
२० चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेकी छन् ।
अष्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहाललाई टेलिफोन गरेर राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपालीको स्वास्थ्य स्थितिबारे जिज्ञासा राखेकी हुन् ।
राजदूत दाहालले अनलाइनखबरसँग भने, ‘राष्ट्रपतिले टेलिफोन गरी यहाँ भएका नेपालीको अवस्थाबारे जिज्ञासा राख्नुभयो । मैले पछिल्लो स्थितिबारे जानकारी दिएँ ।’
राष्ट्रपति भण्डारीले अस्ट्रेलियामा भएका सबै नेपालीलाई सुरक्षित रहन आग्रहसमेत गरेकी छन् ।
अस्ट्रेलियास्थित नेपाली सामाजिक सस्थाहरुको महासंघको एक तथ्यांकअनुसार यहाँ नेपाली मूलका ९४ हजार ५ सय स्थायी बासिन्दा छन् भने २४ हजार ५ सय नेपाली पर्यटक विगत ८ महिनायता अस्ट्रेलियामा छन् । त्यस्तै ५७ हजार ७ सय नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्यनरत छन् ।
अस्ट्रेलियाली नागरिक तथा स्थायी बासिन्दाका लागि सरकारले राहत कार्यक्रम ल्याए पनि पर्यटक, अस्थायी बासिन्दा र अन्तर्रास्ट्रिय विद्यार्थीलाई सम्बोधन गरेको छैन ।
नेपाली दूतावास र गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले संयुक्त रुपमा तयार गरेको तथ्यांकअनुसार अहिले विभिन्न राज्यमा चार सय ८७ जना स्वयं एकान्तबासमा छन् ।
अहिलेसम्म नौ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिए पनि चार जना निको भएका छन् भने अरुको पनि स्वास्थ्यमा सुधार भइरहेको छ ।
प्रतिक्रिया 4