News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ आगामी जुन २५ देखि २८ सम्म मेरिल्यान्डमा आयोजना हुने भएको छ।
- उद्घाटन फिल्म 'सेप अफ मोमो' लाई त्रिवेणी राईले निर्देशन गरेकी छन् र यो फिल्म बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दुई पुरस्कार जितेको छ।
- समापन फिल्म 'शक्ति' लाई नानी साह्रा वाकरले निर्देशन गरेकी छन् र यो फिल्म दलित महिला तथा बालिकामाथि हुने यौन हिंसाको विषय उठाएको छ।
मेरिल्यान्ड (अमेरिका) । नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ अन्तर्गत उद्घाटन र समापन चरणमा प्रदर्शन हुने फिल्मको घोषणा गरिएको छ । नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गर्ने महोत्सव आगामी जुन २५ देखि २८ सम्म अमेरिकाको मेरिल्यान्डमा हुने तय भएको छ ।
महोत्सवको उद्घाटन फिल्मको रूपमा त्रिवेणी राई निर्देशित ‘सेप अफ मोमो’ प्रदर्शन गरिने भएको छ । यो फिल्ममा गौमाया गुरुङ र पशुपति राईसहित अन्य कलाकारको अभिनय छ ।
यो फिल्म सन् २०२५ मा आयोजित बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको थियो, जहाँ यसले दुई पुरस्कार समेत जितेको थियो । यो फिल्म आगामी मे २९ देखि नेपाल र भारतमा प्रदर्शन हुँदैछ । चर्चित भारतीय अभिनेता राणा दग्गुबाती नेतृत्वको स्वतन्त्र फिल्म स्टुडियो स्पिरिट मिडियामार्फत फिल्म रिलिज हुन लागेको हो ।
क्यान्स विजेता निर्देशक पायल कपाडिया सँगै निर्देशकहरू जोया अख्तर र रीमा कागती कार्यकारी निर्माताका रूपमा चलचित्रसँग जोडिएका छन् ।
‘सेप अफ मोमो’ ले सिक्किमको परम्परागत समाजमा हुर्किएको मुख्य पात्र विष्णु र उनको बहुपुस्तीय महिला परिवारको कथा प्रस्तुत गर्छ । यसले पितृसत्ता, पहिचान र स्वतन्त्रताजस्ता विषयलाई समेटेको छ ।
निर्देशक त्रिवेणी राईले मेरील्यान्ड र वासिङ्टन डीसी क्षेत्रमा रहेका दर्शकमाझ चलचित्र प्रदर्शन गर्न पाउँदा उत्साहित रहेको बताएकी छन् । महोत्सवको समापन भने ‘शक्ति’ को प्रदर्शनसँगै हुनेछ । यो फिल्म काठमाडौंमा जन्मिएकी तथा अहिले लस एन्जलसमा बसोबास गर्दै आएकी निर्देशक नानी साह्रा वाकरले निर्देशन गरेकी हुन् ।
उनी एकेडेमी अवार्ड विजेता कार्यकारी निर्माता, लेखक तथा निर्देशकका रूपमा परिचित छन् । यो फिल्ममा लक्ष्मी बर्देवा, मेनुका प्रधान, माओत्से गुरुङ लगायत कलाकारको अभिनय छ ।
‘शक्ति’ ले विश्वका विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कार र प्रशंसा प्राप्त गरिसकेको छ । नेपालमा दलित महिला तथा बालिकामाथि हुने यौन हिंसाबाट जोगाउने पर्याप्त कानुनी संरक्षण नहुँदाको यथार्थबाट प्रेरित यो फिल्मले न्याय, लैङ्गिक असमानता र सामाजिक विभेदका विषय उठाएको छ ।
यो फिल्म आगामी मे २२ देखि अमेरिका र बेलायतमा प्राइम भिडियो मार्फत डिजिटल प्रदर्शनमा आउने तयारीमा छ ।
निर्देशक वाकरले ‘शक्ति’ लाई नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन चलचित्रका रूपमा छनोट गरिएकोमा सम्मानित र उत्साहित महसुस भएको प्रतिक्रिया दिएकी छन् । उनले वासिङ्टन डीसी क्षेत्रसहित अन्य स्थानका दर्शकसँग महोत्सवको अनुभव साट्न आतुर रहेको बताएकी छन् ।
यस संस्करणको महोत्सवलाई भव्य तुल्याइने नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले बताए ।
प्रतिक्रिया 4