीक्षण गर्ने ल्याब छैन । संघीय सरकारले कोरोना परीक्षणलाई प्रदेशस्तरसम्म लैजाने निर्णय गरी वागमती प्रदेशमा हेटौंडामा ल्याब राख्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको स्क्रिनिङ, ओपीडी तथा आइसोलेनसका लागि तयार गरिएको भरतपुर कोरोना अस्पताल र भरतपुर अस्पतालमा बिरामीबाट निकालिने स्वाब गाडीमा राखेर टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाउने गरिएको छ ।

स्वाब निकाल्ने, परीक्षण लागि पठाउने र नतिजा कुर्नपर्ने हुँदा निकै लामो समय लाग्ने झण्झटबाट यहाँका स्वास्थ्यकर्मीहरु चिन्तित बनेका छन् । अहिले आन्तरिक हवाई उडानसमेत बन्द भएकोले गाडीमा राखेर स्वाब पठाउने गरिएको कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए ।

केन्द्र सरकारले हेटौंडामा ल्याब स्थापना गर्ने तयारी गरेपछि जिल्लाका विरोधका स्वर पनि नसुनिएका हैनन् । डा. अधिकारीले चितवनमा नै कोरोनाको नमुना परीक्षण गर्ने ल्याब स्थापना गर्ने निश्चित जस्तै बनेको बताए ।

‘मेडिकल राजधानी एकतिर हुने ल्याब अर्कोतिर राख्ने काम अलि व्यवहारिक नदेखिएको हो कि भन्ने देखिन्छ’ डा. अधिकारीले भने ‘तर हामीले हेटौंडा भएकोमा विरोध पनि गरेका छैनौं, यही नै सम्भावना खोजी गरेका हौं ।’

डा. अधिकारीका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालयको जैविक प्रविधि केन्द्रको ल्याब, भरतपुरको पशुपंक्षी प्रयोगशाला, क्यान्सर अस्पताल भरतपुर गरी तीन ठाउँमा हेरिएको छ। चितवनमै प्रयोगशाला बनाउने उद्देश्यका साथ भरतपुर महानगरपालिकाको पहलमा जिल्लाका सम्भावित स्थानहरुको निरीक्षण गरिएको भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

उनले चितवनमा शतप्रतिशत कोरोना परीक्षण प्रयोगशाला बन्ने निश्चित भएको बताइन् । यसका लागि महानगरपालिकाको नेतृत्वमा अन्य सरोकारवाला निकायसँग समन्वय गरिने नगर प्रमुख दाहालको भनाइ छ ।

मन्त्रालयबाट एक प्राविधिक टोली आएर सम्भावित ठाउँहरुको निरीक्षण गरी फर्किएको छ । रामपुरको जैविक प्रविधि केन्द्रका प्रमुख डा. ईश्वरीप्रसाद कडरियाले भाइरसको ल्याब परीक्षणको लागि डब्लुएचओको मापदण्ड अनुसारको जैविक सुरक्षा हुनुपर्ने बताए । त्यसका लागि रामपुर उपयुक्त हुने उनको दाबी छ ।

रामपुरमा दुई वटा आरटी पीसीआर मेसिन छ । डा. कडरियाका अनुसार रामपुरमा चारवटासम्म ल्याब स्थापना गर्न सकिन्छ । उनले आरटी पीसीआर मेसिनबाट जिन लेभलमा भाइरस भए नभएको पत्ता लगाउनुपर्ने बताए ।

जैविक सुरक्षाको प्रबन्ध, परीक्षण किट, नमुनाको प्रोसेसिङका लागि तालिम प्राप्त प्राविधिक र थोरै पूर्वाधार बनाउँदा परीक्षण ल्याब स्थापना गर्न सकिने डा. कडरियाले बताए ।

प्रयोगशाला कहाँ बनाउने भन्ने बारेमा भोलि (बुधबार) स्वास्थ्य मन्त्रालयको टोलीले निरीक्षण गर्ने कोरोना रोगविरुद्ध जिल्ला समन्वय समितिका संयोजक तथा वागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए ।

निरीक्षणका लागि स्वास्थ्यमन्त्रीका सल्लाहकार खेम कार्कीसहित प्राविधिक टोली चितवन लागेको संयोजक सुवेदीले जानकारी दिए । महानगर प्रमुख दाहालले प्राविधिक टोलीको निरीक्षण पश्चात तुरुन्तै प्रयोगशाला स्थापना गरिने जानकारी दिइन् ।

सरकारले प्रादेशिक प्रयोगशाला हेटौंडामा बनाउने तयारी थालेपछि चितवनमै प्रयोगशाला निर्माण हुनुपर्ने आवाज उठ्दै आएको थियो । मेडिकल सिटीको रुपमा परिचित चितवन हरेक तवरले प्रयोगशाला स्थापना गर्ने उचित ठाउँ रहेको तर्कहरु आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment